एमाले कार्यदलले एकता टुंग्याउँला? गंगा थारुले दिइन् यस्तो सुझाव

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले सहमति पहिल्याउन सकेको छैनन्। बिहीबार नै सहमति हुने बताएका कार्यदलका सदस्यहरुको फरक-फरक मत बाहिर आएपछि अझै सहमतिको नजिक पुगेकोमा आशंका गरिएको छ।

केही दिनयता दैनिकजसो कार्यदलका सदस्यहरुबीच निरन्तरत बैठक भइरहेको छ भने अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टू वान वार्ता पनि भएको छ। तर, सहमति भने भइसकेको छैन । यही विषयलाई लिएर एमाले नेतृ गंगा चौधरीले गहन अभिभारा पूरा गर्न खरो उत्रन आह्वान गरेकी छन्।

कार्यदललाई गंगाले दिएको सुझाव

⁃ कार्यदलका सदस्यहरु सबै जना क्षमतावान् र हरेक हिसाबले खारिएको योग्यतम् नेताहरु हुनु हुन्छ यसमा कुनै शंका छैन । तपाईंहरुले पार्टी एकताको आधारहरु खोज्न धेरै मेहनत पनि गरी राख्नु भएको छ । तपाईंहरुमा अहिले पार्टी एकतालाई मजबूत गराउन ठूलो अभिभारा आई परेको छ । तपाईंहरु अहिले आ–आफ्नो क्षमता देखाउन परीक्षाको घडीमा हुनु हुन्छ ।

⁃ शीर्ष नेता ज्यू हरुलाई भेटघाट र छलफलको वातावरण पनि बनाउनु भयो । आइस ब्रेक गराउनु भयो । धेरै राम्रो ।

⁃ कार्यदलमा लगभग सहमति भई सकेको र अब पार्टीका शीर्ष नेता कमरेडहरुबाट संयुक्त वक्तव्य निकाल्ने चरणमा पुगी सकेको भन्ने खबर सुन्दा हामी कार्यकर्ताहरु खुशीले गदगद् भएको अवस्था हो ।

⁃ तर फेरी शीर्ष नेताहरुको बीच पावर सेयरिङमा कुरा नमिलेको कारण तपाईंहरु निराश हुनु भएको र छलफलको १० दिन बित्दा पनि खासै प्रगति नभएको भनेर हिजो कार्यदलका केही सदस्यहरुको मुखबाट सुन्दा त “हाती आयो हाती आयो फुस्सा” हुन्छ कि जस्तो लाग्न थाल्यो ।

⁃ तपाईंहरु प्रति मेरो एउटा गम्भीर जिज्ञासा के छ भने के तपाईंहरुको काम आ–आफ्नो शीर्ष नेताको मुख सुंगेर उहा‘हरुले जे जे भन्नु हुन्छ जे जे चाहनु हुन्छ त्यसैको सेरोफेरोमा सहमति पत्रको भाषा मिलाई दिने मात्र हो ?

⁃ शीर्ष नेताको बीचमा सहमति नभई कुरा नमिल्ने हो भने तपाईंहरुको भूमिका चाहीं के नी ?

⁃ तपाईंहरुको दायित्व स्वतंत्र र विवेकपूर्ण ढंगले काम गरेर एउटा सर्वसम्मत निष्कर्षमा पुगेर पार्टीमा प्रतिवेदन दिने अनि त्यो प्रतिवेदन लागू गराउन शीर्ष नेताहरुलाई दबाब सिर्जना गर्ने होइन र ?

⁃ तपाईंहरु १० जना नै एकमत भएर हाम्रो निष्कर्ष यही हो । यो नै पार्टीको हितमा हुन्छ भनेर अडिग भएर प्रस्तुत हुनु भएको खण्डमा पक्कै पनि नेताहरु मिल्न बाध्य हुनु हुनेछ ।

⁃ इतिहासको गहन अभिभारामा खरो उत्रनुहोस् कमरेडहरु । शुभकामना ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *