जसपा फुटेसँगै यसरी छुट्टिनेछन् थारु नेताहरु

जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ। गत असार २२ गते निर्वाचन आयोगले डाकेको छलफलमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष सँगै बस्न नसक्ने बताएपछि जसपा फुट्ने करिब निश्चित भएको छ। त्यसदिनको बैठकमा दुवै पक्षका नेताहरुले निर्वाचन आयोगलाई कानुनी प्रक्रिया अगाडि बढाउन बताएका थिए।

त्यहीअनुरुप आयोगले विवाद निरुपण गर्न इजलास गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो। आयोगले सुनुवाइका लागि आगामी साउन ३ गते दुबै पक्षलाई बोलाउने निर्णयसमेत गरेको छ।

पार्टी फुटेपछि थारु नेताहरुको समीकरण

पूर्व राजपा र समाजवादी पार्टीबीच एकीकरण भएपछि दुवै पार्टीका थारु नेताहरु पनि एकै पार्टीमा मिसिन पुगे। पार्टी एकीकरणपछि गत कात्तिक ३-४ गते बसेको बैठकले केन्द्रीय कार्यसमितिसहित केन्द्रीय कार्यकारिणी समिति बनाएको थियो।

केन्द्रीय कार्यकारिणी समितिमा १०औं वरियतामा गोविन्द चौधरी, १५औं वरियतामा राजकुमार लेखी र १७औं वरियतामा रेशम चौधरी रहेका छन्। तीनै जना पूर्व राजपाका हुन्। पार्टी फुटेमा अहिले पनि राज कुमार लेखी र रेशम चौधरी पूर्व राजपा खेमातिरै लाग्नेछन्। तर गोविन्द चौधरी भने अहिले तटस्थ बसेका छन्। उनले हालसम्म पार्टी विभाजनबारे औपचारिक धारणा दिएका छैनन्।

त्यस्तै जसपाको केन्द्रीय कार्यसमितिमा ३५ जना थारुहरु रहेका छन्। कार्यसमितिमा रहेका थारु नेताहरुमध्ये बढीजसो पूर्व राजपा खेमाका छन्। केही नेता समाजवादी पार्टीमा पनि बाबुराम खेमाका रहेका छन्।

त्यस्तै जसपाबाट प्रतिनिधिसभा संसदमा चन्द्रकान्त चौधरी र सुदूरपश्चिम प्रदेशमा कृष्ण चौधरी र मालामती राना थारु सांसद रहेका छन्। तीनै जना पूर्व राजपा खेमाका हुन्। चन्द्रकान्त चौधरी त हालसालै ‌ओली क्याबिनेटका राज्यमन्त्रीसमेत बनेका थिए।

यी हुन् जसपाका थारु केन्द्रीय सदस्यहरु

उदयसिंह थारु बर्दिया, कृष्णकुमार चौधरी कैलाली, कल्पना चौधरी सप्तरी, केदारनाथ चौधरी सर्लाही, कृष्णबहादुर चौधरी कैलाली, गोविन्द चौधरी नवलपरासी, चिरन्‍जिबी राम थारु बर्दिया, चन्द्रकान्त चौधरी सप्तरी, चन्द्रिका देवी चौधरी नवलपरासी, तुल्सी चौधरी सप्तरी, दुर्गाप्रसाद चौधरी नवलपरासी, पुरन प्रसाद चौधरी नवलपरासी, पशुपती चौधरी कैलाली, फकला थारु बर्दिया, फोनिराम चौधरी कैलाली, मोहनलाल चौधरी पर्सा, महेन्द्र प्रसाद चौधरी सप्तरी, मनमोहन चौधरी रुपन्देही, महादेव भगत मोरङ, मालामती राना थारु कैलाली, मीना चौधरी कैलाली, मुरलीधर चौधरी रौतहट, रामश्रय चौधरी रौतहट, रामकुमार थारु बर्दिया, रामकृष्ण राना कञ्चनपुर, विष्णु नारायण चौधरी रौतहट, विनोदकुमार चौधरी रौतहट, शैलेश चौधरी सप्तरी, शंकर चौधरी सप्तरी, सन्तलाल चौधरी रौतहट, सुनिता चौधरी कैलाली र होरीलाल चौधरी कैलाली छन्।




3 thoughts on “जसपा फुटेसँगै यसरी छुट्टिनेछन् थारु नेताहरु

  1. दयसिंह थारू बर्दिया हाेईन, उदयसिंह थारू बर्दिया हाे । सच्याउनुहाेला ।

  2. महादेव भगत र शैलेश चाैधरी थारू हाेइनन् ।

  3. अब सबै थारु नेताहरु एक हुनुपर्छ ।

Leave a Reply to Adv Ramlal Sutihar Cancel reply

Your email address will not be published. Required fields are marked *