कयौं बसन्त मालिकको घरमा बिताएकी उर्मिला भन्छिन्- सबैभन्दा प्रिय कुरा स्वतन्त्रता हो

थारु समुदायमा रहेको कूरिती प्रथा- कमलरी प्रथा उन्मुलन भएको आज ८ वर्ष पुगेको छ। सरकारले १३ असार २०७० मा कमलरी मुक्ति घोषणा गरेको थियो। सोही दिवसको अवसरमा पूर्व कमलरी एवं फ्रिडम फोरम फियर अवार्ड विजेता उर्मिला चौधरीले आप्नो विगत सम्झिएकी छन्।

जीवनको कयौं बसन्त मालिकको घरमै काम गरेका उनी सम्झिन्छिन्, ‘जीवनको कयौं बसन्तहरू मालिकको घरमै काम गरेरै बिते, पढ्ने लेख्ने उमेर, साथीसङ्गीसँग खेल्ने उमेरमा दासताको जीवन भोगिरहँदा अक्षर चिन्ने सपना र अन्य कैयौं सपनाहरू मालिककै घरमा रहँदा तुहिएझैँ लाग्थ्यो।’

उनले कमलरी मुक्तिको ऐतिहासिक दिन त्यतिकै नआएको बताइन्। ‘थुप्रै त्याग, संघर्ष र सबै पूर्व कमलरी दिदीबहिनी र थुप्रै संघसंस्थाको निरन्तर संघर्ष पछि नै आजको दिन कमलरी मुक्ति दिवसका रूपमा मनाउन सफल छौं। कमलरीका बारेमा थुप्रै कथा, कविता, फिल्म, वृत्तचित्र र नाटकहरू बने तर त्यो हाम्रो दासताको जीवन कुनै पनि अवस्थामा सुखद थिएन,’ उनी विगत सम्झिइन्।

संसारमा कसले के गरिरहेको छ, उनलाई मतलब छैन। तर जब दुनियाँले दासतालाई विस्तार गर्ने काम गर्छ, त्यो बेला आफू घृणित कामको सधैं विरोध गर्ने उनले बताइन्।

उर्मिलाले सरकारसँग भएको दस बुँदे माग कार्यन्वय गर्न मागसमेत गरिन्। ‘सरकारले कमलरी मुक्ति घोषणा गर्नुअघि १० बुँदे सम्झौता कति कार्यान्वयन भए, कति कार्यान्वयनको दौरानमै र कति कार्यान्वयनका लागि फेरि सरकारलाई पुनः झक्झक्याउन जरुरी छ,’ उनले भनिन्।

कमलरी बस्दा पढ्न नपाएका उर्मिला मालिकको घरबाट मुक्त भएपछि पढाइ सुरु गरेकी थिइन्। किशोरी उमेरदेखि पढ्न थालेकी उनी अहिले एलएलबी अध्ययनरत छिन्। वकिल बन्ने सपना उनी पूरा गर्न चाहन्छिन्।

आन्दोलनको भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *