निजी सवारीमा जोर-बिजोर लागू, पसलहरू पनि बारअनुसार खुल्ने (सूचीसहित)

सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन सञ्चालनको अनुमति दिएको छ। आज उपत्यकास्थित तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो।

निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिइने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। त्यस्तै, मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्नेछन्। ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ। सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन्। हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन्। शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन्। सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *