पत्रकार सम्मेलन गरेर लक्ष्मणले भने- लाल आयोगको प्रतिवेदन टेबलमा राखेर वार्ता गरौं

लखन चौधरी/कैलाली।

थरुहट नेता लक्ष्मण थारुले सरकार र थरुहट पक्षबीच जारी वार्ताप्रति आशंका व्यक्त गरेका छन्। थारुहरुसँगको वार्ता नौटंकी मात्रै रहेको बताउँदै उनले हालसम्म एउटा पनि बुँदामा सहमति हुन नसकेको भन्दै टिप्पणी गरेका छन्। उनले शुक्रबार कैलालीको अज्ञात स्थानमा पत्रकार सम्मेलन गर्दै भने, ‘साँच्चिकै सरकारले शान्ति प्रक्रियाबाट वार्ता गर्न अब गृहमन्त्रीको नेतृत्वमा होइन, प्रधानमन्त्रीको नेतृत्वमा वार्ता हुनुपर्छ।’

उच्च अदालत दिपायलको फैसलापछि हाल: अर्धभूमिगत रहेका नेता थारुले टीकापुर घटनाबारे अनुसन्धान गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेरमात्रै वार्ता गरिनुपर्नेमा जोड दिएका छन्। ‘थारु र पहाडीबीच लडाउने किसिमले वार्ता गरिनुहुन्न। हामी पनि विकास र समृद्धि चाहन्छौं। लाल आयोग र देवीराम शर्मा नेतृत्व समितिको प्रतिवेदन सार्वजनिक गरेर मात्रै वार्ता गरौं। प्रधानमन्त्रीले टेबुलमा राख्नुपर्यो, सिरानीमुनि होइन। गहृमन्त्रीले टेबुलमा राख्नुपर्छ, त्यसपछि वार्ता गरौं,’ उनले थपे, ‘ठीक छ, जिल्ला अदालतको फैसला एक किसिमको थियो। उच्च अदालतको फैसला बालुवाटारको सेटिङमा भयो। दुई वटा फैसला चित्त नबुझेर सर्वोच्च अदालतमा अपिल दर्ता गरिसक्यौ।’

यो पनि पढ्‍नुस्:

ओली समूहका थारु नेताहरुलाई इञ्चार्जसम्मको जिम्मेवारी, माधव पक्षीय नेताहरु जिम्मेवारीविहीन

सडक संघर्षमार्फत् पनि आफूहरुको आन्दोलन जारी राखेको उनको भनाइ थियो। बैशाख १६ गतेदेखि अर्को चरणको आन्दोलन पनि सुरु गर्ने नेता थारुले बताए। त्यस्तै, उनले थरुहट आन्दोलनलाई गौरहत्या काण्डसँग जोड्न खोजेको भन्दै आपत्ति प्रकट गरेका छन्। उनले भने, ‘हाम्रो आन्दोलन, सभा सम्मेलनलाई गौरहत्या काण्डसँग जोडे। कुनै हालतमा जोडिनु हुँदैन। जिउँदै मान्छेलाई इट्टा भ्टटीमा पोल्ने आलमको घटनासँग जोडिनु हुँदैन। २००७ मा कांग्रेसले हतियार उठाएर गरेको क्रान्तिसँग दाँजिनु हुँदैन। २०२७ भएको झापा आन्दोलनसँग दाँजिनु हुँदैन।’

सरकारले आन्दोलनरत थरुहट पक्षसँग वार्ता टोली गठन गरेको १ महिना पुग्दैछ। चैत १६ गते गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। तर हालसम्म ३ चरणमा वार्ता भएको छ।

केही दिनमै निष्कर्षमा पुग्छौः वार्ता टोली
यसैबीच थरुहट वार्ता टोली संयोजक रुक्मणि चौधरीले सरकारसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको र केही दिनमै निष्कर्षमा पुग्ने दाबी गरेकी छन्। सरकारी वार्ता टोलीसँग पनि सम्पर्क गर्न खोजेको थियो। र सम्पर्क हुन सकेन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *