रेशम चौधरी रिहाइका लागि प्रधानमन्त्रीसँग पौने दुई घन्टा वार्ता

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ र टीकापुर घटनाका राजबन्दीहरुको रिहाइ माग गर्दै संयोजक सुरेन्द्र चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो।

पौने दुई घन्टा भएको छलफलमा अभियानका संयोजक सुरेन्द्र चौधरीले रेशमको रिहाइसम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीले लो प्रोफाइलमै बसेर टीकापुर राजबन्दी रिहाइ अभियानलाई निरन्तरता दिएकोमा टोलीलाई धन्यवाद दिएका थिए।

उनले टीकापुर घटना अदालती प्रक्रियामा गइसकेको र न्यायालयले गरेका निर्णयहरुमा सरकारले आफ्नो मर्यदा ख्याल गर्नुपर्ने भएकाले खुलेर केही बोल्न नसकेको बताए।

‘रेशमजीलगायत टीकापुर राजबन्दीहरुबारे मलाई धेरै कुरा थाहा छ। मलाई पनि धेरै कुरा बोल्न मन छ। तर अदालती प्रक्रियामा गइसकेका मुद्दामा सरकारले आफ्नो मर्यादा ख्याल गर्नुपर्छ। मिडियामा आएका भ्रम चिर्न यो अभियानले राम्रो काम गरेको छ। पक्कै पनि यसले सार्थकता पाउँछ,’ प्रधानमन्त्रीले भने।

संयोजक चौधरीका अनुसार टीकापुर घटनाबारे बाहिर भइरहेका विभिन्न आन्दोलन, प्रदर्शनहरुलाई लिएर प्रधानमन्त्रीले दुःख ब्यक्त गरेका छन्। ‘रेशम चौधरीको रिहाइलाई लिएर बाहिर भइरहेका आन्दोलन, प्रदर्शन र मिडियाबाजी राम्रो होइन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै चौधरीले भने।

छलफलका क्रममा संयोजक चौधरीले टीकापुर राजबन्दी रिहाइका लागि सम्पूर्ण दस्पतावेज प्रधानमन्त्रीलाई बुझाएका थिए। प्रधानमन्त्रीसँग भएको छलफलमा संयोजक चौधरीसँगै टोलीका सदस्यहरु डा. सुरेन्द्र झालगायत रहेका थिए।




One thought on “रेशम चौधरी रिहाइका लागि प्रधानमन्त्रीसँग पौने दुई घन्टा वार्ता

  1. नेपाली न्यायलय नश्लवादि हरुको संरक्षण गर्ने थलो भएको छ,कसैलाई काखा कसैलाई पाखा र केहि न्यायाधीश हरु पार्टीको कार्यकर्ता छन राजिनामा दिएर राजनीतिमा उत्रे हुन्छ।

Leave a Reply to krishna subba Cancel reply

Your email address will not be published. Required fields are marked *