ओली, प्रचण्ड र देउवा उस्तै हुन्

सुरेन्द्र चौधरी

ओलीको सरकार बनोस कि देउवाको वा प्रचण्डको, त्यो हाम्रो सरोकारको कुरा होइन। विगतमा तीनै जना ती नेताहरुको सरकार सबैले देखेकै हो। हामीले तीनै जनामा केही पनि भिन्नता देख्दैनौं।

ओली प्रतिगमनकारी होइनन् भन्ने हाम्रो मान्यता पनि होइन। मात्र के हो भने यदि ओली प्रतिगमनकारी हुन भने देउवा र प्रचण्ड पनि प्रतिगमनकारी होइनन् भन्ने कुरालाई पत्याउने र मान्य आधार के हो भन्ने हाम्रो सरोकारको कुरा हो। ओलीसँग एउटै पार्टीमा मिल्न जाँदा वा सँगै बस्दाचाहिँ प्रतिगमनकारी नहुने, ओलीले लखेट्नेवित्तिकै प्रतिगनमकारी भइजाने कुरा तपाईंहरुको आफ्नो समस्या हो। हाम्रो लागि त सबै बराबर प्रतिगमनकारी हुन्।

ओली संघीयताविरोधी हुन् ,गणतन्त्रविरोधी हुन भन्ने कुरामा पनि असहमति छैन, तर देउवाचाहिँ कसरी संघीयता र गणतन्त्र पक्षधर हुन भन्ने कुरा भन्न सक्नुपर्‍यो। दुई जनामा के फरक छ भनेर भन्दिन सक्नुपर्‍यो। त्यतिमात्रै होइन, ओलीसँग मिल्न जाने र पार्टी एकीकरण गर्न जाने प्रचण्डचाहिँ के हुन्?

देउवाको सरकार बन्यो भने टीकापुर राजबन्दीहरुको मुद्दा फिर्ता हुन्छ भन्ने के आधार छ? उनको सरकारको पालामा मुद्दा किन फिर्ता भएन? अब फिर्ता गर्छन् भन्ने विश्वास गर्ने आधार के? प्रचण्डलाई सरकार र पार्टी बुझाउन तयार भएको खन्डमा ओली अग्रगमनकारी भइजानु पर्ने कारणचाहिँ के?

निसर्त रिहा गर्नुपर्छ भन्ने त हाम्रो माग नै हो, तर तिनै देउवा हुन् जसले थारु नेतालाई मेरो पार्टीमा प्रवेश गरेपछि मुद्दा फिर्ता लिन्छु भन्ने। तिनै देउवासँग मिल्नुपर्छ भन्ने नेताहरुले हाम्रा मान्छेलाई रिहा गर्नुस् हामी सरकार बनाउन सहयोग गर्छौँ भन्नु निसर्त रिहाइको माग हो कि सर्तसहितको ?

प्रचण्ड, देउवा, ओली जोसँग पनि गर्ने कुरा भनेको हाम्रा नेताहरुलाई रिहाइ गर्नुस् हामी सरकार बनाउनमा सहयोग गर्छौँ भन्ने नै हो। सबै ठाउँँमा त सर्त कै कुरा आउँछ। बाबुरामजीले भन्दा निसर्त सुनिने, महन्थजीले भन्दा ससर्त सुनिने वा उपेन्द्र यादवजीले भन्दा निसर्त सुनिने पनि हुन्छ र?




Leave a Reply

Your email address will not be published. Required fields are marked *