टीकापुर राजबन्दी रिहाइ अभियानका संयोजक र जसपा अध्यक्षबीच भेटवार्ता, प्रधानमन्त्रीसँग पनि भेट्दै

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले उनीहरुबीच छलफल भएको पुष्टि गरेका छन्।

टीकापुर राजबन्दी रिहाइ सम्बन्धमा अध्यक्ष ठाकुर र संयोजक चौधरीबीच पनि गहन छलफल भएको छ। यस विषयलाई प्रधानमन्त्रीले पनि सकारात्मरुपमा लिएको र कानुनी जटिलताका कारण रिहाइ गर्न समस्या भएको ठाकुर भनाइ उद्धृत गर्दै चौधरीले बताए।

‘रेशम चौधरीलगायत टीकापुर घटनामा पार्टी संवेदनशिल छ। यस विषयमा सरकासँग निरन्तर छलफल पनि भइरहेको छ। प्रधानमन्त्रीजी यस विषयमा जानकार पनि हुनुहुन्छ। कानुनी प्रक्रियामा गएकाले रिहाइमा केही जटिलता भएको उहाँले भन्नुभएको छ,’ ठाकुरको भनाइ उद्धृत गर्दै चौधरीले भने।

यस विषयमा छलफल गर्न प्रधानमन्त्रीसँग छिट्टै भेटघाट हुने संयोजक चौधरीले बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै कुराकानी गर्नु भन्नुभएको छ। सम्भवतः केही दिनभित्रै हामी उहाँसँग छलफल गर्छौं,’ चौधरीले भने।

टीकापुर घटना राजनीतिक घटना भएको र यसलाई राजनीतिक तवरबाटै समाधान गर्न केही महिनाअघि देखि अभियन्ता सुरेन्द्र चौधरी र डा सुरेन्द्र झाले अभियान थालेका थिए। यसबीचमा उनीहरुले दलका नेता, जनप्रतिनिधि र नागरिक अगुवाहरुसँग छलफल गर्दै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *