पार्टी फुटाएर कांग्रेसलाई प्रधानमन्त्री बनाउने नाङ्गो नाच देखाउन बन्द गर : शान्ता चौधरी

नेकपाकी सचेतक शान्ता चौधरीले नेकपाबाटै प्रधानमन्त्री बन्नुपर्ने धारणा राखेकी छन्। उनले नेपाली कांग्रेसलाई प्रधानमन्त्री बनाउन तछाड मछाड गर्नुभन्दा पार्टी नफुटाइ कम्युनिस्ट पार्टीकै प्रधानमन्त्री बन्नुपर्ने धारणा राखेकी हुन्।‘आफ्नै पार्टी फुटाएर, आफ्नो पार्टीको सरकार ढालेर, संसारलाई नाङ्गो नाच देखाउँदै यो संसद अवधिमा सरकार बनाउने खेलमा सहभागी हुने कुनै आश नगरेको कांग्रेसलाई प्रधानमन्त्री बनाउन तछाड मछाड गर्नुभन्दा पार्टी नफुटाई कम्युनिष्ट पार्टीकै प्रधानमन्त्रीको अवसरलाई निरन्तरता दिने कुरामा लाग्दा आउने पुस्तालाई केही भन्ने ठाउँ बाँकी रहने थियो। पदको लालचमा यो अवस्थासम्म आइ पुगेपछि अब त सबै नेताको बुद्धि फर्के पनि हुने हो!,’ सामाजिक सञ्जालमा उनले लेखेकी छन्।

उनले त्यसअघि आफ्नै घर जलाएर विजय जुलुस निकाल्दै लड्डु खाँदै हिँड्दा मनमा कुनै आत्मग्लानी भएन है भन्दै प्रश्न गरेकी थिइन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गरिदिएको थियो। सोही उपलक्ष्यमा पुष्पकमल दाहाल र माधव कुमार नेपालले लड्डु खाएर खुसियाली मनाएका थिए।

‘आफ्नै घर जलाएर पूरै खरानी बनाइसकेर त्यही खरानी धसेर विजय जुलुस निकाल्दै लड्डु खाँदै हिँड्दा मनमा कुनै आत्मग्लानी भएन छ है? तैपनि अनुहारमा कुनै चमक देखिएन, किन यो सब गरेको भन्ने कुनै ठोस उत्तर छैन। आफूले चाहेका पद लिनुस्, देश र जनताका कुरा देखाउने दाँतमात्रै हुने भए। अब विस्तारै त्यो खरानीले भतभती पोल्ने दिन आउला अनि त्यसपछि झल्यास्स हुनुभन्दा के बाँकी रहने भयो र! सबैले बेलैमा विचार गरौं बुद्दि फिरोस!,’ उनले फेसबुकमा लेखेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *