सरकारमा जाने प्रस्ताव आएपछि प्रचण्ड-नेपाललाई जसपाले सोध्यो- रेशम चौधरीलाई कहिले निकाल्ने?

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति नेकपा प्रचण्ड माधव पक्षले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए। छलफलमा जसपा नेताहरुले प्रचण्ड–माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उनले बताए।

आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए। उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो। हामीले के जिज्ञासा राख्यौं भने तपाईँको कुन पार्टी हो? पार्टी सिस्टममा पार्टी चाहि । त्यो के हो? अलमलमा पर्‍यो त्यो प्रष्ट हुनुस् र तपाँईहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौं।’

जसपा नेताहरुले पटक-पटक आफूहरुले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएका थिए। जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरु अझै पनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाईका लागि संघर्ष गरिरहने बताएका छन्।
वरिष्ठ नेता महतोले भने, ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरी लगायतले अहिलेपनि बन्दी जीवन विताइरहेका छन्। यी सबालहरु छन्। यी समस्याहरु छन्। त्यसैले आगामी दिनमा हामी यी सबालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौं र आगामी दिनमा पनि उठ्ने छौं र यसको लागि संघर्ष गर्छौं। संविधानमा रहेका त्रुटिहरु, कमिकमजोरीहरु र बन्दी रिहाइका सबालहरु समेत जुनसुकै सरकार बनेपनि त्यसको अगाडि संघर्ष गर्ने हो। विगतमा पनि संघर्ष गरेको हो। आगामी दिनमा पनि संघर्ष गर्ने हो। यही कुरा भन्यौं।’

सर्वोच्च आदालतले प्रतिनिधि सभाको पुनस्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समिकरणको लागि नेकपा प्रचण्ड–माधव पक्षका नेताहरुले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *