जब प्रहरीले भन्यो- तँ थारु हुनु नै तेरो ठूलो दोष हो [रामनरेश चौधरीको वक्तव्य]

१४ भदौ २०७२ का दिन रामनरेश चौधरी बर्दीया राजापुरको नवप्रतिभा बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीलाई गणित विषय पढाइरहेका थिए। बर्दीया चनौरा–२ राजापुरस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक रामनरेश नवप्रतिभा बोर्डिङ स्कुलमा बिहानको समयमा ‘पार्ट टाईम’ कक्षा लिइरहेका थिए।

बिहानको ७ बजेको थियो। विद्यालय हाताभित्र दुईजना मान्छे छिरे। एकछिन पियनसँग खासखुस गरेपछि उनीहरु सोझै रामनरेशले पढाईरहेको कोठामा आए।

तीन बर्ष पुरानो घटना सम्झँदै रामनरेश भन्छन, ‘ती मध्ये एकले हामी प्रयाक्टिस बुक बेच्न आएका हौं, तपाईंसँग कुरा गर्नु छ बाहिर आउनोस् भन्यो। मैले हामीलाई अहिले प्रायक्टिस बुक चाहिँदैन भनें। लगभग धम्क्याएको लवजमा तिनले बाहिर आउनोस् भन्दै विद्यालय हाता बाहिर लगे र ‘तपाईंलाई पक्राउ गरिएको छ’ भनेर बाइकको बीचमा राखेर दौडाए।’

त्यहाँबाट ४ किलोमीटर उत्तरमा रहेको नंगापुर र चख्खापुरको सिमानामा युनिफर्म लगाएका ६–७ जना प्रहरी भ्यानमा कुरिरहेका थिए। उनलाई गाडीमा हालियो। ७ दिन अघिको टीकापुर घटनाका कारण कफ्र्यु लागेकोले घाट बन्द थियो। कर्णाली नदि डुंगाबाट तर्नु पर्ने त्यो घाटका माझी गौरी थारुलाई बोलाएर डुंगा तार्न लगाई रामनरेशलाई करिब ११ किलोमीटर परको टीकापुर इलाका प्रहरी कार्यालय पुर्‍याइयो।

त्यहाँ आधा घण्टा राखेर उनलाई १४ किमी उत्तरको महेन्द्र राजमार्गसँगै रहेको लम्की इलाका प्रहरी कार्यालय पुर्‍याइयो। त्यहाँबाट पश्चिममा रहेको सुख्खड इलाका प्रहरी कार्यालयतर्फ दौडाइयोे। सुख्खडबाट प्रहरी भ्यानले रातको १२ बजे जिल्ला प्रहरी कार्यालय धनगढी पुर्‍यायो।

राजापुरदेखि धनगढी सम्मको करिब सय किलोमीटर यात्रा रामनरेशको दिमागमा कहिल्यै नबिर्सने गरी बसेको छ।

‘७ भदौमा सुरक्षाकर्मीमाथि भालाले आक्रमण गर्ने तँ हैनस् भनेर गाडीभित्रै कुटे। म ७ भदौमा स्कुलमा पढाइरहेको थिएँ भनें। तर साँप्रा र ढाडमा हेलमेटै हेलमेटले हाने। सुख्खड प्रहरी चौकीमा रक्सीले मातेका प्रहरीहरु आउँदै पालैपालो बुट र लठ्ठीले चुटे। त्यो घटना अहिले सपना झैं लाग्छ,’ घटना सम्झिँदै उनी भन्छन्।

टीकापुर घटनाको दिन रामनरेश कालिका माविमा पढाइरहेका थिए। घरबाट १५ किलोमीटर टाढा पर्ने बर्दीयाका दुईटा विद्यालयमा पढाउने हुनाले उनी उतै डेरा लिएर बसेका थिए। ७ भदौको उनको हाजिरी रजिष्टर, विद्यालयका प्रधानाध्यापक र विद्यार्थीका बयानले पनि चौधरी त्यस दिन बिद्यालयमै रहेको प्रमाणित हुन्छ।

रामनरेशले अदालतमा आफु निर्दाेष रहेको बयान दिएपछि घरनजिकै रहेको सुक्लीपुर प्रहरी चौकीका इन्चार्ज कृष्णबहादुर बोहोरा विद्यालयमै गएर प्रधानाध्यापकसँग भेटी उनको हाजिरी रजिष्टर जाँच गरेका थिए।

यी सबै प्रमाणका बावजुद दश वर्षदेखि शैक्षिक कर्ममा लागेका रामनरेशलाई अनुसन्धानको नाममा ४३ दिनसम्म जिल्ला प्रहरी कार्यालय धनगढीमा राखियो। प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजन बमोजिम पुर्पक्ष्यका लागि उनले नगरेको अपराधमा ३ बर्ष ६ महिना ८ दिन जेल हालियो। २२ फागुन २०७५ मा जिल्ला अदालत धनगढीको आदेशले ‘निर्दोष रहेको’ ठहर गरेपछि रामनरेश थुनामुक्त भए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *