टीकापुर ‘थारु विद्रोह’का बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टिकापुर घटनामा दोषी ठहर भएकाहरु राजबन्दी भएको दाबी गर्दै रिहाईको मागसहित आन्दोलनको घोषणा भएको छ । टीकापुर थरुहट-थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले आन्दोलनको घोषणा गरेको हो ।

२१ वटा विभिन्न संघसंस्थाहरु अभियानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक सुरेन्द्र चौधरीले आन्दोलनको कार्यक्रम घोषणाबारे जानकारी दिएका हुन् ।

पहिलो र दोस्रो चरणको अभियान नाम दिइएको आन्दोलनको कार्यक्रममा विभिन्न पक्ष र क्षेत्रका व्यक्तिहरुसँग अन्तर्क्रिया गर्ने, प्रदर्शन गरी सिडिओहरुलाई ज्ञापनपत्र पेश गर्ने, पेनडाउन गर्न लगाउने, लाठी जुलुस प्रदर्शन गर्ने, आमसभाको आयोजना देखि थप आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्ने तय भएको अभियानले जनाएको छ ।

टिकापुर थारुहट-थारुवान बिद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले टिकापुर घटना व्यक्ति विशेषको आन्दोलन नभएको भन्दै पूर्वाग्रही तरिकाले व्यक्ति विशेषलाई पक्राऊ गरी जेल हाल्ने गतिविधि भएको आरोप लगाए । उनले सुरक्षाकर्मी उतारेर थारुहरुमाथि दमन गरेको आरोप लगाए ।

चौधरीले भने, ‘यो घटनालाई राजनीतिक छलफलबाट समाधान गरिनुपर्छ ।’ घटनालाई जाती विशेष मुद्दा नबनाएर राष्ट्रिय मुद्दा बनाउन आग्रह गरे । तराई मधेस राष्ट्रिय परिषद सगठन प्रमुख सरोज रायले आन्दोलन अधिकारको लागि भएको टिप्पणी गरे ।

उनले टिकापुर घटनामा मात्र नभई मधेस आन्दोलनमा पनि दमन गरिएको बताए । घटनाको छानविन गर्न आयोग गठन गरेपनि त्यसलाई अझै सार्वजनिक नगरिएकोमा आपत्ती जनाए । उनले भने, प्रधानमन्त्रीले आफैँले आयोग गठन गरेका थिए । त्यसको प्रतिबेदन सार्बजनिक गरेर तुरुन्त कार्यान्वयन गर्नुपर्छ ।’

जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र झाले अभियानमा ऐक्यवद्धता जनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको छानविन गर्न गठिन आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै प्रश्न गरे । उनले भने,‘१७ हजारको कत्लेआम गर्ने र झापा काण्डका नाइके प्रधानमन्त्रीलाई कुनै कारबाही नहुने तर थारु र मधेशी भएकै कारणले जेल जानुपर्ने ?’

मगरात संघर्ष समितीका अध्यक्ष राम मगरले बलिदान दिएका थारुहरु आफ्नो अधिकारको लागि लडेका बताए । नेपाल लोकतान्त्रिक पार्टी अध्यक्ष भानुराम थारुले सरकारबाट दमन भएकोले थारुहरुले प्रतिकार गरेर आत्मरक्षा गरेको बताए ।

७ भदौ २०७२ मा टीकापुरमा भएको थारु विद्रोहका क्रममा एसएसपीसहित सात प्रहरी र एक बालक मारिएका थिए । उक्त घटनाका अभियुक्त निवर्तमान सांसद रेशम चौधरी, थरुहटका नेता लक्ष्मण थारुलगायतलाई अदालतले आजीवन कारावासको सजाय सुनाइसकेको छ ।

थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले चौधरीलगायतमाथि झुठा मुद्दा लगाएर फैसला गरेको भन्दै राजनितिक संवाद, सहमति र निर्णयको आधारमा मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निर्शत रिहाई गर्न माग गरेको हो ।

अभियानले घटनामाथि सत्यतथ्य छानबिन गरी आयोगको प्रतिवेदन, गुहमन्त्रालद्वारा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन आयोगको प्रतिवेदन र सर्वदलिय संसदीय समितिको प्रतिवेदनहरु तुरुन्त सार्वजनिक गर्न समेत माग गरेका छन् ।

अभियानमा साथ दिने संघसस्थाहरुमा जनता समाजवादी पार्टी, आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपाल, थरुहट थारुवान राष्ट्रिय मोर्चा लगायतका २१ वटा संघसंस्था रहेका छन् ।




One thought on “टीकापुर ‘थारु विद्रोह’का बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

  1. It will be great for all the people who are suffered by this type of injustice by government.good luck ….
    We are very anxious to be in tharu strike.
    plz show time schedule of strike routine that’s why we can present us in there.

Leave a Reply to Binod Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *