विकृति हटाउन थारू समुदायमा दिउँसै बिहे

थारू समुदायमा रात्रिकालीन विवाह कार्यक्रम गर्दा विकृति बढेपछि अहिले दिवाकालीन विवाह गर्ने क्रम बढेको छ। पर्सा जीराभवानी गाउँपालिका–७ शङ्करसरैया निवासी देवराज राउतले राति हुने विवाहमा मदिरासेवन गरेर होहल्ला हुने गरेकाले आफ्नो छोराको बिहे दिउँसो गरेको बताए।

उनले जाँडरक्सी खाने, होहल्ला, मारपीट गर्नेजस्ता कार्यहरू आफ्नो समुदायमा भएको देखेर छोराको बिहे बिहान गरेको बताए। चिसोको कारण राति विवाह गर्दा जन्तीहरूलाई बासको व्यवस्थापनमा पनि समस्या हुने भएकोले दिउँसै विवाह सम्पन्न गरेको उनले प्रस्ट्याए।

दिउँसोको विवाहमा रातिको विवाहभन्दा खर्च पनि कम हुने र विकृति पनि नहुने भएकोले अहिले थारू समुदायमा दिउँसो विवाह गर्ने प्रचलन बढेको थारू पत्रकार सङ्घ पर्साका अध्यक्ष शम्भु महतोले बताए।

दिउँसोको विवाहमा केटी पक्षले जन्तीलाई दोहोरो–तेहोरो खुवाउनुपर्ने झन्झट पनि नभएको र एक समय खुवाएर खर्च बचत गर्न सकिने हुनाले बेहुला–बेहुली पक्षको सहमतिमा दिउँसोको विवाह थारू समुदायमा बढेको उनले प्रस्ट्याए।

राति विवाह गर्दा मोटर, गाडीको व्यवस्थापन गर्नुपर्ने, बाजा, बत्ती आदिको व्यवस्थापन गर्नुपर्ने, जन्तीहरूलाई बिहान–बेलुका खाजा–खाना खुवाउनुपर्ने जस्ता कारणले महँगो पनि हुने र विकृति पनि मौलाउँदै गएको उनले बताए।

थारू समुदायमा राति जन्ती लिएर गएपछि भेलिपल्टकाे साँझतिर जन्ती फर्काउने प्रचलन रहेको छ, जसले गर्दा दुई दिनसम्म कम्तीमा ४ छाक खाना, खाजाको व्यवस्थापन गर्दा केटी पक्षलाई बढी आर्थिक भार पर्ने गरेको छ।

अहिले दिउँसै विवाह सम्पन्न गर्दा ती सबै अनावश्यक खर्चहरू कटौति भएका छन्। साथै विकृति पनि कम भएको छ। दिउँसो मदिरासेवन गर्नेको सङ्ख्या थोरै मात्र हुने गर्छ। जसले गर्दा होहल्ला र कुटपिटका घटनाको सम्भावना कम भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *