थाकस युएईको अधिवेशन डिसेम्बर २५ मा, यसवर्ष माघी साँस्कृतिक कार्यक्रम नहुने

थारु कल्याणकारिणी सभा (थाकस) युएईले माघी अगावै आफ्नो वार्षिक साधारणसभा गर्ने भएको छ। युएई सरकारले कोरोना महामारीका कारण सार्वजनिकरुपमा कार्यक्रम गर्न बन्देज लगाएपछि माघी अगावै अधिवेशन गर्न लागेको थाकस युएईले जानकारी दिएको छ।

थाकस युएईका अध्यक्ष रुपेश चौधरीका अनुसार संस्थाको पाँचौं अधिवेशन आउँदो डिसेम्बर २५ मा तय भएको छ। ‘अहिलेलाई यही मिति तय गरेका छौं। कोरोनाका कारण तिथिमिति परिवर्तन पनि हुनसक्छ,’ अध्यक्ष चौधरीले भने।
उनका अनुसार युएई सरकारले कुनै पनि कार्यक्रम आयोजना गर्न बन्देज लगाएको छ। जसका कारण हरेक माघी अर्थाथ् थारु नयाँ वर्षमा आयोजना हुने साँस्कृतिक कार्यक्रमसमेत प्रभावित हुने उनले बताए।

थाकस युएईले नेपालका थारु कलाकार र समाजसेवीहरुलाई युएईमा बोलाएर सम्मान गर्दै आएको छ। यसअघि राजकुमार लेखी, संजय चौधरी, मनोज महतो, वर्षा लेखी, रामलाल चौधरी, श्रीनिवास चौधरी, मदन चौधरी, अन्नु चौधरी, देवकृष्ण विश्वासलगायत थारु कला केन्द्रका सदस्यहरुलाई प्रवासमा सम्मान गरिसकेको छ।

यो अधिवेशनले अबको दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। थाकस युएईमा यसअघि नेत्र थनेत, किशोर चौधरीले नेतृत्व गरेका थिए। हाल रुपेश चौधरी संस्थाका अध्यक्ष रहेका छन्।
थाकस युएईले नेपालका विभिन्न क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ। उसले युएईमै पनि समस्यामा परेका थारुहरुलाई आर्थिक-भौतिक सहयोग गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *