थारु गुरुवाले देखाए तान्त्रिक शक्ति

कोरोना महामारीलाई छिचोल्दै कैलालीका आदिवासी थारु गुरुवाले सामूहिक तान्त्रिक शक्ति प्रदर्शन गरेका छन् । आजको आधुनिक समाजमा आफ्नो अस्तित्व कायम रहेको झल्को दिने गरी उनीहरु तान्त्रिक शक्ति प्रदर्शन गरका हुन् ।

आधुनिक समाजमा तन्त्रमन्त्रलाई अन्धविश्वास र असभ्यतासँग दाँजेर हेरिन्छ, जसप्रतिको जनविश्वास पनि घट्दो छ, तर कैलालीको गौरीगंगा नगरपालिका–१० उदासीपुरमा हालै आयोजित लवांगी पूजामा गुरुवाहरूले तान्त्रिक शक्ति प्रदर्शन गरेका छन् ।

मंसिर १६ र १७ गतेसम्म आयोजना भएको कार्यक्रमको उद्घाटन वडा अध्यक्ष पदमबहादुर ऐरले उद्घाटन गरेका थिए । यसैबीच उनीहरुले ढाक (वाद्य सामग्री)को लय तथा तालमा कुल देवताको पूजापाठ गर्नुका साथै विभिन्न तान्त्रिक शक्ति देखाएको बताइएको छ ।

थारु गुरुवा बैदवा समाज सेवा समिति र गौरीगंगा नगरपालिका बरघर भल्मन्सा समाजका सञ्चार संयोजक दिनेश दहितले २ सयको संख्यामा रहेका गुरुवाहरुको सभागिता रहेको जानकारी दिए ।

यसैबीच सेवा समितिका संयोजक गोपालदास डंगौराले मन्त्रको प्रभावले आफ्नै जिब्रोमा त्रिशूल रोपेर शक्ति देखाएका थिए ।

के हो लवांगी पूजा ?
धानलाई पहिलो अन्नको रूपमा लिने थारू समुदायमा धान उत्पादन भएपछि सबैभन्दा पहिले आफ्नो कुलदेवतालाई चढाउने र उपभोग गर्ने प्रचलन रहँदै आएको छ ।

विधिपूर्वक कुल देवतालाई अन्न चढाई आफ्नो श्रीसम्पतिको रक्षाका लागि पूजाअर्चना गर्ने कार्यलाई लवांगी पूजा भन्ने गरिएको बताउँछन् थारू गुरुवा बैदवा समाज सेवा समितिका कैलाली अध्यक्ष रामप्रसाद पछलडगिया । उनका अनुसार कैलालीमा करीब ५ सय थारू गुरुवा तथा वैदवा रहेका छन् ।

यसैबीच नेपाल टेलिकमले जिल्लास्थित गुरुवा तथा बरघरहरुलाई निशुल्क मोबाइल सिम वितरण गरेको छ ।

१२ जना बरघर र ४८ जना गुरुवा गरी ६० जनालाई टेलिकमका प्रतिनिधि दिपक भट्टले सिम वितरण गरेका हुन् । गुरुवाहरुको प्रथाजन्य संस्कारको प्रवद्र्धन तथा सञ्चारमा सहयोग पुगोस् भन्ने उदेश्यले वितरण गरिएको बताइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *