पूर्वमन्त्री डा. गोपाल दहितसहित आठ जना स्रष्टा सम्मानित हुँदै

जंग्रार साहित्यिक बखेरीको १०औं वर्षगाँठको अवसरमा थारु भाषा, साहित्य र संस्कृतिमा उल्लेखनीय योगदान दिएको भन्दै पूवमन्त्री डा. गोपाल दहितलाई सम्मान गरिने भएको छ। सम्मान कार्यक्रम बखेरीको १०औं वर्षगाँठ पुस ३ र ४ गते बर्दियको ठाकुरद्धारास्थित थारु होम रिसोर्टमा गरिने आयोजक संस्थाले जानकारी गराएको छ।

स्रष्टा सम्मानको अवसरमा जिल्लागत हिसाबले बर्दियाबाट साहित्यकार सन्तराम धारकटुवा थारु, लेखिका तथा गायिका सुमित्रा चौधरी, लेखक तथा पत्रकार एकराज चौधरी, कैलालीबाट लेखक दिल बहादुर चौधरी र साहित्यकार शर्मिला चौधरी ‘सृष्टी’, दाङबाट लेखक श्रीराम चौधरी र सुर्खेतबाट साहित्यकार मान बहादुर पन्नालाई समेत सम्मान गरिने जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले जनाएका छन्।

जंग्रार साहित्यिक बखेरीको स्थापना कालदेखि संस्थाको उद्देश्यअनुसार दर्जनभन्दा बढी थारु भाषाको पुस्तक प्रकाशन र थारु भाषा साहित्यको संरक्षण र प्रवर्द्धनको लागि उल्लेखनीय अभियान चलाएको, थारुभाषी साहित्यकारहरुलाई जन्माएको कुरा संस्थाका संस्थापक संरक्षक सुशील चौधरीले जानकारी गराए। उनले भने, ‘जंग्रार साहित्यिक बखेरीको स्थापनापछि थारु साहित्यमा गुणात्मक विकास हुनुको साथै धेरै साहित्यिक संस्था पनि जुर्मुराएको र पुस्तक पनि संख्यात्मक र गुणात्मक वृद्धि भएको छ।’

पुस ४ गते मनाउन लागिएको १०औं व‍र्षगाँठको अवसरमा कथा लेखन प्रतियोगिता र समीक्षासमेत गरिने अध्यक्ष सोम डेमनडौराले जनाए। उनले भने, ‘लगातार थारु भाषा र साहित्यको लागि काम गर्दै आएको जंग्रार साहित्यिक बखेरीले यो पटक पनि रणनीतिक योजना बनाउने र पुरुस्कार समेत स्थापना गर्ने भएका छौं। यसको लागि सम्बन्धित सबै साहित्यप्रेमी थारु भाषा, साहित्यको लागि योगदान दिनको लागि पुरुस्कार स्थापनाको लागि योगदान गर्न अनुरोध समेत गरिएको बताइएको छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *