कठरिया थारुको नयाँ वर्ष, जुन दिन नेतृत्व चयन गर्न भजहर भाग्ने चलन छ

हिन्दी भाषाको त्योैहार शब्दबाट अपभ्रंश हुँदै नेपाली भाषामा तिहार हुन पुगेको भन्ने भनाइ छ। नेपालमा तिहार मनाउने आ-आफ्नै तरिका छ। कसैले यसलाई विशेष महत्व दिएर, कसैले मध्यम र कसैले कम महत्व दिएर मनाउँछन्। फेरि पनि धेरै नेपालीहरु यसलाई मान्ने गर्छन्।

थारु समुदाय पनि कार्तिक कृष्ण पक्षको औंसीमा डिया डेवारी (दिपावली) मनाउँछन्। दहित थारुहरु एवं पूर्बिया कठरिया थारुहरु दिपावलीको अवसरमा आफ्ना कुल देवतालाई ढिकरी चढाइ पूजा गर्छन्। विशेषगरी नयाँ धानको पीठोबाट ढिकरी बनाइ पूजा गर्ने र लुटाउने चलन छ। हिन्दू धर्मावलम्बीहरुले यमपञ्चकको चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन गोरु पूजा गर्ने गर्छन्। तर थारु समुदायको मुख्य पेसा कृषि भएको र कृषि कार्यबिशेषगरी गोरु राँगाबाट सम्पन्न हुने हुँदा उनीहरुका लागि पहिले पहिले गोरु राँगा हरेक औंसीमा पूज्य थिए। औंसीमा गोरु-राँगालाई नजोत्ने र राम्रोसँग पालनपोषण गर्ने चलन थियो। सोही चलनअनुरुप औंसीमा दिपावली गर्नुका साथसाथै गोरु राँगाको पनि बिशेष हेरचाह गर्ने गर्दथे। तर अहिले त्यो चलन हराई दिपावलीमामात्रै सीमित छ।

तर, देशकै एक दुई जिल्लामा मात्रै बसोबास भएको पश्चिमा कठरियाहरुको चालचलन अन्य थारुहरुभन्दा विशेषखालको छ। जसलाई मल्होरिया कठरिया पनि भन्ने गरिएको छ। मल्होरिया कठरियाहरु पनि दहित र पूर्बिया कठरियाजस्तै औंसीको दिनमा दिपावलीका साथसाथै आफ्ना कुलदेवतालाई ढिकरी चढाइ पूजा गर्छन्। यहाँसम्मउनीहरुको चलन दहित र पूर्बिया कठरिया थारुहरुसँग मेल खान्छ । तर कार्तिक शुक्लपक्षको पहिलो दिनदेखि उनीहरुको चलन फरक पर्दछ। शुक्ल प्रतिपदाको दिनप्रायःगोबर्धन पूजा हुन्छ। यही दिनदेखि नेपाल सम्बतअनुसार नयाँ वर्ष सुरु हुन्छ। कठरिया थारुहरुको नयाँ वर्ष पनि यही दिनबाट सुरु हुन्छ। भाइटीका प्रायः कार्तिक शुक्लपक्षको दोस्रो दिन अर्थात् कार्तिक शुक्लपक्षको द्वित्तीया तिथिमा पर्ने गर्छ। त्यसैले भाइटीकालाई हिन्दीमा भैयादूज पनि भन्ने गर्छन्। बि.स‌ंअनुसार २०७७ सालमा भाइटीका पहिलो दिन नै परेको छ। पहिलो दिन नेपाल सम्बतअनुसार नयाँ वर्ष ११४१ हो। पहिलो दिन नेपाल सम्बत सुरु हुने र प्रायः द्वित्तीयाको दिन भाइटीका पर्ने भएकाले नेवार समुदायले २ गते भाइटीका लगाउने निर्णय गर्यो र सरकारले २ गते द्वित्तीयाको दिन पनि विदा दिने निर्णय गर्यो।

तस्बिर : राम चौधरी

भाइटीका अर्थात् द्वित्तीयाको दिन देशका पूर्बी नेपालमा बसोबास गर्ने थारुहरुको सामाचकेवाको सुरुवात मानिन्छ भने पश्चिम नेपालमा बसोबास गर्ने कठरियाहरु ढिकरी (घुचिया लुटैना)ले कुलदेवता पुज्ने गर्छन्। तृतीयाको दिनमा मुर्गा बली दिनेले मुर्गाको र नदिनेले मिठाइले पूजा गर्छन्। अन्य थारुहरु जसरी नयाँ वर्ष माघमा भलमन्साको छनौट गर्छन्, त्यसरी नै कठरिया थारुहरु नयाँ वर्ष डेवारीमा भलमन्साको छनौट गर्छन्।

उनीहरु कार्तिक शुक्ल चतुर्थी तिथिमा गाउँलाई आवश्यक पर्ने अगुवा (भलमन्सा,महतो) चुन्ने र मान्ने गर्छन्। अगुवा चुन्ने र मान्ने यो चलनलाई मिलनीको नामले सम्बोधन गरिन्छ। पञ्चमी तिथिमा उनीहरु भजहर (गाउँभरीका मान्छे गाउँ बाहिर एक ठाउँमा भेला भई छलफल गर्ने र पकाउने, खाने काम) भाग्ने गर्छन्। तर यतिबेला उनीहरुको यो चलन संकटमा पर्दै गइरहेको छ। यतिबेलाका जान्ने सुन्नेहरु ध्यान दिन सकेनन् भने उनीहरुको आफ्नो यो राम्रो चलन लोप हुने करिब करिब निश्चितजस्तै छ। कठरिया थारु यही कार्तिक शुक्लपक्षमा नै मग्नी भइसकेकाहरुको बिहा माग्ने (विवाहको तिथि मिति तय गर्ने) चलन छ।

त्यसैले भन्न सकिन्छ, दिया र दिपको त्यौहार (तिहार) लाई धेरै नेपालीहरु कोही दिपावली, कोही दिवाली, कोही डेवारीको रुपमा चिन्छन्। कोही काग, कुकुर, गाई, गोरु, भाइको पूजा गरी मनाउँछन्। सबैको आ-आफ्नै तौरतरीका र आ-आफ्नै किसिमको महत्व छ। तर नेवार र कठरिया समुदायमा झन् यो नयाँ वर्षको रुपमा स्थापित छ। कार्तिक शुक्ल प्रतिपदादेखि नेवारहरुको मात्रै नयाँ वर्ष सुरु हुँदैन, कठरिया थारुहरुको पनि नयाँ वर्ष सुरु हुन्छ। उनीहरु यही डेवारीमा थप मुर्गा वा मिठाइ चढाइ कुल देवतालाई पुज्ने, नयाँ नेतृत्व चयन गर्ने, भजहर भाग्नेजस्ता महत्वपूर्ण कार्य गर्ने हुँदा उनीहरुको समुदायमा यो तिहारले अझ ठूलो महत्व राख्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *