सुर्खेतमा थारुहरुको थर सूचीकरण प्रारम्भ

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बसोबास गर्ने आदिवासी थारु समुदायको थर सूचीकरण प्रारम्भ भएको छ। थारु आयोगको सहकार्य र मानवशास्त्र केन्द्रीय विभाग त्रिवि कीर्तिपुरको आयोजना तथा सुर्खेत थारु कल्याणकारिणी सभाको समन्वयमा सुर्खेतको नयाँगाँउ होमस्टेमा बसोबास गर्ने थारु समुदायको विभिन्न थर, उपथर, गोत्र पहिचानका लागि गोष्ठीको आयोजना गरिएको कुरा अनुसन्धाता छविलाल कोपिलाले बताए।

थर सूचीकरण एवं कार्यक्रमका फोकल पर्सन कोपिलाले थारुहरुको थर गोत्रसम्बन्धी खोज अनुसन्धान नभएकाले थारु बस्ती रहेको २४ जिल्लामा नै थारुहरुको थर पहिचान गर्न लागिएको बताए। यसभन्दा अगाडि डा. गोपाल दहितले पश्चिह्वा थारुहरुको थर ७६ वटा र खिलनाथ लेखीले पूर्वका थारु जातिको थर उपथर २४२ वटा, सुर्खेतमा मानबहादुर पन्नाले सुर्खेती थारुहरुको थर ५० वटा सूचीकरण गरेको पाइएको बताए।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारुले यसभन्दा अगाडि व्यक्तिगतरुपमा थरसम्बन्धी पहिचान गर्ने कार्य सुर्खेतमा मान बहादुर चौधर्र्री पन्ना’ले गरेको जिकिर गर्दै थारुहरु आफ्नो थरसमेत थाहा नहुनुले विवाह, कर्मकाण्डमा समेत समस्या हुने बए। यस्तो गहन विषयमा एकदिने गोष्ठीले सफल हुन नसकिने भएकाले हरेक गाउँमा थारु युवामार्फत् वास्तविकता अगाडि ल्याउनुपर्ने बताए।

थारु बुद्धिजिवी एवं लेखक मानबहादुर चौधरी पन्नाले’ थारुहरुको थर नै पहिचान हुन नसकेकाले अन्य जातिका व्यक्तिहरुले समेत थारुको थर, गोत्र नै हुँदैन भन्ने कुरा गर्ने, आफ्नै जातमा विवाह गर्ने जात आदि कुराबाट पीडित भएर आफूले एक दशक अगाडि नै सुर्खेतका थारुहरुको थरसम्बन्धी खोज अनुसन्धान गरी ५० वटा थर पहिचान गरेको बताए।

विभिन्न थर, उपथर भएको उल्लेख गर्दै आफ्नो थर गोत्रसँग विहावारी नचल्ने कुरा स्पष्ट पारे। विस २०७० मा सुर्खेत पहिचान राष्ट्रिय दैनिक पत्रिका र थारु पत्रकार संघ केन्द्रीय समितिबाट प्रकाशित पत्रिका फुलरियामा आफूले थर उपथरसम्बन्धी खोजमूलक लेख लेखेको बताए। थारु समुदायमा आफ्नो थरसम्बन्धी मिथक भन्नसक्ने थारुहरु औँलामा गन्न सकिने सीमित थारुहरुमात्र रहेको उनको भनाइ थियो।

थाकस सुर्खेतका सभापति बेचुलाल चौधरीले सुर्खेतमा प्रायले आफ्नो थर के हो?  भन्नेसमेत थाहा नभएको बताए। युवा पुस्तालाई झन् आफ्नो थर जानकारी नहुँदा चालचलन रीतिरिवाजमा समेत समस्या उत्पन्न हुने चिन्ता व्यक्त गरे। यसका लागि बुढापाकाहरुले आफ्ना सन्ततिहरुलाई जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए।

जङ्रार साहित्यिक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले थारुहरुको कुल देउताबाट समेत थारु जातिका थर पत्ता लगाउन सकिने भएकाले बुढापाका व्यक्ति एवं गुरुवाहरुको सहयोग महत्वपूर्ण हुने बताए।

गोष्ठीमा सहभागीहरुले थारु आयोगले थारुहरुको थर पहिचान कार्य सुरु गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा थारुहरुको भाषा, कला, साहित्य, गीत, संस्कृति, चालचलन आदिको संरक्षण सम्वर्द्धनमा जोड दिनुपर्ने बताए। यसका अतिरिक्त थारुहरुको हक अधिकार सुनिश्चितीकरणमा समेत ध्यान जानुपर्ने आग्रह गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *