सरावलका प्रमुख राधेश्याम चौधरीद्वारा प्राचीन ‘ककरपत्त’ नगर घोषणा

नवलपरासी ‘बर्दघाट सुस्ता पश्चिम’को सरावल गाउँपालिका-२ जावास्थित लोपोन्मुख वनस्पति कोलवृक्ष बगैँचा ‘प्राचीन ककरपत्त नगर’ क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ। गाउँपालिकाले यस क्षेत्रलाई संरक्षण गरी पर्यटकीय स्थलको रूपमा स्थापित गर्न थालेकाले यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो।

प्राचीन कोलीय गणराज्यको एक शहर र बुद्धकालिन स्थल मानिने कोलवृक्ष क्षेत्रमा उक्त गाउँपालिकाले पुरातात्विक उत्खनन् गर्दैछ। बुद्धकालीन लोपोन्मुख वनस्पति ‘कोलवृक्ष’ रहेको उक्त स्थानको पुरातात्विक महत्व उजागर गर्दै नमूना पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले उत्खनन् गर्न थालिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए।

केही वर्षदेखि यस क्षेत्रको संरक्षण र पर्यटकीय पूर्वाधारहरू निर्माण गर्दै आएकामा यो क्षेत्र प्राचीन कोलीय गणराज्यको एक शहर ककरपत्त नगर समेत भएको बौद्धग्रन्थमा उल्लेख रहेकाले यसको उत्खनन् गर्न लागिएको उनले जानकारी दिए। ‘यहाँ बौद्धकालिन इतिहाससँग मिल्दाजुल्दा ईट्टा, मूर्ति, भाँडाकुँडासमेत भेटिएकोले उत्खनन्को आवश्यकता देखिएको हो,’ अध्यक्ष चौधरीले भने।

चालु आर्थिक वर्षमै यस क्षेत्रको उत्खनन् गर्ने गरी गाउँपालिकाले बजेट विनियोजन गर्नाका साथै पुरातत्व विभागसँग समन्वय गरिरहेको उनको भनाइ थियो। बुद्धकालमा कुष्ठरोग निवारणमा प्रयोग भएको कोलवृक्ष यहाँ मात्र पाइने र कोलवन रहेको क्षेत्र प्राचीन कोलीय गणराज्यको एक शहर ककरपत्त नगर रहेको बुद्धग्रन्थमा उल्लेख गरिएकाले पनि गाउँपालिकाले यस क्षेत्रलाई ककरपत्त नगर घोषणा गरेको जनाइएको छ।

पुरातत्व क्षेत्रका अध्ययेता डा. कौशलेन्द्र श्रीवास्तवका अनुसार प्राचीन कालमा बनारसबाट स्वनिर्वासित भएका कुष्ठरोगी राजा राम र कपिलनगरका त्यस्तै रोग लागेकी शाक्यरानी प्रिया यस क्षेत्रको कोलवनमा निर्वासित जीवन बिताउँदै कोलको फल खाने र लेप लगाउने गरेर कुष्ठरोग निवारण गरेको बुद्धग्रन्थमा उल्लेख छ। राजा रामले पछि यही कोलवृक्ष फँडानी गरी राज्य बसाएको र उनकै नामबाट रामग्राम राज्य रहन पुगेको तथा यसै वृक्षको नामबाट प्राचीन कोलीय गणराज्य रहन पुगेको उक्त ग्रन्थमा उल्लेख छ।

हालः यो क्षेत्र रामग्रामको नजिक रहेको र कोलवृक्ष यहाँबाहेक अन्यत्र नपाइने भएकाले पनि गाउँपालिकाले यस क्षेत्रलाई गौरवको संरक्षित क्षेत्रको रूपमा उच्च प्राथमिकता दिएर संरक्षण, प्रवर्द्धन र पर्यटकीय विकास गर्न लागिपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । कोलवृक्षको अनुसन्धान जारी छ । जापानलगायत अन्य देशका अनुसन्धानकर्ता यसमा सम्लग्न छन् । स्थानीय भाषमा आकोल भनेर चिन्ने यस वनस्पतिको उत्पत्ति पनि नेपालमै भएको जिकिर गरिएको छ। कोलवृक्ष कुष्ठरोग, छालासम्बन्धी रोग, मधुमेह, उच्च रक्तचापजस्ता रोगको उपचारमा प्रयोग गरिएको कथन पनि पाइन्छ।

जावामा कोलवृक्ष बगैँचाको रूपमा रहेको छ भने गाउँको चारैतिर पनि यो वनस्पति देख्न सकिन्छ। गाउँभरि नै यसको रुख पाइने भएकाले गाउँपालिकाले कोलवृक्षको गणना गर्ने तयारी गरेको छ। यो रुख रोप्नु नपर्ने र आफैँ उत्पत्ति हुने गरेको स्थानीयवासी बताउँछन्। यहाँबाट कोलको बिरुवा रामग्राम स्तुप र लुम्बिनीमा पनि लगेर रोपिएको तर त्यहाँ सफल नभएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए।

गाउँपालिकाले कोलवृक्ष संरक्षण गरी पर्यटन क्षेत्रको रूपमा विकास गर्न अहिलेसम्म रु एक करोडभन्दा बढी लगानी गरिसकेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार यस क्षेत्रको समग्र विकासका लागि विस्तिृत गुरुयोजनासमेत निर्माण गरिएको छ। करोडौँको योजना रहेकाले प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक हुने उनको भनाइ थियो।

हालः उक्त स्थानमा ठूलो बुद्धको प्रतिमा स्थापना गरिनाका साथै वनभोज स्थल, ट्रष्ट, पर्यटक बस्ने स्थल निर्माण गरिएको छ। यहाँको पर्यटन प्रवर्द्धन गरी स्थानीयवासीको आयआर्जनमा जोड दिन होम स्टे ‘आवास घर’ सञ्चालनको तयारी तथा बहुद्देश्यीय सभाहल निर्माणको काम पनि भइरहेको छ। होम स्टे सञ्चालनका लागि स्थानीयवासीलाई तालिम दिन लागिएको गाउँपालिकाले जनाएको छ।

आगामी वर्ष उक्त स्थलसम्म पुग्ने सडक स्तरोन्नति, प्रवेशद्धार, बौद्ध विहार र उद्यान निर्माण गर्ने तयारी छ। यसैगरी सोही स्थानमा रहेको ऐतिहासिक बुद्धसरोवर ताललाई सुन्दर बनाएर डुङ्गा सञ्चालन गर्ने, प्राचीन ईनार र कोटही माई मन्दिरको संरक्षण गरी पर्यटक आकर्षित गर्नेजस्ता पूर्वाधार निर्माण गर्ने योजनाका साथ गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले बताए। यो क्षेत्र प्राचीन बुद्धकालीन स्थल नै भएकोले लुम्बिनी, रामग्रामसँग जोडेर एकिकृत विकास गरिनुपर्नेमा जोड दिँदै उहाँले यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी दिए।

यहाँ रहेको बुद्ध सरोवर तालको पनि छुट्टै विशेषता छ। तालमा साइबेरियनलगायत विश्वका विभिन्न स्थानबाट आउने लोपोन्मुख चरा अवालेकन गर्न सकिन्छ। झण्डै पाँच बिघा जमिनमा फैलिएको यो ताल पनि रमणीय छ।

कहिल्यै पानी नसुकेको यो तालमा विगतमा सुनको डुङ्गामा भाँडाकुँडा आउने र गाउँघरमा हुने विवाहलगायत अन्य उत्सवमा प्रयोग गर्ने गरिएको किम्वदन्ती रहेको स्थानीय मीननारायण चौधरीले बताए। उनले भने, ‘पूजा तथा उत्सवहरूमा भाँडाकुँडा आवश्यक पर्दा देवीको पूजापाठ गरेपछि डुङ्गामा भाँडाकुँडा आउने गरेको र काम सकिएपछि फेरि बुझाउने गरिएकोमा एक पटक उक्त भाँडा नबुझाएपछि डुङ्गा निस्कन छोडेको किम्वदन्ती रहेको छ।’ गाउँपालिकाकै धरोहरको रूपमा रहेको जावा क्षेत्र पर्यटकीयस्थल बन्ने भएपछि स्थानीयवासीमा पनि खुसी छाएको छ।

यहाँको पर्यटन विकास हुन सके स्थानीयवासीको आयआर्जन बढने, रोजगारीको अवसर सिर्जना हुने तथा जीवनस्तरमा समेत परिवर्तन आउने अपेक्षा गरिएको कोलवृक्ष पर्यटन विकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । यस क्षेत्रलाई पर्यटकीयस्थल बनाउन सकिए विश्वकै लागि नमूना पर्यटकीय गन्तव्य हुनाका साथै खोज अनुसन्धानकर्ताका लागि पनि गन्तव्य बन्ने विश्वास गरिएको छ।




One thought on “सरावलका प्रमुख राधेश्याम चौधरीद्वारा प्राचीन ‘ककरपत्त’ नगर घोषणा

  1. थारु समुदायको ऐतिहासिक र मौलिक शब्द “अकोल” लाई “कोल” भन्नुु र “जावा” लाई “ककरपत्त नगर” नामाकरण गरि घोषणा गर्नु थारु भाषामाथि आक्रमण हो ।

Leave a Reply

Your email address will not be published.