नेकपा फुटको संघारमा पुगेकै हो? थारु नेताहरु यसो भन्छन्

नेपाल कम्युनिस्ट पार्टीका सचेतक शान्ता चौधरीले फुटको छुट कसैलाई नभएको बताएकी छन्। उनले फुटको फल पनि राम्रो नभएको नजिर भएको बताएकी हुन्।

‘फुटको छुट कसैलाई छैन यसले राम्रो फल दिएको नजिर पनि छैन। जुटको बललाई गुटको कलहले गिजोल्ने प्रवृतिको अन्त्य हुनैपर्छ,’ उनले फेसबुकमा लेखेकी छन्।

उनले एकता, सिद्धान्त, संगठन र जनचाहनाअनुसारको समृद्धि आजको आवस्यकता रहेको बताइन्। त्यसका लागि घनिभूत सम्बाद, लचकता र जनताप्रतिको जिम्मेवारी बोधबाट मात्र समृद्धि सम्भव हुने उनको भनाइ छ।

उनले दूराग्रह र कुण्ठाबाट सबैलाई मुक्त भएर आफ्नो कमजोरी स्वीकार्न आग्रहसमेत गरेकी छन्। ‘समृद्धिको यो ऐतिहाशिक अभिभाराबाट भाग्ने छुटकारा कसैलाई पनि छैन। संयमित र दूरदर्शी हुन सबैमा आग्रह गर्दछु। दूराग्रह र कुण्ठाबाट मुक्त होऊँ, कमजोरी सबैले स्वीकार गरौं। नयां शिराबाट नौलो एकता त्यतीबेला सहज हुनेछ जतिबेला बहशको केन्द्रमा हुनेछ जनता!,’ उनले भनेकी छन्।

उनले पद, कुर्सी, भागबन्डाभन्दा कयौं गुणा बढी महत्त्वपूर्ण विषय मानव जीवनको रक्षा गर्नु रहेको बताइन्। ‘अरु कुरा छोडौं, कोभिड-१९ का विरुद्ध सम्पूर्णरुपमा ध्यान केन्द्रीत गरौं। सबै मिलेर सामना गरौं, कोरोनालाई परास्त गरौं। पद, प्रतिष्ठा र कुर्सीका कुरा पछि गरौंला!,’ उनले भनेकी छन्।

त्यस्तै नेकपाका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सांसद इन्द्रजीत थारुले मै सबैथोक, म नै पार्टीको सर्वेसर्वाजस्ता सोँचले अहिलेको अवस्था आएको बताए। उनले समस्याको जड प्रधानमन्त्री केपी शर्मा ओलीमै रहेको बताए।

‘समस्याको जड प्रधानमन्त्रीमै हो। किनकि देश सञ्चालनका लागि उहाँबाट सही निर्णयहरु भएनन्। उहाँले पार्टीमा पनि एक्लौटी निर्णय गर्नुभयो, सरकार सञ्चालनमा पनि एक्लौटी निर्णय गर्नुभयो। मूल यही कारणले अहिलेको अवस्था सिर्जना भएको हो,’ उनले थारुवानसँग भने। प्रधानमन्त्री ओलीले सर्वपक्षीय निर्णय गरेको भए आजको अवस्था नआउने उनको भनाइ थियो।

उनले अर्का अध्यक्ष पुष्पकमल दाहाले प्रधानमन्त्रीको गलत निर्णयप्रति प्रतिक्रियामात्र जनाएको बताए। त्यसबाहेक प्रचण्डले कुनै खालको गलत निर्णय नगरेको उनको भनाइ छ। ‘मुख्य व्यक्तिले सही काम नगर्दा सहायक व्यक्तिले प्रतिक्रिया जनाउनु स्वभाविक हो। प्रचण्डजीले पनि त्यही गर्नुभएको हो,’ उनले भने। प्रचण्ड गलत छन् भने प्रधानमन्त्रीले सही निर्णय गरेर सरकार र पार्टीको नेतृत्व गर्नुपर्ने उनको बुझाइ छ।

पूर्वमाओवीका नेतासमेत रहेका उनले पार्टी फुटाउने इच्छा कसैको नभएको र पार्टी फुटाउने कदम पनि पूर्वमाओवादीबाट हुन नसक्ने बताए। ‘पार्टी फुटाउने उद्देश्य न प्रधानमन्त्रीज्युको छ, न प्रचण्डजीको छ, न माधवजीकै छ। तर त्यस्तो अवस्था आइहाले पार्टी प्रधानमन्त्रीज्युबाटै फुट्छ,’ उनले भने।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *