जसपाका सांसदले सदनमा आवाज उठाउन सकेनन् : राजकुमार लेखी

जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी सदस्य राजकुमार लेखीले जसपाका सांसदहरुले सदनमा आवाज उठाउन नसकेको बताएका छन्। सप्तरीको कञ्चनरुपस्थित बलुवा चोकमा आयोजित शुभकामना कार्यक्रममा  बोल्दै उनले यस्तो बताएका हुन्।

‘जसपाको केन्द्रमा ३४-३५ जना सांसदहरु छन्, तर कसैले पनि सं‌सदीय मोर्चाका आवाज सदनमा उठाउन सकेको छैन,’ उनले भने। उनले जसपा कान्छो पार्टी भएकाले पनि धेरै कमी कमजोरी रहेको बताए। ‘पार्टीमा केही कमजोरी छन्। अब हामीले जोस र जाँगरका  ती कमी कमजोरीलाई अगाडि बढाउनुपर्छ,’ उनले भने।

उनले प्रदेश २ मा आफ्नै पार्टीको सरकार भए पनि सोचेजस्तो काम गर्न नसकेको आरोपसमेत लगाए। ‘तीन वर्ष बितिसक्यो प्रदेश सरकारले अहिलेसम्म आयोगहरु गठन गरेर संघीय सरकारमा पठाउन सकेको छैन। प्रदेश सरकार आफैँले गर्नसक्ने काम नगरेपछि संघीय सरकारलाई दोष दिएर के गर्नु?,’ उनी प्रश्न गर्छन्।

उनले पार्टीले मंसीर १० गतेभित्र प्रदेशहरुमा समायोजन गरी सक्ने र जिल्ला हुँदै वडास्तरमा मंसिर ३० भित्र पार्टी समायोजन हुने बताए। ‘स्थानीय तहमा सबै कार्यकर्ताहरु पार्टीको काममा लाग्न जरुरी छ,’ उनले भने।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य कल्पना चौधरीले दुई पार्टी एकताले समग्र मधेसको मात्र नभएर मुलुककै समउन्नत विकासमा टेवा पुगेको  बताइन‍्। उनले पार्टी अब ठूलो शक्तिमा परिणत भएकाले जसपाबाहेक अरु पार्टीको विकल्प नरहेको बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *