पूर्वसभासद् मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको मङ्गलबार निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका-४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए ।

ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएका चौधरीको स्वास्थ्य समस्या वढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो । जहाँ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनको धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

बिहारी चौधरी र माहिल्यवती चौधरीको छोराका रुपमा २०१८ साल फागुन १० गते सप्तरीको जगतपुर ५ मा जन्मिएका चौधरीका ५ छोरा र १ छोरी छन् । चौधरीले नेकपा पुष्पलाल समूहबाट २०२६ सालमा राजनीतिमा प्रवेश गरेका थिए । एसएलसीसम्म अध्ययन गरेका चौधरी प्रजातन्त्र स्थापनापछि एमालेको सप्तरीका नेता बनेका थिए ।

२०५४ सालमा सप्तरी जिल्ला विकास समितिको सदस्य समेत भएका चौधरी एमालेको नेतृत्वदायी भूमिका रहेका थिए । २०६३ सालमा नेकपा एमाले, सप्तरीको जिल्ला अध्यक्ष भएर काम गरेका चौधरी २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गरे । माओवादीमा उनी मिथिला राज्य समितिको सचिवालय सदस्य थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा एमालेको विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवारीका रुपमा चुनाव लडेका चौधरी ७ हजार ६ सय ३७ मत ल्याउँदै तेश्रो भएका थिए । त्यसपछि माओवादी प्रवेश गरेका चौधरीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *