सखिया विनाका दशैं र लुकेको रहस्यलीला

सखिया नाचले चैनार (उल्लासमय) रहने तराईका थारु वस्ती चालु वर्षमा भने उराठ लाग्दा छन् । कोरोना कहरले मानव समुदाय नै प्रभावित भएपछि सखियाको रौनक छाउन पाएन । उसैपनि सामूहिक रुपमा नाचिने सखिया नाच कोरोना कहरले प्रभावित हुने नै भयो ।

विगतको स्मरण गर्दै कैलालीको कैलारी गाउँपालिका–३ उत्तरभर्री गाउँका भलमन्सा छोटेलाल चौधरी भन्छन्, ‘विगतमा दशैं शुरु हुनुभन्दा एक महिना पहिले ट्रासन (मादलको एक किसिमको विशेष ताल/खोट) बजाइ सखिया नाचको शुभारम्भ गरेका थियौ । तर यो वर्ष कोरोना कहरले गरेनौ ।’

कोरोना कहरले सामूहिक रुपमा नाचिने सखिया नाच नाच्न सम्भव नभएपछि कम मानिसको समूहमा नाचिने झुम्रा नाच नाच्दै पिट्टर अस्राएको (पितृ सेलाउनु) भलन्सा चौधरीको भनाइ छ ।
वषौंभरि सखिया नाच नाचिने कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित थारु होमस्टे गाउँ भादामा पनि यो वर्ष सखियाको उल्लास छैन । भीडभाडले कोरोना संक्रमण बढ्ने हुँदा सामूहिक रुपमा नाचिने सखिया प्रभावित भएको बताइएको छ ।
धनगढी उपमहानगरपालिका १६ का वडा अध्यक्ष समेत रहेका थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले सखिया नाच हुन नसकेको जानकारी दिए । जो जहाँ छ, त्यहै आफ्नो हिसाबले स्वास्थ्य सतर्कता अप्नाएर दशैं मनाएको अध्यक्ष चौधरीले बताए ।

समान्वय अवस्थाको दशैंलाई पुनः स्मरण गर्दै उत्तरभर्री भलमन्सा मादलको ताल सुनाउँछन् ‘बिगतको वर्षमा बेलुका भयो कि, ‘फटक ट्वाङ घरौना…२, ट्वाङ घरौना..२ लगायत ताल समेतिएको मादलको आवाज गुन्जिन्थ्यो, आजभोलि ।
कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा मात्रै होइन । पश्चिम नेपालको प्रायः थारु बस्तीमा सखिया उल्लास हुन्थ्यो आजभोलि । यो वर्ष हुन नपाएको बताइएको छ । तर सखिया नाच थारु समुदायको साँस्कृतिक पहिचान हो । जसको आफ्नै विशेषता र रहस्य लुकेको छ ।

सामान्य अवस्थामा थारु वस्तीमा दशैंभन्दा १ महिना अगाडीदेखि नै रात्रिको समयमा सखिया गीत र नाच सिकाउने गरिन्छ । मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत सो गीतिनृत्यको रुपमा रहेको सखिया नाच्ने र गाउने विधि र प्रक्रियाहरु सिकाइने गरिएको लोकसंस्कृति विद अशोक थारु बताउँछन् ।

लोक संस्कृति विद थारुका अनुसार दशैंको अवधिमा सखिया र पैंयाँ नाच विशेष रुपमा नाचिन्छ । नाच्नका लागि युवतीहरुको समूहमा १ जना अगुवा (मोरिन्या) रहने र मादल बजाउने युवाहरुमा पनि १ जना अगुवा हुन्छन् । यो नाचमा भगवान श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइन्छ ।

सखिया के हो ?
सखिया शब्द ‘सखींआ’ बाट बनेको हो । यसको अर्थ साथी वा संगिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा अथवा राधा र उनका संगिनीको सन्दर्भमा आएको हो । नेपाली लोकवार्ता तथा संस्कृति समाजबाट प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तकका अनुसार दशैंको खुसियालीमा संगिनीहरु आऊन्’ भन्ने अर्थमा ‘सखिया’को प्रयोग भएको हो ।

सखिया थारु लोकभागवत पुराण हो । दशैंमा थारु जातिका महिलाहरुले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृति विद थारु बताउँछन् । जसको आरम्भ नै समरौटीबाट हुन्छ ।

डानु डाडा डानु री डाडा डानुु. डरिउना भली र
सखी र डानु री डाडा डरीउना री कहिले
टोही मैं सामिरौं सरस्वती मैयाँ
सखी र सरस्वती मैयाँ स्यावा री मोरी लेओ

पैंयाँमा कृष्ण र गोपिनीको रसलीला
सो पुस्तकमा उल्लेख भएअनुसार दशैंको अवधीमा तथा सखिया नाचको बीच–बीचमा पैंयाँ नाच पनि नाचिन्छ । थारु भाषामा पैंयाँलाई ‘पैंयाँ लग्ना’ अर्थात पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनी रुपी बठिनियाहरु (युवतीहरु) र कृष्ण रुपी मडर्या (मदाल बजाउने यूवा) एकअर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ ।

सो पुस्तकका लेखक समेत रहेका लोक संस्कृति विद थारु भन्छन्–‘पैंयाँलाई कृष्ण र गोपिनीबीचको रसलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतहिन सामूहिक नृत्य हो ।’

एनरी बाहाँस हो काटी कमवा सिटैबु
कमवा सिटैबु मै पिन्जला बनैबुँ
पिन्जला बनैबु मै सारी सुगा पलबु
वचनक बिनल पिन्जला कबु रे जिनी टुट
टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना

पुस्तकका अनुसार प्रस्तुत पैंयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रुपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औंलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आएको छ ।
पछिल्लो समय पैँयाँलाई नाचलाई आधुनिकीकरण गरिएको पाइएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतहरु समेत आधुनिक ढंगले समेत रचना गरिएको थारु संस्कृतिका जानकारहरु बताउँछन् ।
त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मड¥याहरुले आफैं नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भीड लाग्ने गर्छ ।

थारु समुदायमा सखियालाई उसैपनि सदाबहार नृत्यको रुपमा लिने गरिएको छ । दशैंमा मात्रै सीमित नभई यो नृत्य बाहौंमास विभिन्न सभा, समारोह,महोत्सवहरुको प्रमुख शोभाको रुपमा प्रस्तुत हुँदै आएको छ । जसले गर्दा यो नृत्य व्यावसायिक समेत बनेको भादा होम स्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन् । तर कोरोना कहरले प्रभावित हुन पुगेको उनको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *