थारू भाषा सम्बन्धमा बुझ्‍नैपर्ने कुरा

सुनसरीका रामसागर चौधरीजीले कृष्णराज सर्वहारीलाई सम्बोधन गरेर हालै फेसबुकमा लामो स्ट्याटस लेखेका छन् । थारू भाषामा त थ द ध को बहिष्कारबादसंग म सहमत छैन भन्ने प्रसंगमा उनको भनाइ केन्द्रित छ ।

रामसागरजी, यहाँको सुझाव मननयोग्य छ तर केही बुँदाहरूमा मेरो असहमति छ । थारू भाषामा ‘तथदध’ बहिष्कारवाद होइन, डंगौरा थारू भाषामा पो छैन वा यी ध्वनी सुनिदैनन् भन्ने हो । साथै अध्ययन अनुसन्धानहरूले पनि प्रमाणित गरिसकेको कुरा हो । सन् २००३ मा एडवार्ड बोइमले ‘अ डिस्क्रिप्टिभ फोनोलोजी अफ डंगौरा थारू’ भन्ने शीर्षकमा गरेको अध्ययनले पनि डंगौरा थारू भाषामा ‘तथदध’ ध्वनीहरू नरहेको खोज गरेका छन् । त्यस्तै, २०७३ साल साउन १ देखि ३ मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट घोराहीमा गरिएको थारूविज्ञ लगायत भाषाशास्त्रीहरूले डंगौरा थारू भाषाको वर्ण निर्धारण गर्दा पनि यी ध्वनीहरू नरहेको निष्कर्ष निकालेको छ । थारू मानक भाषा बनाउँदा थारू वर्णमालामा ‘तथदध’ राखिनु हुँदैन भन्ने सर्वहारीलगायत हाम्रो विरोध होइन ।

पूर्विया थारू भाषाहरूमा ‘तथदध’ वर्णहरू पाइन्छन् र उतातिर लेखिन्छन्, यसलाई पश्चिमा थारूहरूले स्वीकारेका छन् भने डंगौरा थारू भाषामा ‘तथदध’ पाइँदैनन् भन्दा पूर्विया थारू मित्रहरूले यसलाई किन स्वीकार्न नसकेको ? नेपालीलगायत अन्य भाषामा पनि केही वर्णको प्रयोग कम वा छैन, तैपनि वर्णमालामा राखिएको छ भन्दैमा ती सबै थारू वर्णमालामा राखिनु पर्छ भन्नु तर्कपूर्ण होइन । सबै भाषाका ध्वनीहरू एकै हुन्छन् भन्ने होइन, फरक पनि हुन सक्छन् । नेपाली भाषा र डंगौरा थारू भाषा देवनागरीमा लेखिए पनि एउटै होइनन् ।

नेपालीमा ‘क’ ध्वनीको महाप्राण ’ख’ हो, ‘ग’ को ‘घ’ हो, ‘च’ को ‘छ’ हो, ‘ज’ को ‘झ’ भए जस्तै डंगौरा थारूमा ‘ङ, (ङ्ह) म, (म्ह) न,(न्ह) , र (र्ह), ल, (ल्ह) को पनि महाप्राण भेटिएका छन्, जुन नेपाली भाषामा पाँइदैन, त्यसो भए नेपाली वर्णमालामा यी वर्णहरूलाई किन नराखेको ? यदि नेपाली वर्णमा पाइने सबै ध्वनीहरू हामीमा नहुँदा पनि राख्ने हो भने थारू मौलिक भाषाको के अर्थ ? नेपाली वर्णमालामा रहेका ञ, ण, श, ष, क्ष, त्र, ऋ, लृ, कि त संयुक्त वर्ण हुन् कि त संस्कृतबाट साभार गरिएका हुन् । संस्कृत भाषामा पढ्दा यिनीहरूको उच्चारण सुनिन्छ होला तर ‘श र ष’को सन्दर्भमा नेपाली भाषामा उच्चारण गर्दा तालव्य ‘स’ नै गर्ने गरेको पाइन्छ । त्यसैले होला, नेपाली भाषामा पनि यी ‘श र ष’ लाई हटाउन खोजिएको थियो ।

अब भाषा विज्ञानको कुरामा जाँऊ । मुर्धन्य (उबबितय(बखिभयबिच) ‘श’ लाई उच्चारण गर्दा जिब्रोको टुप्पालाई तालुको पछाडि लगेर उच्चारण गरिन्छ । कुन नेपाली भाषी वा थारू भाषीले यसको उच्चारण यसरी नै गर्छ होला ? ‘ष’ को सन्दर्भमा कुन ‘श’ ’स’ उच्चारण गर्ने आफै अस्पष्ट छ । भाषा पहिले बोलाइ अनि पछि लेखाइ हो । देवनागरीमा लेखिने सबै भाषा वा भाषिकाहरू (उजयलझष्अ बिलनगबनभे हुन् जसरी बोलिन्छन् र सुनिन्छन्, त्यसरी नै लेख्ने चलन हुन्छ । दन्त्य ‘त’ सुनिएमा दन्त्य ‘त’ ( विपत्ती) नै लेखिन्छ भने तालव्य ‘ट’ सुनिएमा ‘ट’ (सापटी) नै लेखिन्छ । उदाहरणको लागि अंग्रेजीबाट आएका हरेक नेपाली आगन्तुक शब्दहरूमा तालव्य ‘ट’ नै लेखिएका छन् । किनकी अंग्रेजीमा दन्त्य ‘त’ नै छैन । जस्तै कम्प्यूटर, क्यालकुलेटर, कार्ड आदि ।

रामसागरजीले भनेको आवश्यक्ता अनुसार यी वर्णहरूलाई राखौँ भन्नु हुन्छ भने तपाइकै पूर्वी थारू भाषामा पनि श र ष छैन ।  उदाहरणका लागि मोरङका भोलाराम चौधरीले लेख्नुभएको मध्य–पुरबैया थारु भाषाको थारू व्याकरण (२०७४) मा प्रयुक्त केही शब्दको प्रयोग हेरौं । सैली, व्याकरन, भसा, अछर, बरनमाला, सवदग्यान, विसेसन, पुरुस आदि । झापादेखि पर्सासम्म १२ जिल्लाका थारूभाषाविदहरुको विभिन्न चरणको गोष्ठीबाट बनाइएको मध्य–पुरबैया थारु भाषाको शैली पुस्तिका, व्याकरण, शब्दकोश हेर्नोस् । मध्य–पुरबैया थारु भाषाको लेखन शैलीमा श र ष मात्रै होइन, ञ, क्ष, त्र, ज्ञ वर्णको पनि प्रयोग छैन । अनि डंगौरा मा श र ष को आवश्यकता कहाँ पर्छ होला ?

अहिलेसम्म धेरै थारू भाषिकाका वर्णहरू स्पष्ट रूपमा वर्ण निर्धारण नभएकोले कुन वर्णहरू राखिने वा कुन वर्णहरू नराखिने प्रस्ताव मात्र छ भने डंगौरा भाषाको मात्र विरोध किन ? सर्वहारीजीको मात्र विरोध किन ? वर्णहरू निर्धारण गर्दा कुनै पनि भाषामा रहेका शब्दहरूलाई संकलन गरेर लघुतम युग्मको आधारमा गरिन्छ र वर्णहरु पहिचान हुन्छन् । यही प्रकृया अपनाएर डंगौरा भाषाको वर्ण निर्धारण गर्दा ‘टठडढ’ मात्र भेटिएकोमा दन्तय ‘तथदध’ को के अर्थ ? जबकी ती वर्ण नै फेला परेनन् भने डंगौरामा ‘ट’ र ‘त’ को अर्थभेदमा के प्रश्न ? आफ्नो भाषा निर्माणको लागि अर्काको भाषामा अर्थ खोज्नु कतिको तर्कपूर्ण ?

हामीहरू सबै जना आआफ्नो भाषामा विज्ञ छौं । डंगौरा थारू भाषामा देखिएका सहि कुराहरूलाई सर्वहारीजीले अगाडि लग्न खोज्दै हुनुहुन्छ । यसमा हठवादी भन्नु पर्ने केही छैन । तर गोरखापत्रमा थारू पृष्ठ प्रकाशनको कुरामा राजनीति भएकै हो । थारू मानक भाषा बहस चलिरहेकै क्रममा यस्तो हुनु हामी स्वयम् राजनीति गरेका हौँ भनि स्विकार्नुस् । यस कुरामा म पनि सहमत छु कि थारू भाषामा विविधता छ र एकरुपता ल्याउनमा समय लाग्ने भएकोले हाललाई गोरखापत्रलाई थारू भाषामा २ पेजमा र २ दिन प्रकाशन गर्न अनुरोध गर्नुपर्छ । रामसागरजी, तपाई भाषा सहज, सरल र स्वीकार्य हुनुपर्छ भन्नु हुन्छ भने फेरी ३ वटै ‘श, ष र स’ को प्रयोग गरेर किन थारू भाषालाई जटिल बनाउने ? थारू भाषामा प्रयोगमै नआउने ‘ञ, ण’ लाई किन वर्णमालामा राख्ने ? जति कम वर्ण वा जति कम शब्द भाषा सिक्न त्यति नै सहज हुन्छ, यही कुरा भाषा विज्ञानले पनि भन्छ ।

यहाँ सर्वहारीजीको कुरा मात्र होइन, हामी पनि थारूभाषी भएकोले हामीलाई पनि हाम्रो भाषाको माया छ, चिन्ता छ । डंगौरामा ‘तथदध’ नै नभएको अवस्थामा ती वर्णहरू डंगौरा थारू भाषाका मौलिक वर्णहरू होइनन् । यसलाई हामी पनि वहिष्कार गर्छौ । अन्य थारू भाषाहरूमा ‘त थदध’ छ भने उहाँहरू लेखुन्, बोलुन्, पश्चिमाको टाउको दुखाइको विषय होइन । भाषा स्वतन्त्र रुपमा जन्मिने, परिवर्तन हुने र मर्ने चिज हो तर डंगौरा थारू भाषा पश्चिममा सबैभन्दा बढी बोलिने भाषा र साहित्य सृजना भएको भाषा भएकोले यसको चर्चा भएको हो ।

अन्तमा, सर्वहारीजस्ता अनुभवी व्यक्तिलाई गोरखापत्रको सम्पादन गर्नबाट हटाउनु भन्दा पूर्व र पश्चिमको थारू भाषामा प्रकाशन हुनु राम्रो होला । यो मेरो पनि सुझाव हो । बाँकी भाषा विज्ञानलाई पनि बुझेर अगाडि बढ्दा राम्रो होला । धन्यवाद, जय गुर्बाबा ।

(लेखक अमर शहिद बहुमुखी क्याम्पस, राजापुर, बर्दियाका क्याम्पस प्रमुख हुन् ।)




Leave a Reply

Your email address will not be published. Required fields are marked *