थाकसको पत्र पाएपछि गोरखापत्रले रोक्यो थारु भाषा पृष्ठ, थाकसद्वारा नयाँ संयोजक सिफारिस

थारु कल्याणकारिणी सभा (थाकस)ले गोरखापत्रलाई चिठी लेखेपछि नियमित प्रकाशन हुँदै आएको नयाँ नेपालको थारु भाषाको असोज अंक रोकिएको छ। ‘भाषा बिगारेर प्रकाशन गरेको, पूर्वीया थारु भाषालाई नसमेटिएको’लगायत आरोप थाकसले लगाएपछि गोरखापत्रले असोज अंकलाई स्थगन गरेको नयाँ नेपालका संयोजक कुमार विवेकानन्द मिश्रले जानकारी दिए।

‘थाकसले चिठी लेखेपछि हामीले असोज अं‌कलाई स्थगन गरेकामात्र हौं। समस्या समाधान भएपछि यसको नियमित प्रकाशन हुन्छ,’ उनले थारुवानसँग भने। स्रोतका अनुसार थाकसले दुई जनाको नाम सिफारिस गरी पठाएको छ। ‘थाकसले दुई जनाको नाम पठाएको छ। उदयपुरका सहदेव चौधरी र कैलालीकी दीपा चौधरीलाई उहाँहरुले सिफारिस गर्नुभएको छ,’ स्रोतले भन्यो।

थाकसका महामन्त्री प्रेमीलाल चौधरीले नाम सिफारिस भएको स्वीकार गरेपनि संयोजक मिश्रले भने यस विषयमा आफूकहाँ कुनै चिठी नआएको बताए।

असोजक अंक प्रकाशन नभएपछि यतिबेला सामाजिक सञ्जालमा चर्को बहस चलिरहेको छ। पछिल्लो समय मानक भाषा बनाउनका लागि पूर्व र पश्चिमका बुद्धिजीबी र सरोकारवाला पक्षहरुबीच चर्कै बहस चलिरहेको छ।

सोही सम्बन्धमा गोरखापत्रले पृष्ठ संयोजक सर्वहारीलाई स्पष्टीकरणसमेत सोधेको थियो। ‘गोरखापत्रले स्पष्टीकरण सोधेको हो। त्यसमा मैले उहाँहरुको सुझावअनुसारै अगाडि बढ्ने प्रतिबद्धता जनाएको थिएँ,’ सर्वहारीले थारुवानसँग भने।

उनले मानक भाषा आजको भोलि बन्न नसक्ने बताउँदै त्यसका लागि सरोकारवाला पक्षहरुबीच निरन्तर छलफल र बहसको जरुरी रहेको बताए। ‘म एक्लैले मानक भाषा बनाउनसक्ने होइन। त्यसका लागि पूर्व पश्‍चिम सबैतिरका थारु बुद्धिजीबी र सरोकारवाला पक्षहरुबीच समझदारी हुन जरुरी छ। त्यसका लागि म आफैँ सधैं आवाज उठाइरहने मान्छे हुँ,’ उनले भने।

‘सरकारको आधिकारिक संचार माध्यम गोरखापत्रबाट २०६२-०६३ सालको परिवर्तनपछि जनआन्दोलनको उपलब्धिस्वरुप समावेशीपत्रको रुपमा नेपालका दुई दर्जन बढी भाषामा समाचार, लेख र साहित्यक विधाका सामग्री निरन्तर प्रकाशनमा रहेको छ। थारुभाषा पृष्ठ यस्तो पृष्ठ हो जुन हालसम्म बन्द भएको थिएन। २०७७ असोज महिनाको पृष्ठ प्रकाशन नहुने भन्ने सामाजिक सञ्जालमा आएका समाचारहरु पठ्दा अत्यन्त दुःख लागेको छ। पृष्ठ संख्या र मासिक पालो पनि थपिदै जानुपर्नेमा अमुक कारण त्यस्तोहुनु जनताको सूचनाको हकको उल्लंघन हुन जान्छ,’ लेखक तथा अधिकारकर्मी सुशील चौधरीले लेखेका छन्।

‘के कारणले त्यसो हुन गएको हो? भन्ने कुराको आधिकारिक जानकारी गोरखापत्र संस्थानको कार्यसमितिले दिनुपर्छ। बोर्डको नीतिगत समस्याका कारण हो कि, सम्पादक मण्डलको कार्यकुशलताको अभाव वा आग्रहले हो? अथवा पृष्ट संयोजकको लापरवाही वा गैरजवाफदेहिताका कारण थारुपृष्ठ प्रकाशित हुन सकेन? अथवा अरु कुनै अदृश्य शक्तिको चलखेलका कारण त्यसो भएको हो? तत्काल स्पष्ट गर्न जिम्मेवार निकायलाई आग्रह गर्न चाहन्छु। यसका साथै, प्राविधिक समस्या वा बुझाइमा समस्या छन् भने संवादको माध्यमबाट समाधानको खोजी गरेर थारुपृष्ठ तल्काल प्रकाशन गर्नसमेत माग गर्दछु,’ उनले थपेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *