कर्णाली प्रदेशको पातलगंगामा खुल्यो थारु होमस्टे

कर्णाली प्रदेशमा थारु होमस्टे सञ्चालनमा आएको छ। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ स्थित पातलगंगा सामुदायिक थारु होमस्टे सञ्चालनमा आएको हो।

कर्णाली प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले होमस्टेको शुभारम्भ गरेका थिए। कार्यक्रम मन्त्री बुढाले थारु समुदायको सँस्कृति प्रवर्द्धन गर्म होमस्टेले ठूलो भूमिका निर्वाह गर्ने बताए। उनले कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेशमा थारुहरुको सँस्कृति प्रवर्द्धन गर्नका लागि सरकार सधैं तयार रहनेसमेत बताए।

उनले ठूला होटेलमा नभएर समुदाय स्तरमा आयआर्जन गर्ने कार्यक्रम ल्याउने गरेको बताए। ‘सुर्खेत तथा कर्णालीमा प्रचूर पर्यटनको सम्भावना रहेकाले होमस्टेको अवधारणा निकै राम्रो छ। हामीले होमस्टे प्रबर्द्धन गर्नका लागि अहिले अनुदान दिने व्यवस्था गरेका छौं,’ उनले भने।

हाललाई छ वटा घरमा होमस्टे सञ्चालन गरिने पातलगंगा सामुदायिक थारु होमस्टेका अध्यक्ष दिलबहादुर चौधरीले बताए। ‘सुर्खेत आसपास कार्यक्रम हुने लक्ष्य छ। पर्यटकहरु स्थानीय परिकार खोज्न आउने गरेकाले पनि हामीले होमस्टे सञ्चालन गरेका हौं,’ उनले भने।

उनले प्रत्येक गाउँमा होमस्टे बनाउन आवश्यक रहेको बताए। ‘हामीले होमस्टेमार्फत् स्थानीय सँस्कृति जोगाउन जरुरी छ,’ उनले भने।

कर्णाली प्रदेशमा कूल जनसंख्याको ०.५ प्रतिशत थारुहरुको बसोबास रहेको छ। २०६८ को जनगणनाअनुसार सुर्खेतमा थारूहरुको जनसंख्या ६७९० रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *