टीकापुर घटनाको अर्को पाटोः जानाजान थुनिएका यी निर्दोष

नाम – बिसराम चौधरी (कुस्मी)
पेशा – कृषी (नमुना कृषक)
उमेर – ३७ बर्ष
ठेगाना – टीकापुर नगरपालिका, बेलुवा–७
आरोप – कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी

२०७२ सालसम्म नेपाल सरकारको नजरमा बिसराम चौधरी सुदुरपश्चिम क्षेत्रकै उत्कृष्ट किसान थिए। बिसरामले कृषी क्षेत्रमा गरेका सफलताका कथा राष्ट्रिय अन्तर्राष्ट्रिय मन्चमा भाकिन्थे। प्रकाशित–प्रसारित उत्प्रेरक कथाहरुमा उनलाई ‘कृषी क्रान्तिका अभियन्ता’ भनिएको हुन्थ्यो। देशदेशावरमा हुने सभा–सम्मेलन र प्रशिक्षणहरुमा उनलाई स्रोत व्यक्तिको रुपमा उभ्याइन्थ्यो।

बार्षिक ५० लाख बढीको कारोबार गर्ने बिसरामलाई सरकारले ‘उत्कृष्ट कृषक सम्मान’ बाट सम्मानित गरेको थियो। कृषी तथा सहकारी मन्त्रालय अन्र्तगत कृषी विभागको कृषी प्रसार निर्देशनालयले २०६६ सालमा बिसरामको ‘सिद्धार्थ केरा बाली बिकास कृषक समूह’ सुदुरपश्चिमबाट उत्कृष्ट भएको भनेर रु ५ हजार पुरस्कार दिएको थियो।

यसको तीन बर्ष पछि २०६९ सालमा भूमीसुधार मन्त्रालय, कृषी बिकास बैंक, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले संयुक्त रुपमा ‘देशमा कसरी आधुनिक कृषी प्रणाली लागु गर्न सकिन्छ’ भनेर अध्ययन गर्न बनाएको २२ जनाको उच्चस्तरिय टोलीमा बिसराम पनि थिए। यो टोली एक महिनाको अध्ययन भ्रमण गर्न इजरायल समेत गएको थियो।

समयको पासा पल्टियो। २३ चैत २०७२ को बिहान ११ बजे नर्सरीको ब्याडमा काम गरिरहेका बेला बिसराम पक्राउ परे। पक्राउ पुर्जीमा ‘चोरी लुटपाट, ज्यान मार्ने उद्योग र हत्या अभियोगमा अनुसन्धानका लागि पक्राउ गर्नु परेको’ व्योहोरा उल्लेख थियो।

प्रहरी हिरासतमा पुगेपछि उनले पक्राउको वास्तविक कारण थाहा पाए। घरभन्दा करिब ८ किलोमिटर उत्तर–पश्चिममा पर्ने टीकापुरमा ७ भदौ २०७२ मा भएको घटनामा संलग्न भएको भनेर उनलाई समातिएको थियो। जहाँ ८ सुरक्षाकर्मी सहित एक नाबालकको हत्या भएको थियो। प्रहरीको भनाइमा उसका केहि हातहतियार समेत लुटिएका थिए।

बिसरामले ७ भदौमा आफु घरबाहिर कतै नगएको बताए। प्रहरीले उनको कुरा सुनेन्। अभियोग दर्ता भयो, अदालतले पुर्पक्षका लागि जेल पठायो। तीन बर्ष जेल बसेर निस्किएका बिसरामले १५ चैत २०७५ मा आफ्नै घरमा घटनाको बेलिबिस्तार लाउँदै भने, ‘त्यो दिनभर म नर्सरीमा काम गरेर बसेको थिएँ। थरुहट आन्दोलनमा गएको थिइनँ।’

हिरासतमा आफुले प्रहरीलाई गरेको अनुरोध स्मरण गर्दै उनले भने, ‘तपाईंहरूले मेरा छिमेकीलाई सोध्न सक्नुहुन्छ, उनीहरु साक्षी छन् भनें तर, मरिगए सुनेनन्।’

३ बर्षसम्म उनलाई जिल्ला कारागार धनगढीमा राखियो। प्रहरीले अभियोग पुष्टि गर्न सकेन। जिल्ला अदालत धनगढीले २२ फागुन २०७५ मा बिसराम निर्दाेष रहेको ठहर ग¥यो। उनी रिहा भए।

नाम – रामनरेश चौधरी
पेशा – शिक्षक
उमेर – ३५ वर्ष
ठेगाना – टीकापुर नगरपालिका नुक्लिपुर–५
आरोप – कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी

१४ भदौ २०७२ का दिन रामनरेश चौधरी बर्दीया राजापुरको नवप्रतिभा बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीलाई गणित विषय पढाइरहेका थिए। बर्दीया चनौरा–२ राजापुरस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक रामनरेश नवप्रतिभा बोर्डिङ स्कुलमा बिहानको समयमा ‘पार्ट टाईम’ कक्षा लिइरहेका थिए।

बिहानको ७ बजेको थियो। विद्यालय हाताभित्र दुईजना मान्छे छिरे। एकछिन पियनसँग खासखुस गरेपछि उनीहरु सोझै रामनरेशले पढाईरहेको कोठामा आए।

तीन बर्ष पुरानो घटना सम्झँदै रामनरेश भन्छन, ‘ती मध्ये एकले हामी प्रयाक्टिस बुक बेच्न आएका हौं, तपाईंसँग कुरा गर्नु छ बाहिर आउनोस् भन्यो। मैले हामीलाई अहिले प्रायक्टिस बुक चाहिँदैन भनें। लगभग धम्क्याएको लवजमा तिनले बाहिर आउनोस् भन्दै विद्यालय हाता बाहिर लगे र ‘तपाईंलाई पक्राउ गरिएको छ’ भनेर बाईकको बीचमा राखेर दौडाए।’

त्यहाँबाट ४ किलोमीटर उत्तरमा रहेको नंगापुर र चख्खापुरको सिमानामा युनिफर्म लगाएका ६–७ जना प्रहरी भ्यानमा कुरिरहेका थिए। उनलाई गाडीमा हालियो। ७ दिन अघिको टीकापुर घटनाका कारण कफ्र्यु लागेकोले घाट बन्द थियो। कर्णाली नदि डुंगाबाट तर्नु पर्ने त्यो घाटका माझी गौरी थारुलाई बोलाएर डुंगा तार्न लगाई रामनरेशलाई करिब ११ किलोमीटर परको टीकापुर ईलाका प्रहरी कार्यालय पु¥याइयो।

त्यहाँ आधा घण्टा राखेर उनलाई १४ किमी उत्तरको महेन्द्र राजमार्गसँगै रहेको लम्की इलाका प्रहरी कार्यालय पु¥याइयो। त्यहाँबाट पश्चिममा रहेको सुख्खड इलाका प्रहरी कार्यालयतर्फ दौडाइयोे। सुख्खडबाट प्रहरी भ्यानले रातको १२ बजे जिल्ला प्रहरी कार्यालय धनगढी पु¥यायो।

राजापुरदेखि धनगढी सम्मको करिब सय किलोमीटर यात्रा रामनरेशको दिमागमा कहिल्यै नबिर्सने गरी बसेको छ।

तीन बर्षपछि १८ चैत २०७५ मा कैलालीको टीकापुर नगरपालिकाको सत्ती गाउँमा भेटिएका रामनरेश त्यो घटना सम्झँदै भन्छन्, ‘७ भदौमा सुरक्षाकर्मीमाथि भालाले आक्रमण गर्ने तँ हैनस् भनेर गाडीभित्रै कुटे। म ७ भदौमा स्कुलमा पढाइरहेको थिएँ भनें। तर साँप्रा र ढाडमा हेलमेटै हेलमेटले हाने। सुख्खड प्रहरी चौकीमा रक्सीले मातेका प्रहरीहरु आउँदै पालैपालो बुट र लठ्ठीले चुटे। त्यो घटना अहिले सपना झैं लाग्छ।’

टीकापुर घटनाको दिन रामनरेश कालिका माविमा पढाइरहेका थिए। घरबाट १५ किलोमीटर टाढा पर्ने बर्दीयाका दुईटा विद्यालयमा पढाउने हुनाले उनी उतै डेरा लिएर बसेका थिए। ७ भदौको उनको हाजिरी रजिष्टर, विद्यालयका प्रधानाध्यापक र विद्यार्थीका बयानले पनि चौधरी त्यस दिन बिद्यालयमै रहेको प्रमाणित हुन्छ।

रामनरेशले अदालतमा आफु निर्दाेष रहेको बयान दिएपछि घरनजिकै रहेको सुक्लीपुर प्रहरी चौकीका इन्चार्ज कृष्णबहादुर बोहोरा विद्यालयमै गएर प्रधानाध्यापकसँग भेटी उनको हाजिरी रजिष्टर जाँच गरेका थिए।

यी सबै प्रमाणका बावजुद दश वर्षदेखि शैक्षिक कर्ममा लागेका रामनरेशलाई अनुसन्धानको नाममा ४३ दिनसम्म जिल्ला प्रहरी कार्यालय धनगढीमा राखियो। प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजन बमोजिम पुर्पक्ष्यका लागि उनले नगरेको अपराधमा ३ बर्ष ६ महिना ८ दिन जेल हालियो। २२ फागुन २०७५ मा जिल्ला अदालत धनगढीको आदेशले ‘निर्दोष रहेको’ ठहर गरेपछि रामनरेश थुनामुक्त भए।

नाम – तहौबर अलि (नुरुल अलि जागा)
पेशा – सामाजिक नेता
उमेर – ३४ वर्ष
ठेगाना – भजनी नगरपालिका थापापुर–५ खैरा
आरोप – कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी

टीकापुर घटना भएको ७ भदौ २०७२ का दिन मदिन तुनुर मोहरुम्मुल ऊलुम मदरसा प्रावि सञ्चालक समितिका अध्यक्ष नुरुल अलि जागा गाउँको एउटा बिवाद निपटारा गर्न व्यस्त थिए। गाउँको मुसलमान बस्तीबाट घाँस काट्न गएका ताज मोहम्मद जागा (बर्ष २३) ले धान पनि काटिदिएपछि पल्लो टोलका केदार डगौरा (बर्ष २४) सँग झगडा भयो। दुईजनाबीचको हातपातमा केदारले लगाएको सुनको लकेट बारीमा हराएपछि दुई टोलका गाउँलेबीच चर्किएको बिवाद मिलाउन ‘पञ्चायत’ नै राख्नु प¥यो।

थारुवान÷थरुहट संघर्ष समितिले हरेक गाउँका भलमानस (थारु समुदायमा न्याय सम्पादन गर्ने हैसियत भएको ब्यक्ति) लाई ‘एक घर एक व्यक्ति’ आन्दोलनमा सरिक हुन उर्दी जारी गर्न लगाएको थियो। ७ भदौमा स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको टीकापुर बजारमा गई सरकारी कार्यालयहरुमा ‘थारुवान–थरुहट स्वायत्त राज्य’ लेख्ने घोषित योजना थियो। त्यस बमोजिम स्थानीय भलमानस चन्द्रलाल डगौराले पनि गाउँबासीलाई ‘आन्दोलनमा जाने’ निर्णय सुनाएका थिए। तर, गाउँमै बिवाद चर्किएपछि अधिकांश गाउँले पञ्चायतमै व्यस्त थिए।

‘बिवाद चर्किएपछि २ दिन (७ र ८ भदौ) सम्म गाउँमै पन्चायत राख्नुपर्यो। जागा सहित खैराहा उत्तरटोलका ७० घर किसान दुई दिनसम्म त्यहिँ थियौं’, चन्द्रलाल भन्छन्, ‘जागालाई प्रहरीले आन्दोलनमा गएको र हत्यामा संलग्न भएको आरोप लगाएर पक्राउ गरेपछि म आफु स्वंय बयान दिन गएँ।’

चन्द्रलाल मात्र होईन खैराहा गाउँका इन्द्रकुमार मल्लाह, मुस्ताक अलि र रइस अलि जागा पनि नुरल अली जागाको पक्षमा बयान दिन जिल्ला अदालत धनगढी पुगेका थिए।

प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजनपछि कैलाली जिल्ला अदालतले जागालाई पुर्पक्षका लागि जेल पठायो। हत्या सहित तीनवटा संगिन अपराधको अभियोगमा जागाले ३ बर्ष ६ महिना जेलमा बिताए। जिल्ला अदालत धनगढीले २२ फागुण २०७५ मा बिसराम र रामनरेशसँगै जागालाई पनि निर्दाेष ठहर ग¥यो।

मनलाग्दी बयान
टीकापुर घटनाको झण्डै तीन बर्षपछि हामीले यसमा पिसिएका निर्दोषहरु बारे खोतल्यौं। टीकापुर काण्डमा थुनिएका, जेलबाट छुटेका, तिनका परिवार र फरार सूचीमा रहेका केहि व्यक्ति र कैलालीका स्थानीयलाई भेट्यौं। टीकापुर घटनामा भएको प्रहरी अनुसन्धान, सरकारी वकिलको अभियोजन र न्यायालयको फैसला अध्ययन ग¥यौं। न्यायिक प्रणालीभित्र अवलम्बन गरिने कानुन र प्रमाण केलायौं।

त्यसले के देखायो भने नेपालको फौज्दारी न्याय प्रणाली भित्र निर्दोष व्यक्ति सजिलै जेल पुग्न सक्छन र उनीहरुलाई जानाजान जेल पठाउने काम हुन्छ।

अध्ययनबाट के देखिन्छ भने प्रहरीलाई कसैलाई अभियोग लगाउन पाएपुग्छ– त्यसको पुष्टि गर्ने प्रमाण जोहो गर्नुपर्दैन। पक्राउ गरिएका व्यक्तिलाई जबरजस्ती मनलाग्दी बयान कागजमा हस्ताक्षर गराइन्छ। २१ भदौ २०७२ मा शिक्षक रामनरेशले प्रहरी अधिकारी समक्ष दिएको भनिएको हस्ताक्षर सहितको बयान यसको एउटा उदाहरण हो।

‘एउटा घरमा लुकेर बसेका सेती अञ्चल प्रहरी कार्यालयका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेलाई घरबाट निकालेर र अन्य प्रहरीहरुलाई लखेटी लखेटी मारेको’ भन्ने रामनरेशको बयानमा उल्लेख छ।

बयानको अर्को अशं यस्तो छ, ‘छिमेकीको घरमा लुकेर बसेका प्रहरी बरिष्ठ उपरिक्षकलाई बाहिर निकाली खुँडा प्रयोग गरेको र अन्य प्रहरी कर्मचारीहरु समेतलाई लखेटी आफुहरुसँग भएका हतियार प्रयोग गरी मारेका हौं।’

सो बयानमा आफुसहित ११ जनाको समूहले प्रहरीमाथि साँघातिक हमला गरेको रामनरेशले बताएको प्रहरी कागजातमा उल्लेख छ। आक्रमणमा सिताराम चौधरी, फिरुलाल चौधरी, विश्राम चौधरी, फुलराम चौधरी, बालकृष्ण चौधरी, शिवकुमार चौधरी, चमन चौधरी, श्रवण चौधरी, करन चौधरी, प्रदीप चौधरी र हरिनारायण चौधरी संलग्न रहेको भन्ने भनाइलाई अभियोगमा किटानीका साथ भनिएको छ।

उनले किटानी गरेको समेतका आधारमा आरोपित मध्ये नाबालक करन चौधरी (बर्ष १४) लाई जिल्ला अदालत कैलालीले ६ महिना सजाय तोक्यो भने अर्का नाबालक श्रवण चौधरी (बर्ष १६) लाई हत्यामा संलग्न रहेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ। तर, श्रवण नाबालक भएकोले उनलाई बा(लबालिका सम्बन्धि ऐन, २०४८ को दफा ११ (३) बमोजिम आधा अर्थात दश बर्षको सजाय तोकिएको छ।

रामनरेशको बयानसमेतका आधारमा अदालतले हरिनारायण र प्रदीप चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ। बिश्राम चौधरीलाई दफा १७ (३) बमोजिम ३ बर्ष ६ महिना सजाय दिइएको छ। बाँकीलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको छ।

‘यी कुनै मान्छेलाई म चिन्दिनँ’, रामनरेश भन्छन्, ‘कारागारमा पुगेर मात्रै देखेको हुँ।’

प्रहरीले कसरी यस्तो बयान बनायो?

रामनरेश भन्छन, ‘त्यसदिन जिप्रकामा मैले दिएको बयान एकजना प्रहरी अधिकृतले सारिरहेका थिए। उनले मलाई त्यसमा हस्ताक्षर गर्न भने। मैले सही गर्नुअघि एकचोटी पढ्न पाए हुन्थ्यो भनें। मैले त्यति के भन्न भ्याएको थिएँ, उनले अगाडि रहेको प्लाष्टिकको कुर्सी मेरो टाउकोमा बजारे।’

२१ भदौ २०७२ को त्यो दिन सम्झँदै रामनरेश भन्छन्, ‘गर्नेबेला के के गर्छस्, अहिले आएर हेर्न माग्ने भनेर पिट्दै आफुले लेखेको बयानमा हस्ताक्षर गरायो।’

रामनरेशको बयानमा जसरी अपरिचित श्रवण चौधरी र अर्का तन्नेरी प्रदीप चौधरी (बर्ष १८) सँग मिलेर ‘प्रहरीमाथि साँघातिक हमला गरेको’ बयान बनाइएको छ। त्यसैगरि श्रवण र प्रदीपको बयानमा अदालतबाट सफाई पाएका अर्का अभियुक्त ‘बिसराम हामीसँगै घटनामा संलग्न थिए’ भन्ने बयान तयार पारिएकोछ।

‘म एक्लो मान्छे आफ्नो केराबारी छाडी अन्त जान फुर्सद पनि हुँदैन। घटनाको सम्बन्धमा सोही दिन साँझ टेलिभिजनमा समाचार सुनेर थाहा पाएको हुँ’, अदालतमा दिएको बयानमा बिसराम भन्छन, ‘श्रवण चौधरी र प्रदीप चौधरीले मेरो समेत संलग्नता रहेको भनेर किन बयान दिए थाहा भएन। निजहरुलाई म चिन्दिनँ।’

सुरक्षाकर्मी र एक नाबालक मारिएकोे घटनामा प्रमुख साक्षी बनाइएका चिलमचौराहा नजिक रहेको मोति माध्यमिक विद्यालयमा पढ्ने कक्षा ७ का विद्यार्थी करन चौधरीलाई प्रहरीले चरम दुरुपयोग गरेको देखिन्छ। समातिएका मान्छेलाई ‘घटनामा प्रत्यक्ष संलग्न थिए’ भन्ने पुष्टि गर्न उनलाई प्रयोग गरेको देखिन्छ।

यसले प्रहरीको अनुसन्धान पद्धतिमाथि नै प्रश्न उठाएको छ। ‘रमिता हेर्न गएको’ बच्चालाई प्रहरीले तयार गरेको अभियुक्तहरुको लामो सूची घोक्न लगाइएको र तिनको पहिचान गर्न लगाएको खुलेको छ। (हेर्नुहोस ३२ जनाको नाम घोक्न लगाए तल)।

टीकापुर घटनापछि ५८ जनाको सूची बनाएर प्रहरीले अनुसन्धान शुरु गरेको देखिन्छ। जसमा उसले २७ जनालाई पक्राउ गर्न सफल भयो भने ३१ जनालाई फरार सूचीमा राखेको छ। यहि मुद्धामा अहिले सांसद रेशम चौधरी सहित ११ जना आजन्म काराबासको सजाय भोगिरहेका छन्।

बिचल्लीमा परिवार
बिसराम, रामनरेश र जागालाई ३ बर्षपछि जिल्ला अदालत कैलालीले निर्दाेष ठहर त ग¥यो तर यतिञ्जेलमा उनीहरुको जीवनमा नहुनु पर्ने धेरैथोक भइसकेको थियो।

जेलबाट छुटेर बिसराम घर पुग्दा उनलाई श्रीमती, ६ बर्षीय छोरी अनि आफन्तले स्वागत गरे। उनी पक्राउ पर्दा घरमा ३ बर्षीय छोरी र श्रीमती मात्रै थिए। दम्पतिको जोडबलले २० बिघा जमिनमा लगाइएका नर्सरी, नगदेबाली र दुखसुख चलाएको एग्रोभेट पसल लथालिङ्ग भएको थियो।

श्रीमतीले भोग्नु हैरान भोगिन। एग्रोभेट पसलमा दिनभर बस्नुपर्दा खेतमा लगाइएका केरा चोरी हुनथाले। नर्सरीका बोट बिरुवा कसैले उखेलेर लगे, कति त काटेर बिगारी दिए। एक्ली महिलाले चारैतिर भ्याउन सम्भव भएन। ३ बर्षपछि बिसराम घर फर्कंदा उनको आर्थिक अवस्था तहसनहस भैसकेको थियो।

बिसराम जेलमा छँदै मुलुकमा तीन तहको निर्वाचन भयो। बिसरामको गाउँ नारायणपुर–६ बाट नगरपालिकामा उक्लियो। तर बिसरामको प्रगतिको ग्राफ भने भुईंमा थेचारिएको थियो। ऋण लिएर गरिएको व्यवसाय टाट पल्टियो।

‘४७ लाख रुपैयाँ त ऋण नै छ। कृषी बिकास बैंकको ब्याज मात्रै १५ लाख रुपैयाँ पुगेको छ’, लामो स्वास तान्दै बिसराम भन्छन्, ‘इण्डिया र नेपालका साहूबाट ल्याएको सामानको तिर्न बाँकी पैसाको त हिसाब नै छैन।’

तीन बर्ष अघिसम्म समयभित्रै किस्ता तिर्दै आइरहेकोले बिसराम कृषी बिकास बैंकको असल क्रणीमा गनि न्थे। बैंकले असल क्रणीलाई दिने ‘ग्रीन कार्ड होल्डर’ पनि थिए उनी। अहिले त्यहि बैंकले ‘जग्गा लिलाम गर्ने’ पत्र काटेको छ।

दुई दुई वटा विद्यालयमा पढाउँदै ५ जनाको परिवार पालिरहेका शिक्षक रामनरेश तीन बर्ष जेल बस्नु परेपछि पारिवारिक अवस्था डामाडोल भयो। बस्ने सानो झुपडी त थियो तर, उनी जेल गएपछि गर्जाे टार्ने एक बिघा जमिन जोत्ने कोहि भएन। श्रीमती, एक छोरा, बाबा र बाजे सहितको परिवार पाल्ने उनी थुनामा पुगेपछि श्रीमतीले बाटो बनाउने, ढुंगा बोक्ने र खेती मजदुरी गरेर आठ बर्षको छोरा, नब्बे बर्षका बुढा ससुरा र ५५ बर्षीय ससुराको पालनपोषण गर्नुप¥यो। नराम्रो कुरा बच्चाको पढाइ बिग्रियो।

३ बर्ष ६ महिना ८ दिनपछि निर्दोष ठहर भएर घर फर्किएका शिक्षक चौधरी श्रीमती र बालबच्चाको अवस्था देख्दा रुनमात्र सकेनन्। भर्खरै मात्र उनले बर्दिया राजापुर बुधियानाको नेपाल राष्ट्रिय माविमा करारमा नियुक्ति पाएका छन्।

‘डामाडोल भएको आर्थिक अवस्था त केही बर्षमा उकासिएला’, चौधरीले भने, ‘तर राज्यले निधारमा लगाइदिएको हत्याराको ट्याग मेटिन चाहिँ कति बर्ष लाग्ने हो।’

बिसराम र रामनरेश भन्दा कमजोर आर्थिक अवस्था भएका नुरुल अलि जागा जेल परेपछि उनको परिवारको झन् बिजोग भयो। ५ भाइको संयुक्त परिवारमा बसिरहेकाले श्रीमती र ३ वटा बच्चाको पालनपोषणमा दाजुभाइका परिवारले सहयोग गरे। तर, पैसाको अभावमा उनको बच्चाले पढ्न पाएनन्।

‘म जेल परेपछि श्रीमतीले बच्चा पढाउन सकिनन्। उसले स्कुल छोड्यो। दाजुहरुले जसोतसो खानबस्न त दिए’, जागा भन्छन, ‘ढिलै भएपनि अदालतले न्याय दियो। अब सरकारबाट क्षतिपूर्ति पाए बच्चा पढाउन हुन्थ्यो।’

१७ (३) को गलपासो
टीकापुर काण्डमा प्रहरीले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरीको संगीन अभियोगमा पक्राउ गरेका २७ जना मध्ये १३ जनालाई जिल्ला अदालत कैलालीले दफा १७ (३) अनुसार सजाय सुनाएको छ। उनीहरु अहिले रिहा भएका छन्। साबिकको मुलुकी ऐनको ज्यान सम्बन्धि महलको दफा १७ (३) मा ‘अपराध भएको देखि केही नगरी हेरी रहेको’ लाई ६ महिनादेखि बढिमा ३ बर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।

नाबालक करन चौधरी बाहेक अरु १२ जना अभियुक्त कोही पनि वास्तविक ‘रमिते’ थिएनन्। प्रहरी अनुसन्धानले पनि यसको पुष्टि गर्न सकेको छैन। टीकापुरमा प्रहरी र आन्दोलनकारीबीच झडप भैरहेको समयमा थरुहट–थारुवान संघर्ष समितिका कैलाली संयोजक लाहुराम चौधरी (बर्ष ५८) घटनास्थल भन्दा सय किलोमिटर पश्चिम जिप्रका (धनगढी) अगाडि भाषण गरिरहेका थिए। प्रहरी प्रशासनलाई यसबारे थाहा छ। तर पनि उनी यहि दफा अन्र्तगत ३ बर्ष ६ महिना जेल परे।

अर्का आरोपी थरुहट आन्दोलनका नेता लक्ष्मण चौधरी घटनाको दिन लमही, कोहलपुर हुँदै गुलरिया पुगेको उनको ‘कल डिटेल्स’ बाट देखिन्छ। गुलरिया टीकापुरबाट ६५ किलोमिटर पूर्वमा पर्छ। तर अदालतमा उपस्थित साक्षी मार्फत उनलाई पनि घटनास्थलमै देखाइएको छ। उनले मृतक प्रहरीमाथि साँघातिक हमला गरेको बयान बनाइएको छ।

बास्तविकता चाहिँ के थियो भने– लक्ष्मण चौधरीलाई उनले लेखेको ‘आक्रोशपूर्ण फेसबुकको स्टाटस’ का कारण मुद्धा चलाइएको थियो।

टीकापुरबाट करिब २५ किलोमीटर दक्षिण पश्चिममा रहेको भजनी बजारमा मेडिकल पसल चलाइरहेका प्रेमबहादुर चौधरी (स्थानीयले उनलाई डाक्टर भन्छन्) लाई ‘सुरक्षाकर्मी मारिएको खुशीयालीमा मासु काटेर खाएको’ भनेर पक्राउ गरिएको थियो। भएको के थियो भने, प्रेमबहादुरको घरमा पालेको बाख्रा बिरामी भएपछि गाउँमा मिलेर काटेर खाएका थिए। तर प्रहरीले टीकापुर घटनामा प्रहरी मारिएको खुशीमा खसी काटेर खाएको भनेर पक्राउ गरेको थियो।

७ भदौमा प्रेमबहादुरको क्लिनिकमा आफनो छोरा गोकर्णलाई उपचार गराउन आएकी स्थानीय बतसिया डगौंरा भन्छिन्, ‘त्यसदिन बिहानदेखि बेलुकीसम्म डाक्टर यहिँ थिए।’

प्रहरी हिरासतमा पाएको यातनाले प्रेमबहादुरको कानको जाली फुटेको छ।

थारु आन्दोलनले विद्यालय बन्द भएकोले घटनाका दिन तत्कालिन थापापुर हाल खैराहा स्थित त्रिपुरासुन्दरी निमाविका शिक्षक सन्तराम आफ्नो पसलमै थिए। स्थानीय गणेशबाबा सेकेण्डरी स्कुल टीकापुरमा कक्षा ६ मा आवासीय शिक्षा लिइरहेका छोरा प्रभात चौधरीले फोन गरेर ‘स्कुल बन्द भएकोले लिन आउन’ भनेपछि सन्तरामले साथी किसनलालसँग बाइक मागे। पन्चर बाइक बनाएर टीकापुर जान हिंडेका उनी मानिसको हुल देखेपछि बीच बाटोबाटै फर्किए।

‘त्यसपछि दिनभर उनी पसलमै थिए। म यहिँ छु’, खैराहाकै हरिराम आचार्य (बर्ष ५०) भन्छन्, ‘नभएको आरोपमा फसाएपछि म आफै धनगढी पुगेर यथार्थ बताइदिएको थिएँ। तर मेरो कुरा सुनिएन।’

‘नगरेको दोष हाम्रो टाउकोमा थोपरियो। अहिलेपनि घरमै नजरबन्द जस्तो जीवन बिताउनु परिरहेकोछ’, थरुहट आन्दोलनताका कार्यक्रमहरुमा उद्घोषकको भूमिका निभाएकोले आफुलाई समातिएको हुनसक्ने ठानिरहेका सन्तराम जस्तै दफा १७(३) लागेका बिश्राम चौधरी भन्छन्, ‘नत्र घटनास्थलदेखि १० किलोमीटर उत्तर दुर्गौलीमा रहेको मलाई किन समात्थे होलान् ?’

अनुसन्धानमा हदैसम्म लापर्वाही गरिएको थियो भन्ने एउटा उदाहरण हो बिद्रोह भन्ने सिताराम चौधरीको कथा। कैलाली थापापुर–७ नवलपुरका फुलराम डगौराका ३५ बर्षीय छोरा सिताराम नभएर सन्तकुमार चौधरी हुन्। प्रहरीको रेकर्डमा टीकापुर घटनाको आरोपी यी व्यक्ति फरार सूचीमा रहेका अभियुक्त हुन्।

आश्चर्यलाग्दो तथ्य के भने माओवादीका पूर्व लडाका यी तिनै ‘फरार’ व्यक्ति हुन्, जो सिताराम चौधरीको नाममा अहिले आजन्म काराबासको सजाय भोगिरहेका छन्। दुईवटा नामको एउटै पात्रमाथि प्रहरीले फरक फरक मुद्दा चलाएको देखिन्छ।

‘३२ को नाम घोक्न लगाए’
टीकापुर घटनामा प्रमुख साक्षीका रुपमा प्रयोग गरिएका व्यक्ति हुन नाबालक करन चौधरी। ट्युशन पढेर साथीहरुसँग टीकापुर गएका १४ बर्षीय करनकै अगाडि गोली चल्यो। गोली चलेपछि भागाभाग भयो। भागमभागमा साथीहरु आन्दोलनकारीहरुको भीडमा हराए। करन चाहिँ सडक किनारामा उभिएर रमिता हेर्न थाले। पहिला पुलिसले लखेट्यो। त्यसपछि पुलिसलाई आन्दोलनकारीले लखेटे। तिनले प्रहरीमाथि घरेलु हतियारले आक्रमण गरे।

यो विभत्स घट्नाका रमिते करनलाई ‘प्रहरी मारेको र हतियार लुटेको’ अभियोगमा सादा पोशाकमा आएका प्रहरीले घरबाटै पक्राउ गरे। उनलाई जिप्रका धनगढी लगेर ३२ जनाको नामलिस्ट घोक्न लगाइयो। ती सबै टीकापुर घट्नामा समातिएका र फरार सूचीमा रहेका आरोपीहरु थिए।

‘मलाई लिस्ट देखाएर चिन्छस् भने। मैले चिनेको थिएनँ, नाइँ भनें’, तीन बर्ष पुरानो घटना सम्झँदै २१ चैत २०७५ मा करनले भने, ‘मलाई २ दिनमा जसरी पनि घोक भनेर दिए।’ अदालतमा लिस्टमा भएका ती मान्छेले प्रहरीलाई लखेटीलखेटी मारेको भन्नु भने। मैले त्यहि भनिदिएँ।’

करनले अदालतमा दिएको बयानबाट पनि यो पुष्टि हुन्छ। ‘प्रतिवादी प्रदिप चौधरीले प्रहरीको हातबाट हतियार खोसी श्रवण चौधरीलाई दिएको र श्रवणले हतियार लगेर गएको देखेको हुँ। प्रतिवादी राजाराम चौधरीले वारदातमा प्रहरीलाई मार्दाको अवस्थामा मोबाइलमा रेकर्ड गरेको देखेको हुँ।’

त्यसैगरी उनको बयानमा भनिएको छ, ‘प्रहरीलाई मारे पश्चात मलाई रेशमलाल चौधरी र नाम थाहा नभएका व्यक्तिहरुले काँधमा राख्दै बधाई छ भाइ भनेका थिए।’

अहिले १७ बर्ष पुगेका करन भन्छन, ‘मैले कसैलाई चिनेको थिइनँ। त्यसबेला समातिएका सबैलाई जिल्ला प्रहरी कार्यालयको एउटा हलमा ल्याएर मान्छे देखाउँदै लिस्टमा भएको नाम याद गर्न लगाउँथ्यो। मैले अदालतमा त्यहि बयान दिएँ।’

कैलाली जिल्ला अदालतको आदेश बमोजिम नाबालक रहेकाले करनलाई बालसुधार गृह सराङ्कोट पोखरा पठाइयो। असुरक्षित ठानेर करनका परिवार अहिले कैलालीबाट अज्ञात स्थलमा बसिरहेको छ।

(खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार गरिएको यो रिपोर्ट पहिलो पटक हिमाल खबरपत्रिकाको आइतबारको अंकमा प्रकाशित भएको छ)




Leave a Reply

Your email address will not be published. Required fields are marked *