‘नाटक घर’ बनाउने अभियानमा सैडान टिम

थारु समुदायको एउटा प्रचलित लोककथा हो हिट्वा । हिट्वा लोककथामा हिट्वा एक पात्र हुन्छन् । जसको प्रेम राजकुमारीसँग हुन्छ । एकदमै सोझो र इमान्दार हिट्वाको राजकुमारी हस्तक्वारीसँग प्रेम बस्छ । त्यही प्रेम सम्बन्धको उतार चढावलाई हिट्वा नाटकमा प्रस्तुत गरिएको छ । यो नाटक थारु समाजको प्रतिविम्बको रुपमा चित्रण गरिएको लेखक सुशील चौधरीले बताए ।

यो नाटक गाउँघरमा प्रचलित लोककथा हो । तर पछिल्लो पुस्ताका युवाहरु यस लोककथाबाट अनभिज्ञ छन् । अहिलेको पुस्तालाई सन्देश दिन पनि यो नाटक मञ्चनको लागि तयार पारिएको लेखक चौधरीले बताए । नाटक झकेन बिसीले निर्देशन गरेका हुन् । नाटक मञ्चनका लागि तयार पार्न रातदिन मेहनत गरेका छन्, शिवानी चौधरीको टिमले । बर्दियाको राजापुरमा सैडान नाटक घर बनाउने उद्देश्यसहित रंगकर्ममा लागेका उनले १६ जनाको टिम तयार गरी यो नाटक तयार पारेकी हुन् ।

सैडान नाटक घरले राजापुर र गेरुवा गाउँपालिकाको जनकनगरमा यो नाटक मञ्चन गरिसकेको छ । दुवै ठाउँबाट नाटकबारे राम्रो प्रतिक्रिया पाएको शिवानीले बताइन् । यो नाटक काठमाडौंमा केही महिनापछि ल्याउने तयारी भइरहेको उनले बताइन् ।

नाटकमा शिवानी चौधरी, चन्द्रप्रसाद चौधरी, निरज चौधरी, रमेशकुमार चौधरी, पारु थारु, उषा चौधरी, हीरा थारु, दीपक सिंह थारु, विमल थारु, हीरामोती चौधरी, मुस्कान थारु, संगीता चौधरी र रुपक चौधरीको अभिनय हेर्न सकिन्छ ।

शिवानी नाटकमा राजकुमारीको भूमिका देखिन्छन् । उनले थारु समुदाय कला, संस्कृतिमा धनी भए पनि त्यसलाई प्रवद्र्धन गर्न नसकेको बताइन् । यो नाटकले थारु समुदायको कला र पहिचानलाई स्थापित गर्न सघाउने उनको बुझाइ छ । ‘हामीले नेपाली भाषाका नाटकहरु मात्र मञ्चन भएको पाउँछौं । थारु समुदाय कलामा धेरै धनी छ, तर आफ्नो कलालाई बाहिर ल्याउन सकेको छैन । यस नाटकमार्फत् थारु कलाको प्रस्फुटन हुने विश्वास लिएका छौं,’ उनले भनिन् ।

उनले थारु समुदायमा नाटकलाई मनोरञ्जनको रुपमा मात्र हेर्ने चलन भएको बताइन् । यसलाई रमाइलोको लागि मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पु¥याउनसके सामाजिक, सँस्कृतिकरुपले थारुहरु कति धनी छन् विश्वमा चिनाउनसकिने शिवानीको बुझाइ छ ।

उनी प्रत्येक समुदायमा, प्रत्येक गाउँमा रंगमञ्च हुनुपर्ने बताइन् । सैडान नाटक घर बनाउन अभियानसमेत चलाइरहेकी शिवानीले भनिन्, ‘कला, संस्कृति भरिपूर्ण त गाउँ हो । तर यहाँ रंगमञ्चको अभाव छ । त्यसैले गाउँगाउँमा रंगमञ्च हुनुपर्छ । नाटक घर भएपछि अहिलेको पुस्तालाई पनि नाटकप्रति आकर्षित गर्न सकिन्छ ।’
त्यसका लागि सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनले बताइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *