थारू साहित्यको बिस्तारमा कैलालीको योगदान
कृष्णराज सर्वहारी– बिषयप्रवेशः कैलाली जिल्ला थारू समुदायको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला हो। २०६८ सालको जनगणना अनुसार थारूहरूको कुल जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको छ। जसमध्ये कैलाली तथा कञ्चनपुरमा थारूहरूको जनसंख्या ४ लाख ३९ हजार २ सय ६७ अर्थात् एक चौथाई बढी छ। कैलालीमा सामूहिक तवरले थारू साहित्यलाई टेवा दिने क्रमको शुरुवात भएको छ तर योसंगै जोडिएको जिल्ला कञ्चनपुरमा थारू साहित्यिक गतिविधी शुन्य बराबर छ। यस अवधारणा पत्रमा थारू पुस्तक तथा थारू पत्रिका प्रकाशनको सूची केलाउँदै थारू साहित्यको बिस्तारमा कैलालीको योगदानबारे चर्चा गरिएको छ।
कैलालीबाट प्रकाशित थारू पत्रपत्रिका
यहाँबाट प्रकाशित हुँदै गरेको थारू भाषाको पहुरा एक मात्र थारू दैनिक पत्रिका हो। यसले शनिबासरीय अंकमार्फत् थारू साहित्यलाई टेवा दिएको छ। २०२८ सालमा थारू भाषाको पहिलो पत्रिका गोचाली प्रकाशन भए पनि कैलालीबाट २०४६ सालमा मात्र थारू पत्रिका प्रकाशित भएको देखिन्छ। थारू विद्यार्थी परिवार, कैलाली क्याम्पसले २०४६ सालमै टेम्ह्री पत्रिका प्रकाशन गरी त्यहाँबाट थारू साहित्यिक पत्रिकाको शुरुवात गरेका थिए। २०४८ सालमै थारू विद्यार्थी परिवार, टीकापुर कैलालीका बिद्यार्थीहरूले जोगनी (पुतली) पत्रिका प्रकाशन गरे। तर यी दुवै पत्रिकाको अर्को अङ्क निस्किन सकेन। थारू युवा जागृति परिवार कैलालीको गोम्हनिया पत्रिका २०४९ सालमा प्रकाशन गर्यो । गोबरैला कैलालीका अजय करिया मंघरियाको सम्पादनमा जम्मा तीन अङ्क प्रकाशित भई स्थगित रहेको गोम्हनिया पुनः प्रकाशन हुन सकेन।
थारू पत्रकारितालाई व्यावसायिक ढङ्गले अघि बढाउने अगुवा हुन् जोखन राम चौधरी। कैलाली, रानामुडाका यी युवा जोखन रत्गैंयाका नामले परिचित थिए। कैलालीमा गोचाली परिवार गठन गरी प्रगतिशील साहित्य पत्रकारितालाई मलजल दिने काममा यिनको भूमिका महत्वपूर्ण छ। २०४९ सालमा गोचाली परिवार कैलालीको मुखपत्रको रूपमा मुक्तिक डगर (मुक्तिको बाटो) बार्षिक पत्रिका जोखन रत्गैंयाको सम्पादनमा निस्कियो। मुक्तिक डगरको पहिलो अङ्कको प्रकाशनमा यी उद्देश्य समेटिएको छ–
–थारू भाषा र संस्कृतिको रक्षा गदर्ैै अघि बढ्ने।
– थारू समाजमा बिद्यमान शोषण, उत्पीडन जस्ता अन्याय अत्याचारको बिरोध गर्ने।
– समाजमा निहित कुरिती, अन्धबिश्वास, रुढीबादी जस्ता पुरानो चालचलन हटाउन जोड दिने।
– शोषित पीडित अन्य जातिसँग पनि समन्वय गरेर सहयोग आदान प्रदान गर्ने।
– थारू जातिको सभ्यताको खोजबीन गर्ने।
– प्रगतिशील साहित्यको माध्यमबाट शैक्षिक क्षेत्रमा जागरण ल्याउने।
– छरिएर रहेका थारूहरूलाई सङ्गठित गराउँदै सामाजिक चेतनाको बिकास गराउने।
– थारू जातिमा जनतान्त्रिक भावनाको विकास गर्ने।
– अश्लील साहित्यलाई पाखा लगाई प्रगतिशील साहित्यलाई अघि बढाउने (मुक्तिक डगर २०४९ः पृ. उल्लेख छ्रैन)।
मुक्तिक डगरको सहप्रकाशन थारू मुक्ति साप्ताहिक पनि सोही उद्धेश्य अनुरूप ४७ अङ्कसम्म प्रकाशित भएको देखिन्छ। समाचारमूलक पत्रिका भए पनि यसमा प्रगतिशील कथा, कविताले धेरै स्थान पाए। आफ्नो उद्देश्य अनुरूप पत्रिकाले अझ लामो आयु पाउँथ्यो होला तर गोचाली परिवार कैलालीसँग आबद्ध अधिकांश सदस्य तथा थारू मुक्ति साप्ताहिकका सम्पादक जोखन रत्गैंया नेकपा माओबादीको पार्टी अभियानमा संलग्न भएपछि यसको प्रकाशन स्थगित भयो। सुरक्षा कारबाहीमा जोखन रत्गैंयाको हत्या भएको बताईन्छ।
गोचाली परिवार तथा मुक्तिक डगर र थारू मुक्ति साप्ताहिक सम्बद्ध सदस्यहरूलाई २०५८ मंसीर ८ को संकटकालपछि खोजी खोजी पक्राउ गरियो। अन्य पत्रिकासँग सम्बद्ध सदस्यहरूलाई पनि यस कारबाहीले निकै तर्सायो। थारू पत्रिका एकप्रति भेटिए पनि प्रशासनले पक्राउ गर्न थाले पछि धेरैले आफ्नो बर्षौदेखि सङ्कलित पत्रिका जलाउनु पर्योप। यस कारबाहीले सिङ्गो थारू साहित्यिक पत्रकारितालाई पनि उठलपुथल पार्यो्। पत्रिका प्रकाशनमा जुन उभार आर्इं रहेको थियो त्यो स्यापसुप्पै सुक्यो।
थारू कल्याणकारिणी जिल्ला समिति, कैलालीले २०५३ (पुस) मा अँखुवा चौमासिक प्रकाशित गर्योा। त्यस्तै, २०५३ (माघ) जगत रत्गैंयाको सम्पादनमा एकता थारू परिवार, पञ्चोदय माध्यमिक बिद्यालय, कैलालीले ट्रासन, २०५४ (माघ) मा रामदिन चौधरी तथा साथीहरूको सम्पादनमा थारू बिद्यार्थी एकता परिवार, धनगढी माध्यमिक बिद्यालय, कैलाली दिया पत्रिका तथा २०५७ मा टीकापुर, कैलाली चित्र बहादुर चौधरीको सम्पादनमा सैचिन मासिक प्रकाशित गरेको देखिन्छ। बाँढुराम थारूले धनगढी, कैलालीबाट थारू साप्ताहिक (२०५७) तथा अव्यवस्थित बस्ती समाधान समाज, कैलालीले संगम चौधरीको सम्पादनमा निसराउ साप्ताहिक (२०५९) केही अंक मात्र सम्पादन गरे। दिलबहादुर चौधरीलगायतको समुहले (२०५९ चैत) धनगढीबाट पहुरा साप्ताहिक शुरु गरेपछि यसले पछि अर्द्धसाप्ताहिक, दैनिक रुपमा प्रकाशन गर्दै थारू साहित्यलाई पनि टेवा दिएको छ।
कैलालीकै सुरेन्द्र कठरियाको सम्पादनमा रहीबार अर्द्धबार्षिक (२०६०) राजकुमार कठरियाको सम्पादनमा रोशनी (२०६०) धनगढी कैलालीका श्यामलाल राना/नारदमुनि रानाको सम्पादनमा राम राम (२०६०) पत्रिका प्रकाशित गरेको देखिन्छ। गैरथारूको सम्पादनमा पनि थारू पत्रिका प्रकाशन भएको देखिन्छ, जो स्वागतयोग्य कुरा हो। युवा जागरण समाज बनगाउँ, कैलालीले हेमराज खड्काको सम्पादनमा दिया त्रैमासिक प्रकाशित गरेको छ। जनआन्दोलन २०६२/६३ को राप र तापले होला, सखिया साहित्य उत्थान समूह, कैलालीले कृपाराम चौधरी अँङना त्रैमासिक (२०६२), कैलालीबाटै अश्रा (२०६२) थारू विद्यार्थी समाज कैलालीले बसन्त चौधरीको सम्पादनमा कल्गी सन्देश (२०६३), थारू विद्यार्थी समाज, टीकापुर बहुमुखी क्याम्पस ईकाई कैलाली टीकापुर कैलालीले निरज चौधरीको सम्पादनमा डगर (२०६३), मुकेश टेंर्रा/अविनाश दहितको सम्पादनमा जलमौती त्रैमासिक (२०६५ साउन–पुस) नेपाल राना थारू समाज, कैलालीले जगदीश रानाको सम्पादनमा लखबारी (२०६६) प्रकाशित गरेको देखिन्छ। पछिल्लो पटक उघरार थारू साहित्य प्रतिष्ठान, कैलालीले संयुक्त प्रकाशनको कुरालाई जोड दिदैं प्रकाश चौधरी उघरार अर्द्धबार्षिक (२०६९) प्रकाशन गरेको छ।
कैलालीबाट थारू पत्रिका प्रकाशित हुने क्रम जारी छ। तर जति पनि पत्रिका प्रकाशित भइरहेका छन्, ब्यवस्थित ढङ्गले नभई केवल एक दुई अङ्क मात्रै शौखको रूपमा प्रकाशन गर्नेहरूको लर्काे देखिन्छ। पछिल्लो कालका जलमौती, राम राम, लखबारी जस्ता पत्रिका पनि स्थगित भइसकेका छन्।
उँकुवार–भेटको प्रकाशन कोशेढुंगा
थारू भाषामा वार्षिक रुपमा समेत पत्रिका प्रकाशन कार्य अनियमित भइरहेको बेला धनगढीबाट जिल्ला प्रशासन कार्यलयमा दर्ता गरी विशुद्ध साहित्यिक मासिक पत्रिका उँकुवार–भेट प्रकाशन गर्ने कार्यको थालनी भएको थियो। २०५९ चैत्रदेखि कैलालीबाट पहुरा साप्ताहिक प्रकाशन भएपछि शनिबार साहित्य विशेषांक प्रकाशन गर्थ्यो। त्यसले साहित्यिक खुराक यथेष्ट मात्रामा समेट्न नसकेपछि यो पत्रिकाको आवश्यकता महशुश भएको थियो। २०६१ भदौमा पहिलो अंक प्रकाशित यसको प्रकाशन उँकुवार–भेट व्यवस्थापन समितिको नामबाट भएको थियो।
उँकुवार–भेटले धार्मिक, चलचित्र, कहकुट सम्बन्धी स्तम्भदेखि स्रष्टालाई कविता लेख्न सिकाउने पुछो लड्को आपन बात जोन्हु मामासे जस्ता राम्रा स्तम्भको शुरुवात गरेको थियो। यसमा स्रष्टाले सोधेको जवाफ कविता शैलीमा दिइएको छ। तर यो २०६२ असोजसम्म जम्मा ७ अंक प्रकाशन भएर स्थागित भयो। त्यसपछि यसले गति लिन सकेन। यद्यपी उँकुवार–भेटले वर्षमा मात्रै झुल्किने थारू साहित्यिक पत्रिकाको परम्परागत शैलीलाई भने तोड्यो। उँकुवार–भेट हाल टीकापुरबाट साप्ताहिक रुपमा समाचारमूलक ढंगले प्रकाशित भइरहेको छ।
थारू भाषा बहसमा कैलाली
२०५१ भदौ १ बाट थारू भाषामा पश्चिमा र पूर्वीया गरी दुई भाषामा समाचार प्रसारण शुरु भएपछि मानक थारू भाषाको कुरा उप्कियो। त्यसको एक दशकपछि छापा पत्रकारितामा बल्ल यस बिषयले स्थान पायो। पूर्विया थारू भाषाको पत्रपत्रिका हाल शुन्यगतिमा रहेकोले त्यस क्षेत्रमा मानक भाषाको बिषयबस्तु उठान हुन सकेको छैन। रेडियो नेपाल सुर्खेतबाट २०५८ सालमा थारू भाषाको रेडियो कार्यक्रम ख्याल (कचहरी) प्रसारण हुन थाले पछि आफ्नो भाषा समुदायप्रति थारूहरू भाषा विवादमा उत्रिए। दंगौरा र देशौरी (बाँके, बर्दिया) दंगौरा र कैलरीया (कैलाली क्षेत्र) दंगौरा र देउखरीया (देउखुरी क्षेत्रको) भाषी बीच मनमुटाव देखियो। “ख्याल” मा दंगौरा थारू मात्रै प्राथमिकता दिइएको र लिखित रूपमा भाषा बिगारेको आरोप अन्य भाषीले लगाए।
रेडियो ख्यालमा प्रसारण भएका सामग्रीको बुलेटिन ख्याल मा दन्त्य त थ द ध को कुनै प्रयोग नगरी पुरै तालब्य ट ठ ड ढ को प्रयोग भैं समाचार प्रसारित भएको देखिन्छ। बिश्वराज पछलङ्ग्याको लेखको प्रतिबाद उँकुवार भेट मासिकका सम्पादक ओमप्रकाश गोंइजिहार लगायत अन्यले गरे। गोंइजिहार र पछलङ्ग्याबीच धेरै अङ्कसम्म पहुरा साप्ताहिकमा दोहोरी नै चल्यो। पछि बाध्य भएर सम्पादकले भाषा विवादलाई स्थान नदिने सूचना जारी गर्नु पर्योस।
पत्रपत्रिकामा लिखित भाषा विवाद आएपछि त्यसको एउटा राम्रो पक्ष के देखियो भने आफ्नो क्षेत्रको भाषाको संरक्षण सम्बर्द्धनमा त्यसै ठाउँका युवा जुुर्मुराए। जस्तो दगौरा भाषाले पेलेको अनुभूति भएपछि पत्रकारिता र भाषा साहित्यमा रुची राख्ने देसौरी समूहले देसौरी भाषामा साप्ताहिक फुलवारको प्रकाशन गर्योभ। यीबाहेक हवाई पत्रिका कथा, कविताका सङ्ग्रह प्रकाशन गीति एलबम तथा रेडियो एफएममा देसौरी समूहबाट कार्यक्रम प्रसारण हुन थाल्यो। तर कैलालीबाट कठरिया थारू भाषामा पत्रिका प्रकाशन हुन सकेको छैन।
भाषाको सवाललाई विवादको रूपमा नलिई सकारात्मक रूपमा लिन सके थारू भाषाका विभिन्न उपसमूहका धेरै गहन सामग्री लिखित रूपमा आउलान् नै, साथै नयाँ नयाँ प्रतिभाको पनि उदय हुने छ। हमार पहुरा अर्धसाप्ताहिकका सम्पादक लोकबहादुर चौधरी भर्खर व्यवसायिक रूपमा उदाइरहेको थारू पत्रिकामा भाषा विवादको प्रसङ्ग आउनु स्वाभाविक ठान्छन्। उनी भन्छन्, “तर हामीले यसलाई नकारात्मक रूपमा नलिई सकारात्मक रूपमा नै लिनु पर्छ।”
कैलाली जिल्लाका थारू साहित्यकार तथा प्रकाशित कृति
कैलाली जिल्लाबाट शायद टीकापुर कैलालीका रेशमलाल चौधरीले थारू भाषामा पहिलो पुस्तकाकार संग्रह प्रकाशन गरे। यिनको एकठो बिरहिन कथा नामक् कविता संग्रह २०५३ सालमा प्रकाशित भएको थियो। यहाँ २ भन्दा बढी पुस्तक प्रकाशन गर्ने स्रष्टाहरूबारे उल्लेख गरिन्छ।
मनिराम चौधरी
उदासीपुर–६ पृथ्वीपुर, कैलालीका मनिराम चौधरी सशक्त युवा हस्ताक्षर हुन्। उनको विधवा (उपन्यास –२०५७), हिमालके मुस्कान (कविता संग्रह २०५८), रसाइल करम (कथा संग्रह –२०५९), चम्फा फुलुवार (खण्ड काव्य– झुम्रा गीत २०६०), दुखियारी बगिया (कथासंग्रह २०६१), बापसे पुतज्ञानी फाँडाले बझाइ पानी (कविता संग्रह २०६२) तथा हर्बड्डा (निबन्ध संग्रह २०६२) प्रकाशित छ।
लक्की चौधरी
उर्मा– ४ रामपुर कैलालीका लक्की चौधरी थारू भाषामा पहुरा साप्ताहिक, अर्द्धसाप्तहिक देखि दैनिक सम्पादन, प्रकाशन गरी थारू साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्। उनको सहिदान (गजल संग्रह २०६१) तिहुवार (निबन्ध संग्रह २०६२) अन्तर्भाव (गजल संग्रह २०६३) मोर पहुरा (लेख संग्रह २०७०) प्रकाशित छ। हाल काठमाडौमा गोरखापत्र दैनिकको समाचारदाता भएपछि यिनको साहित्य लेखन कम, अखबारी लेखन बढी छ।
शर्मिला चौधरी सृष्टि
२०४२ साल कार्तिक १२ गते बसौटी–३, कैलालीमा जन्मिएकी शर्मिला चौधरी …सृष्टि’ शान्ति चौधरी (बारा) पछि थारू साहित्यमा उदाएको सशक्त महिला हस्ताक्षर हुन्। आठ कक्षा अध्ययनकै बेला कविता लेखन शुरु गरेकी उनको मनके फूला (२०६२) तथा दुःखके हल्कोरा (२०६४) उपन्यास प्रकाशित छ।
सागर कुश्मी संगत
बसौटी–७ दक्षिण टेढी कैलालीका सागर कुश्मी संगत गजल तथा मुक्तकमा अघि बढेका युवा हुन्। उनको हस्ताक्षर (गजल संग्रह २०६८), फुटल पोक्री (गजल संग्रह २०६८), आँशके सागर (मुक्तक संग्रह २०६९) प्रकाशित छ।
मुकेश टेर्रा
धनगढी– ६ मटियारी कैलालीका मुकेश टेर्राको फुला (कविता संग्रह २०६३) तथा लालमुरै (कथा संग्रह २०६४) प्रकाशित छ। पत्रकारिता पेशा अंगालेका हाल यिनको साहित्य सिर्जनाको मूल सुक्दै गएर अखबारी लेखनमा बढी केन्द्रित छ। पहिले साहित्यको गहिराइ नबुझेर हतारमा प्रकाशन गरियो, अव उत्कृष्ट लेख्न समय मिलाउन नसकेको उनी बताउँछन्।
प्रेम लाल दहित
जानकीनगर–६ खर्गौली कैलालीका प्रेम लाल दहित हाल रेडियोकर्मी छन्। उनको टुटल झोपडी (कविता संग्रह २०६१) तथा अंधरीया रात (उपन्यास २०६१) प्रकाशित छ। यिनले पनि हाल साहित्य लेखनमा विश्राम लिएका छन्।
छपिलाल चौधरी शित्तल
टीकापुर –९ बनगाउँ कैलाली छपिलाल चौधरी शित्तलको छिट्रल अक्षर (गजल संग्रह २०६२) तथा ओजरीया रातम (हवाई हाइकु संग्रह २०६३) प्रकाशित छ। यिनको पनि हाल साहित्यीक सकृयता देखिदैन।
लाहुराम चौधरी जहर
खैलाड–३ पहलवान कैलालीका लाहुराम चौधरी जहरको फुलरीया (गजल संग्रह २०६६) तथा भुलाइल डगर(उपन्यास २०६५) प्रकाशित छ।
अन्य लेखकहरू
अव यहाँ कम्तीमा एकवटा कृति प्रकाशन गर्ने लेखकहरूको सूची दिइन्छ। प्रतापपुर –५ हरदहनी, कैलालीका दिल बहादुर चौधरी थारू तथा नेपाली दुवै भाषामा अखवारी लेखनमा खरो बिचार लिएर प्रस्तुत हुने गरेका छन्। यिनको सन्देश (धमार गीत संग्रह २०६३) प्रकाशित छ। उर्मा–३ कनरी कैलालीका जीत बहादुर चौधरी ट्रासनको यी जीतके हटल कविता (कविता संग्रह २०६१) प्रकाशन भएको छ। शिक्षण पेशामा लागेका यिनले थरुहटको मुद्धाबारे सशक्त कविता रचना गरिरहेका छन्।
नुक्लीपुर कैलालीका लक्ष्मण किशोर जोगेठ्वा थारूले इज्जतके दाम (कथा संग्रह २०५५) प्रकाशन गरे। पछि थारू चलचित्र निर्देशनमा लागेका यिनलाई स्वास्थले साथ दिएन। दुर्गौली –५ धर्मापुर, कैलाली भोजराज चौधरी तिरिया जलम (उपन्यास २०६३) पछि थप नयाँ लेखनमा जाँगर देखाएका छैनन्। खासगरी जनआन्दोलन २०६२/६३ पछि नयाँ नयाँ स्रष्टाहरूले पुस्तक प्रकाशन गरिहेका छन्। तिनमा गदरिया ६ बेनौली, कैलालीका संजिप चौधरी जलमके दुखियारी (उपन्यास २०६५), टिकापुर –३ भगरैया कैलालीका टिकाराम चौधरी ”ठुल्दाइ“को आग्रह (मुक्तक संग्रह २०६३) पथरैया–३ अमौरी, कैलालीका जय प्रकाश दहितको परोसी (नाटक संग्रह २०६६) गदरिया–८ बनकनरी कैलालीका राम लखन चौधरीको छलमल्की (कविता संग्रह २०६५), गदरिया – ८ बनकनरी कैलालीका राम लखन चौधरी, मन बहादुर चौधरीको विश्व शान्ति (कविता संग्रह २०६७) दरख –७ सरैया कैलाली हिरालाल चौधरी सत्गौवाको दुःखके भौंरी (कथा संग्रह २०६३), राजकुमार कठरियाको निराशी जीवन (उपन्यास २०६६), उर्मा– डमौलिया कैलालीका खुशीराम चौधरी (गम्भीर)को विक्षिप्त मुटु (गजल संग्रह २०६८), पवेरा–३ वैजपुर कैलालीका मोतीराम चौधरी (रत्न) को मनके बोझा (गजल संग्रह २०७०) गदरीया –९ सामरचौरा कैलालीका गणेश चौधरीको जित्तल पटोहिया (उपन्यास २०७०), भुइयाफँाटा कैलालीका चन्द्र चौधरीको गजलमाला (२०७०) गजलसंग्रह, गदरिया–८ बनकनरी कैलाली धनपति चौधरी दिव्या प्रयासी) को मुस्कानके अस्रा प्रकाशित छ।
रानामुडा कैलालीका जोखन रत्गैयाले २०५७ सालमा थारू भाषाको पहिलो गजल संग्रह चोराइल मन प्रकाशित गरे। यो कृति अपर्याप्त छ। उनले भुत्वा महाकाव्य पनि तयार पारेका थिए, जुन फेला पर्न सकेको छैन। पथरैया–३ अमौरी, कैलालीका तुलाराम चौधरी सनमको तुहिन उपहार (हाइकु संग्रह २०६१) प्रकाशित छ। उनी कविता, गजल, मुक्तक लेखनमा नियमित लागी परेका छन्। हाल मुम्वईको बसाईमा यिनले कहिलेकाही फेसबुकमा मुक्तक शेयर गर्ने गरेका छन्। त्यस्तै, पथरैया–३ अमौरी, कैलालीका अर्का स्रष्टा दिप लाइफ कियरले तुहार लग फूला (तान्का संग्रह २०६३) प्रकाशन गरेका छन्।
गोरखापत्र दैनिकको थारू पृष्ठ तथा पहुरा दैनिकमे बेला बेलामा कलम चलाउने धनगढीकी पवित्रा चौधरीको निवन्ध लेखन राम्रो छ। कञ्चनपुरकी कल्पना चौधरीले उजरल घर दुवार (२०६२) कथा संग्रह प्रकाशित गरेकी छिन्। त्यहाँकी सानु चौधरी गीत, गजलमा राम्रो प्रतिभाको रुपमा उदाउँदै छिन्।
छिट्कल थारू साहित्यिक समाज
२०६८ सालमा स्थापना भएको छिट्कल थारू साहित्यिक समाजले २०६९ बैसाख ९ गते कैलालीको दक्षिण टेंढी तथा २०७० बैसाख ८ गते कैलालीको छुटकी पलियामा बृहत थारू साहित्यिक कार्यक्रम गरेको छ। यस भेलाले कैलाली जिल्लास्तरीय थारू साहित्य प्रतियोगिता गर्ने भनेकोमा हुन सकेको छैन। माथि चर्चा गरिएका कम्तीमा एक पुस्तक प्रकाशन गरिसकेका स्रष्टा तथा कैलाली तथा कञ्चनपुरका नयाँ थारू स्रष्टालाई समेत समेटेर बृहत थारू साहित्य गोष्ठी छिट्कल थारू साहित्यिक समाजलगायत साहित्यिक समूहहरूले गर्नुपर्ने देखिन्छ।
उपसंहार
कैलाली थारू साहित्यको लागि उर्वर भूमि हो। थरुहट आन्दोलनको नाक जोगाउन आफ्ना रचना मार्फत् यहाँका थारू स्रष्टाहरूको योगदान कम छैन। चलचित्र, गीत, संगीतमा लगायत आधुनिक साहित्यमा कैलाली अगाडि छ तर लोकसाहित्यको अध्ययनमा यो निकै पछाडि रहेको छ। उकुवार भेट, गोम्हनियाजस्ता स्तरीय थारू साहित्यिक पत्रिका पनि यहाँबाट प्रकाशित भएका छन्। तिनलाई निरन्तरता दिनु जरुरी छ। राना थारू, कठरिया थारू भाषामा पनि पत्रिका प्रकाशनको पहल हुनुपर्छ। एकै अंक प्रकाशन गरेर पत्रिका स्थगित गर्नुभन्दा संयुक्त रुपमा प्रकाशनको पहल गरे जीवन्तता पाउन सक्छ।
पहुरा दैनिकले पनि आफ्नो बार्षिकोत्सवका अवसरमा थारू साहित्यकेन्द्रित स्मारिका प्रकाशनको सोंच बनाउनुपर्छ। सुदुरपश्चिम साहित्य समाजले बर्षेनी लाखौं रुपैया जिविसमार्फत् सहयोग लिने गरेकोमा छिट्कल थारू साहित्यिक समाजलगायत साहित्यिक समूहहरूले पनि थारू साहित्यको श्रीबृद्धिको लागि त्यहाँबाट सहयोगको लागि पहल गर्नुपर्छ। पुरस्कारले लेखनमा निरन्तर हौसला बढाउँछ। त्यसैले, यहाँका थारू स्रष्टालाई पुरस्कृत गर्न दाताहरूको खोजी गरी पुरस्कार स्थापना गरिनुपर्छ।
सन्दर्भ सामग्री
कोपिला, छविलाल। २०६२। थारू भाषा साहित्य प्रकाशनके ५० वर्षमे निकरल कुछ किताब ओ पत्रपत्रिकाके तालिका। अग्रासन। २(३), पूर्णाङ्क ५, कुँवार, पृ.२८–३१।
सर्वहारी, कृष्णराज। २०६९। थारू–दंगौरा भाषाको अवस्था। नेपालका मातृभाषा भाग १। अमृत योन्जन–तामाङ, सं., पृ. ८२–१०८। काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान।
सर्वहारी, कृष्णराज। २०७०। थारू साहित्यको अध्ययन। नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत लघु अनुसन्धान (अप्रकाशित)।
सर्वहारी, कृष्णराज। २०६७। थारू भाषा साहित्यको रुपरेखा। सयपत्री। पूर्णांक २१, जेठ–कार्तिक, पृ ४४–६५।
सर्वहारी, कृष्णराज। २०६४। थारू पत्रपत्रिकाको विगत र वर्तमान। मिडिया अध्ययन २। काठमाडौः मार्टिन चौतारी। पृ १–३३।
Facebook Comment