अबुधाबीस्थित नेपाली दूतावासमा झन्डोत्तलन गर्दै मनाइयो संविधान दिवस

युएई । नेपाली दूतावास अबुधाबीले छैटौं संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डोत्तलन गरेको छ । सेप्टेम्बर २० तारिख आइतबार एक कार्यक्रम गरी दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डोत्तलन गरेका हुन् ।

झन्डोत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझासहित दूतावासका अन्य कर्मचारी, नेपाली समुदाय र सीमित पत्रकारहरुको उपस्थिति थियो ।

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न

५ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो । त्यसमा विज्ञ तथा सरोकारवालाले सुझाव दिएका थिए । विज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणापत्रमा आवश्यक कुराहरु थप गर्दै लैजाने समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले बताए । ‘धेरै विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आफ्नो अभिव्यक्ति दिनु भएको छ । सो टिप्पणीअनुसार बाँकी कुराहरुलाई हामी समावेश गर्दै लैजान्छौँ,’ उनले भने । घोषणापत्रले विश्वभरि छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको डा. सापकोटाले उल्लेख गरे ।

रुसमा ‘कोरोना खोप’ लगाएका नेपालीको अनुभव (भिडियोसहित)

बार्सिलोना । रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरस (कोभिड-१९)विरूद्धको खोपलाई विश्वको पहिलो खोप दाबी गरेको थियो । त्यहाँ बस्ने एक नेपालीले रुसको कम्पनीले निर्माण गरिरहेको यो खोप लगाउने अवसर प्राप्त गरेका छन् ।

मस्कोमा स्वास्थ्य क्षेत्रमा नै कार्यरत ६१ वर्षीय डा. महेशसिंह श्रेष्ठले शनिबार ‘स्पुतनिक भी’ नामको उक्त खोप लगाएका हुन् । नेपालमा सल्यान मूल घर भएका श्रेष्ठ चार दशकदेखि रसियामा बस्दै आएका छन् ।

स्याङजा पहिरो : एकै परिवारका ९ जनाले ज्यान गुमाए

८ असोज, पोखरा । स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ ।

वालिङ-१४ तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जिवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । दीपक, कुलदीप, विक्रम र विवश उनका छोराहरु हुन् । बिनिता र कुलदीपसहित उनका ७ महिने शिशलाई पनि पहिरोले ज्यान लिएको छ ।

पहिरोमा पुरिएर घाइते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा ल्याइएको छ । बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका-४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए
क्या जाति हुन्थ्यो ।
अनि संसारसामु सबै नेपालीको शिर
क्या माथि हुन्थ्यो ।

धेरैवर्ष पछि बन्यो संविधान–२
संविधानको हरफहरुमा
हाम्रो पनि अधिकार मिसिन पाए
क्या जाति हुन्थ्यो ।
अनि बल्ल तिम्रो विजय जुलुसको लहरमा
चार वर्ण छत्तिस जातको
क्या ताँती हुन्थ्यो ।
सारा संसार हाम्रो खुसीदेखि दंग पर्थे
अरे वाह ! संसार सामु हाम्रो शिर
क्या माथि हुन्थ्यो ।

के नै मागेका थियौं र हामीले
अरुलाई जस्तै हामीलाई पनि
थोरै दिए पुग्थ्यो
अलि कति तिमी झुक्थ्यौ
अलिकति हामी झुक्थ्यौँ
दुबै झुके झुक्ने माथिको आकास
कत्ति माथि हुन्थ्यो ।
संविधान बनेको खुसीमा हामी पनि मुस्कुराउन पाए
वाह ! क्या जाति हुन्थ्यो ।

अनि
न त नारा जुलुस हुन्थ्यो
न त कुटाकुट हुन्थ्यो
न कालो दिवस मनाउथ्यौँ
न त झ्यापझुप बत्ति निभाउथ्यौँ
सबै उज्यालोमा सजिन पाए
एकै अङगोलामा बाँधिन पाए
वाह ! हाम्रो शिर कति माथि हुन्थ्यो ।

अहिले त तिमी एक्लै खुशियाली मनाउँदैछौं
तिमी एक्लै हाँसे,
एक्लै नाचे
तिम्रो नाच हेर्ने रमिते नै नभए
तिमी खल्लो कि आँगन खल्लो ?
खल्लो आँगनमा वल्लो पल्लो मिसिन पाए
वाह ! क्या जाति हुन्थ्यो

तर तिम्रो अहमताले साझा खुसीमा हामी
ताली पड्काउन पनि पाएनौं
कम्मर मर्काउन पाएनौं
दीपावली गर्न पनि पाएनौं
तिमीले जस्तो सोँचे पनि हामीलाई अझै आशा छ
तिमीसँगै नाँच्न पाए
बारुले कम्मर भाँच्न पाए
अझै क्या जाति हुन्थ्यो ।
हाम्रो खुसीमा आरिस गर्नेहरु अझै जल्थे
अनि सम्झ त
हाम्रो शिर कत्ति माथि हुन्थ्यो ?

हामीलाई कति दुःख लागेको छ
तिम्रो भोजमा हामी सामेल हुन सकेनौं
तिमी पल्लो घरमा बसेर भतेर गर्दैछौं
हामी वल्लो घरे छिमेकीहरु
भतेरको वासना सुघ्दैछौं
तिम्रो त एक्लै खाने ऐतिहासिक बानी छ क्यारे
खाऊ
अघाउनजेल खाऊ
तर थाहा पाइराख
धेरै खाए विरामी होउलाऊ
डाक्टर सापको अस्पताल अन्यौलमा छ
अन्ततः
थारु गुरुवाले तिम्रो आछत हेर्नैपर्छ
दवाई पानी गर्नैपर्छ
तिम्लाई सञ्चो पार्नैपर्छ
अनि बाध्य भएर लज्जित भई तिमीले
हामी थारु गुरुवालाई अंगालो मार्नैपर्छ
त्यसैले
संविधान जारी गर्‍यौं हाम्रो बधाई छ
यत्रो ऐतिहासिक संविधानलाई
हामी पनि जलाउन्नौं
बरु पढ्छौं
हाम्रो पनि कँहीकतै
अधिकार उल्लेख छ कि

त्यसैले,
आफू आफू मिलेको मिलन पो कति जात्ति हुन्थ्यो
अरे वाह ! सबैको सहमतिमा जारी गरेको संविधान
संसारमा क्या माथि हुन्थ्यो !!

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए
क्या जाति हुन्थ्यो ।
अनि संसार सामु हामी सबै नेपालीको शिर
क्या माथि हुन्थ्यो ।

(डिल्लीबजार जेलबाट रेशम चौधरीको कविता)

लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?

लक्ष्मण थारु।
असोज तीन कालो दिन किन ? आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक, सीमान्तीकृत, पीछडावर्ग लगायतलाई नेपालको संविधान २०७२ ले विभेदमात्रै गरेन, हामीलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरियो । त्यसैले यो संविधान हाम्रो लागि विभेदकारी र अमान्य छ ।

नेपालको संविधान २०७२ को धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ हामी कुनै पनि हालतमा स्वीकार्न सक्दैनौं । त्यसको अर्थ यो होइन कि हामी गणतन्त्र, संघीयता, लोकतन्त्रको विरोधी हौं । हामी गणतन्त्र, संघीयता, लोकतन्त्र मजबुत र व्यवस्थित होस् भन्न चाहन्छौं । अस्थिरता, अराजकता, द्धन्द्ध, जातीय सदभाव, शान्ति बिथोल्ने चाहनाले हामी आन्दोलन घोषणा गरेका होइनौं । हामी चाहन्छौं शान्ति, सदभावसहित सबैले मान्य हुने संविधान बनोस् । त्यसैले आजको आवश्यकता संविधान संशोधन हुनु हो । राज्यले संविधान संशोधन गरेर रुष्ट बनेका सबै समूहको आवाजलाई समेट्न सक्नुपर्छ ।

धारा १८ मा देखावटीरुपमा हामी सबैलाई सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ, यो धारामा सामाजिक र साँस्कृतिकरुपले पिछडिएको मात्र उल्लेख गरेको छ । हामी सामाजिक र साँस्कृतिकरुपले मात्रै पछाडि पारिएका छैनौं । धारा १८ मा आर्थिक, राजनीतिक र ऐतिहासिकरुपले हामीलाई पछाडि पारियो भन्ने शब्द उल्लेख गरिनुपर्छ ।

धारा ३८ मा महिलाहरुको सबालमा समानुपातिक समावेशिताको कुरा उल्लेख गरेको छ । तर सम्पूर्ण समुदायको महिलालाई एउटै बास्केटमा राखेर समानुपातिक समावेशिताको कुरा गरिएको छ । जुन आफैँमा विभेदपूर्ण छ । हामी चाहन्छौं धारा ३८ मा महिलाले पाउने आरक्षण प्रतिशतको आधारमा छुट्याइयोस् । जस्तै थारु महिलाको प्रतिशत, मुस्लिम महिलाको प्रतिशत, आदिवासी महिलाको प्रतिशत, मधेसी महिलाको प्रतिशत छुट्टाछुट्टै पमा व्यवस्था गर्न जरुरी छ । धारा ३८ मा यी कुरा संशोधन हुन जरुरी छ ।

धारा ४२ मा सामाजिक न्यायको व्यवस्था गर्दा सामाजिकरुपले पछाडि परेका हामी सबैलाई भन्न खोजिएको जस्तो देखिन्छ । तर धारा ४२ ले यो बुझ्नुपर्छ कि हामी सामाजिकरुपले मात्र पछाडि पारिएका छैनौं । हामी राजनीतिक, आर्थिकरुपले पनि पछाडि पारिएका छौं । त्यसैले हाम्रो पहिचान र उत्पतीको ऐतिहासिक पृष्ठभूमीलाई समेटेर धारा ४२ संशोधन हुन जरुरी छ ।

त्यस्तै धारा ५६ ले राज्यको संरचना, संघ, प्रदेश र स्थानीय सरकारको व्याख्या गरेको छ । अनुसूची ४ मा सात वटा प्रदेशमा रहने जिल्लाहरुको नामांकन, सीमांकनसहितको व्यवस्थासमेत गरेको छ । यो धारामा हाम्रो आपत्ति छ, चित्त दुखाई छ । धारा ५६ ले तीन तहको सरकारको व्यवस्था गर्दैगर्दा पहिलो संविधानसभाले बनाएको आयोगको सल्लाह सुझावलाई बेवास्ता गरेको पाइयो । त्यसैले हामी सात प्रदेश मान्न तयार छैनौं । यसले हामीलाई अल्पमतमा पारेको छ । शासकहरुको यो निर्णयले हाम्रो समुदायलाई तितर बितर बनाएको छ ।

हाम्रो प्रश्न के हो भने संयुक्त क्षेत्र, स्वसाशित क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्रहरुको किटान धारा ५६ मा जानाजान र नियतबशले लेखिएन्न । त्यसैले यो धारा संशोधन हुनुपर्छ । ७ वटा प्रदेशलाई बढाएर कतिसम्म लैजान सकिन्छ, सरोकारवाला पक्ष, आन्दोलनकारी पक्ष, आदिवासी जनजाति, मुस्लिम, दलितलगायत पक्षसँग छलफल, बहस र सम्बाद राज्यले सुरु गर्न जरुरी छ । र, धारा ५६ जुनसुकै हालतमा संशोधन गरिनुपर्छ ।

त्यस्तै धारा २७४ को संशोधन प्रस्तावले खुसी बनाउँछ । यो संविधान सबैको लागि हो कि भन्ने भान पर्छ । तर सोही धाराको १० वटा उपधाराहरुले थारु, आदिवासी जनजाति, मधेसी, मुस्लिमविरुद्ध भएको भान हुन्छ । धारा २७४ लाई जसरी संशोधन नहुनेगरी प्रावधान राखिएको छ, यी कुरा हाम्रो लागि मान्य छैन ।

अन्त्यमा, संविधान बन्दैगर्दा, संविधान घोषणा गर्दैगर्दा, यो देशको २५ लाख जनसंख्या भएको थारुहरुलाई आतंकित बनाइयो, दमन गरियो, थारुहरुको घरमा आगो लगाइयो, पसल, ब्यापार लुटपाट गरियो, थारुहरुमाथि संकटकाल लगाइयो, झुठा मुद्दा लगाएर थारुहरुलाई जेलमा कोच्ने काम गरियो, थारु युवा, बरघर, भल्मन्सा र अगुवाहरुलाई वारेन्ट दिने काम गरियो ।

हामी चाहन्छौं यो देशमा न्याय, कानुन, समानता सबैको लागि बराबर होस् । प्रशासन, बन्दुक, बर्दीधारी, संविधान, कानुन, अदालतमा सबैको समान अधिकार होस् । तर यी सबै क्षेत्रले थारुहरुलाई गुमराहमा पारेर, झुटा मुद्दा लगाएर, जेलमा कोचेर थारु समुदायलाई आतंकित पार्ने काम गरेको छ । थारुहरुको पहिचान मेटिनेगरी हतारमा संविधान जारी गरियो । त्यसैले हामी भन्छौं, यो संविधान पश्चगामी छ, मान्नलायक छैन । त्यसकारण हामी असोज तीन कालो दिनको रुपमा मनाउँदै छौं ।

असोज तीनलाई कालो दिनको रुपमा मनाउँदै अधिकार, पहिचान, न्यायका लागि संयुक्त र साझा आन्दोलनमार्फत् राष्ट्रिय मुक्ति आन्दोलनमा सहभागी हुन आम नेपालीलाई अपिल गर्न चाहन्छौं । यो आन्दोलन विखण्डन, जातीय सदभाव, भ्रष्टाचार र निरंकुश शासनकाविरुद्ध पनि रहेकाले शान्तिपूर्ण आन्दोलनमा हामी सबैको सहभागिता र एक्यबद्धता हुन जरुरी छ।

लेखक थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक हुन्।

रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो

थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न

थारु समाज कास्कीले आफ्नो ११‍औं साधारण सभा सम्पन्न गरेको छ। पोखराको कार्की डाँडामा आयोजित सभामा जितिया विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो। जितिया विशेष कार्यक्रम तथा भेलामा साँस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न ठाउँबाट कामको शिलशिलामा पोखरा आएका थारु ब्यक्तिहरुलाई समाजमा आबद्ध हुन् आह्वानसमेत गरिएको थियो।

‘हामी कामको शिलशिलामा विभिन्न ठाउँहरु जानुपर्ने हुन्छ। उक्त ठाउँमा हामी एकजुट भएर आफ्नो समुदायको साँस्कृतिक पहिचान झल्काउन पाउँदा निकै खुसी लाग्छ,’ समाजका अध्यक्ष विजेन्द्र चौधरीले भने, ‘हामी थारुहरु एकीकृत हुनुपर्छ भन्ने उद्देश्यले नै यो समाजको गठन गरेका छौं। पोखरा वा आसपास रहनुभएका हाम्रा दिदी तथा दाजुभाइहरु यस समाजमा आबद्ध हुन सक्नुहुन्छ।’

त्यस्तै प्रमुख अतिथि गुठीका अध्यक्ष एवं थारु कल्याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले पोखराजस्तो पहाडी जिल्लामा थारुहरुको आफ्नै समाज हुनु धेरै राम्रो भएको बताए। हामी थारुहरु जहाँ गएपनि मिलेर बस्छौं भन्ने यो समाजले सन्देश पनि दिन खोजेको उनले बताए। कामको शिलशिलामा हामी जता पुगेपनि एकीकृत भएर आफ्नो समुदायको लागि योगदान दिनुपर्ने बताए।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुन, भुजेल समाज सेवा समितिका अध्यक्ष पूर्ण बहादुर भुजेल, समाजका पूर्व अध्यक्ष सुमित्रा चौधरी, समाजका सल्लाहकारहरु प्रा डा राजेन्द्र चौधरी, आशिलाल चौधरी, सिताराम चौधरी, पुन निर्माण प्राधिकरण कास्कीका आयोजना प्रमुख उमेश कुमार चौधरी, समाजसेवी प्रदीप गच्छदार, चेतनारायण चौधरीलगायत अतिथिहरुले थारुहरुको हक अधिकारको सबालमा सबै एकजुट भई संघर्ष गर्नुपर्ने बताएका थिए। उनीहरुले असोज ३ गते पोखरामा पनि कालो दिन मनाउने बताए।

कार्यक्रममा चार सयभन्दा बढीको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले असोज ३ गते संविधानको दीपावली तहसनसह बनाइदिने चेतावनी दिएका छन् । सरकारले दीपावली गर्ने दिन कालो दिवसका रुपमा प्रदर्शन गर्ने भन्दै उनले भने, ‘सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई हामी तहसनहस पार्छौं ।’ Continue reading “प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’”

थापस महाधिवेशनको भ्रम र यथार्थ

इन्दु थारु।

थारु पत्रकार संघको चौथो महाधिवेशन भदौ २०, २१ र २२ गते चितवनको सौराहामा भव्यताका साथ सम्पन्न भएको छ । महाधिवेशन सकिएपश्चात यसबारे सकारात्मक, नकारात्मक तथा अनर्गल टिकाटिप्पणीहरु सामाजिक सञ्जाल, अनलाइनहरुमा प्रचार गरिँदैछ । Continue reading “थापस महाधिवेशनको भ्रम र यथार्थ”