tharu1

थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको थारुहट-थारुवान संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। घोषित आन्दोलनका कार्यक्रमहरुमा बैशाख २४ गते सम्पूर्ण जिल्लामा थारु जातीय संगठनबीच सर्वपक्षीय बैठक गर्ने, २५ गते महोत्तरी, सर्लाही, रौतहत, २६ गते बारा र पर्सा, २७ गते झापा, मोरङ, सुनसरी, २८ गते सप्तरी, सिराहा, उदयपुर, २९ गते रुपन्देही, कपिलबस्तु, ३० गते बर्दिया, ३१ गते कैलाली, चितवन, नवलपरासी, जेठ १ गते कञ्चनपुर, दाङमा विरोधसभा गर्ने र जेठ १ गते मशाल जुलुस गर्ने र जेठ २ गते थारुहट जिल्लामा आमहडताल गर्ने रहेको छ।

समितिले आफूहरुले प्रस्तुत गरेको सात बुँदे सर्त र १३ बुँदे राजनीति मागमा नौ महिनादेखि छलफलसमेत हुन नसकेको गुनासो गर्दै बाध्य भई आन्दोलनमा जानु परेको दाबी गरेको छ। पत्रकार सम्मेलनमा नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले राजनीतिक दलहरुबीच श्रीपेच विनाका राजाहरुको जन्म भएको र उनीहरुले थारु आन्दोलनलाई बेवास्ता गरेकोले आन्दोलनमा जान बाध्य हुनु परेको दाबी गर्दैे आन्दोलन कुनै जाति र क्षेत्र विशेष विरुद्ध नभई सिंगो राज्य सत्ता, सरकारको विभेदकारी ब्यवहार, विभेदकारी संविधान, विभेदकारी सरकारको विरुद्ध भएको स्पष्ट दाबी गरे।

थारु कल्याणकारी सभाका केन्द्रीय उपाध्यक्ष प्रेमिलाल चौधरीले विभेदको अन्त्य नभएसम्म अबको आन्दोलन शसक्तरुपमा अघि बढ्ने चेतावनी दिँदै राज्य जनताको भावना सुन्न तयार नभएकोले आन्दोलनमा जानु परेको जिकिर गरे। थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरीले आन्दोलनरत सबै पक्षसँग सहकार्य बनाएर आन्दोलनलाई शसक्त बनाउने योजना सुनाइन्। उनले कैलाली र कञ्चनपुरलाई थारुहट प्रदेशमै राख्नु पर्ने अडान समेत ब्यक्त गरिन्।

आन्दोलन परिचालन कमिटिका केन्द्रीय सदस्य किशोर विश्वासले आन्दोलनरत संघीय गठबन्धन वा मधेसी मोर्चासँग सहकार्य नगर्ने स्पष्ट पार्दै आफूहरु मधेसी नभएको दाबी गरे। उनले टिकापुर घटाएर राज्य र प्रमुख दलले आन्दोलनलाई तुहाउन षडयन्त्र गरेको आरोप लगाउँदै संविधान थारु र थारुहट विरुद्ध भएकोले पहिलो चरणको आन्दोलनमा प्रतिक्रिया हेरेर दोस्रो चरणमा अझै शसक्त आन्दोलन गर्ने स्पष्ट पारे। उनले थारुहट आन्दोलन राष्ट्रबादी आन्दोलन भएको दाबीसमेत गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *