Shushil Chaudhary
सुशील चौधरी
महाभुकम्प २०७२ ले ९ हजार भन्दाबढीको ज्यान लियो । हजारौ घाइते भए, लाखौलाखा घरवारविहनीन भए । त्यस मध्ये परिवार मेरो पनि प्रत्यक्ष प्रभावित परिवार रहन गयो । भूकम्पको पीडा बिर्सन नसकेर काठमाण्डौको अस्थायी बसोवास पनि मैले बर्दिया सारें । प्रवेशिका परिक्षा दिन तयार छोराको विद्यालय पनि स्थानान्तरण गर्नुपर्यो । धन्न शिक्षा मन्त्रालयले भूकम्पपीडित परिवारले सहजै आफ्ना बालबालिकाको विद्यालय स्थानान्तरण गर्ने अनुमति दियो ।  भुकम्पको दिन दिन ( १२ देखि १४, बैशाख, २०७२) मा मैले जे देखें, त्यो क्षण र परिवेश मेरालागि अविस्मरणीय छन् । म कहिल्यै भुल्न सक्नेछैन । जीवन र मृत्यु आकस्मिक कुरा हो, भाग्य भन्ने चिज छ भने मैले भाग्यले आजको जीवन पाएँ। संगै धरहरामा गएर पनि म धरहरा नचढ्नाले ज्यान जोगियो ।

त्यही धरहरामा मृत्युवरण गरेका भतिजले एक पटकमात्र आग्रह गरेको भए, सायद मैले टार्न सक्दिन थिए वा मिल्दैनथ्यो । उनी यति आत्मविश्वासी थिएकी आँटेको काम गरि छाड्थे । मलाई लाग्छ, सानोबाबालाई किन दुःख दिने भनेर उनले केही नभनी पूmर्तिका साथ भर्यांग उक्लिए । एसएलसी दिएर आएका जिज्ञासु युवकले दुई–तीन मिनेट धरहरा भित्र जाने गेटैमा राखिएका ठूला–ठूला होडिंगबोर्डका सूचना पढ्न समय विताएका भए उनी जोगिने थिए ।  भतिजको मृत्युपछि उनको आमा–बुवालाई कसरी बताउने र कसरी त्यो पीडा सहन गर्न सक्नेहुन र मलाई के भन्नेहुन् भन्ने पीडादायी र अप्ठ्यारो परिवेशले मेरो हृदय छियाँ छियाँ भएको थियो । धरहरा ढलेर आफन्त गुमाएर साहारा विहीन भएर एकसुरे दिमाग लिएर फर्कदा बसन्तपुर दरवारको उराठ उजाड अवस्था देख्दा म झण्डै बेहोस भएको थिएँ । निरन्तर परकम्पका बीच काठमाण्डौका सडकहरुमा मोटरसाइकिलमा हुइकिँदा साँझ के धनी के गरीव, के नेता के जनता र सर्वसाधरण आफ्ना आलिशान महल छाडि सिरक र तन्ना च्यापेर खुल्ला ठाउँमा बासबस्न निन्याउरो अनुहार लगाई भौतारिरहेको दृश्यले मानव जीवन बुझ्न सघायो । सम्पक्तिको शान त क्षणिक रहेछ । प्रकृतिले कसैलाई विभेद गर्दोरहेनछ । जतिसुकै धनसम्पत्ति आर्जन गरेपनि विपत्तिमा त मान्छे नै चाहिने रहेछ ।  महाभुकम्प व्यहोरेको एकवर्षलाई फर्केर हेर्दा कठीन राजनीतिक अवस्थालाई निकाश दिन मुख्य राजनीतिक दलहरुबीच राजनीतिक सहमाति जुटाउने सवालमा महाभुकम्पले ठूलो भूमिका खेल्यो । संविधानसभाले नेपालको संविधान २०७२ असोज ३ गते जारी ग¥यो ।  तराईकेन्द्रित आन्दोलन र नाकाबन्दी साथै त्यसले सिर्जना गरेको आपूर्ति व्यवस्थाको अवरोध सरकारको जिम्मेवारीवाट भाग्ने बलियो बहाना बन्यो । लामो राजनीतिक खिचातानी पछिभुकम्प पछिको पुनःनिर्माणका लागि प्राधिकरण त बन्यो तर अपेक्षाकृत काम सुरु गर्न सकेन । यही परिवेशमा म पुनः आफ्नो परिवेश, पीडा, अनुभूति साट्ने जमर्को गर्दैछु ।

आजैको दिन, पोहोर साल, शनिवार परेको थियो । मेरी जेठी सासुको कान्छो छोरा भतिज (जगतराम थारु,१६) प्रवेशिका परीक्षा सकेर घुम्न काठमाण्डौ आएको हप्तादिन पुग्दै थियो । मेरो अफिसको कामकोव्यस्तथाका कारण घुमाउन लिएर जान सकेको थिएन । शनिवार परेकोले २०७२ बैशाख १२ गते विहानको खाना चाडै खाएर १०.३० बजे मोटरसाइकलमा हिड्यौं । नैकापबाट कलंकी हुदै भोटेवहालको बाटो हुदैं सबैभन्दा पहिले धरहरा देखाएं । न्युरोड, रत्नपार्क, रानी पोखारी, कान्तिपथ, नारयणहिटी, दरवारमार्थ हुदै सिंहदरवार, अनामनगर छिराएर संविधानसभा भवन देखाएं । बानेश्वर चोकपुग्दा पुग्दा नपुग्दै मेरो मनमा दोधार भयो । शंकमुल हुदै पाटन कृष्णमन्दीर लैजाने की सुन्धारा लैजाने । त्यसैबेला माइतीघर तर्फको बाटो खुल्यो, बिहान सुन्धारा पुग्दा फर्केर आएर धरहरा चड्ने  र मःमः खाएर घर फर्कने योजना गरेकोले मोटरसाइलिकको हैण्डल माइतीघर तर्फ मोडियो । सुन्धाराको पूर्वपट्टि रहेका निःशुल्क पार्किङ क्षेत्रमा मोटरसाइकिल राखेर टिकटघर तर्फ हान्नियौं । म आफै अभिभावकको भूमिका निर्वाह गर्न पाएकोमा दंग थिए भने भतिज धरहरा चढ्नके आकांक्षाका कारण फुर्तिलो ढंगले टिकटघरको ंिसढी चढे । उनको अनुहार खुशीले धपक्क बलेको थियो । म चिनी रोगी भएकोले दुई घण्टासम्म निरन्तर ड्राइभिंग गरेकोले केही शिथिलता महसुस गरिरहेको थिएँ । त्यसैले धरहरा नचढ्ने सोच बनाएँ । पचास रुपैयाँको टिकट किनेर भतिजलाई दिंदै जाउ चढेर आउ , म यही बगैचामा आरम गर्छु भनें । फेरी सोचें, माथि गएपछि उनको फोटो कसले खिचिदेला । माथि धरहराको टुप्पोमा हेरें, आठ दस जना मानिसहरु देखिए । त्यहीका कसैलाई फोटो खिच्न अनुरोध गर्नु भने, उनले हवस् भनेर खुरुरु धरहराको प्रवेशद्धारतर्फ हानिए । म पूर्वको बगैचातर्फ लागें ।
नियतिको मिति पुगेको मलाई के थाहा, म भतिज धरहरा चढेर फर्केपछि मज्जाले मिठो मःमः खाँदै काठमाण्डौ घुमाईको अनुभव साटौला र भोलिको घुम्ने योजना बनाउँला भनेर मनमा खेलाउँदै के थिए, आफु असन्तुलत भएको महसुस गरें । हर्दाहर्दे म बगैचाको फलामको कुर्ची समातेर अडिने प्रयास गर्न थाले । फर्केर धरहरामाथि दृटिपात गर्दा त निरीह धरहरा घडीको लंगुर जसरी हल्लिरहेको थियो । क्षणभरमै धरहरा गल्र्याम्मै पश्चिम तर्फ ढल्यो । सुन्धारा पुरै धुलोले पुरियो । म अवाक भएं । मेरो छेउछाउका मानिसहरु चिल्लाउन, रुन कराउन थालेपछि म पनि होशमा आाएं । आफूसंगै केही क्षण आत्मियतका साथ कुराकानी गरिरहेको व्यक्ति धरहरासंगै ढलेको अवस्था थियो । सबैचिज गुमाएको बेसाहारा मानिस जस्तो भएँ म । कति सपना बुनेर धरहरा चढेको छोरा सपनासंगै अलप भयो । सबै मानिसहरु आफन्त खोज्न पल्टिएको विवस खण्डहरको धुलोमा खोस्रन थाले । म पनि मुटुमा उर्लिएको पीडा र आँखामा बगिरहेको अश्रुधारासंगै आफ्नो मान्छे खोज्न थालें । त्यो धरहराको धुलोमा तप तप खसिरहेको आँसु विस्तारै बिलिन भइरहेका थिए । कतिपय जिउँदा व्यक्तिहरु भेटिइरहेको बेला कतै भतिज जिउँदै भेटिइहाल्ने हुन्की भन्ने झिनो आसमा खोज्ने सकेको प्रयास गरें । तर एक घण्टाको अनवरत खोस्राइ पछि उनको जुत्ता लगाएको खुट्टा भेट्टाएँ । उनले हिंड्दा जुत्ता लगाउँदै गर्दा मेरो नजर जुक्तामा परेको थियो । के थााहा, त्यही चिज उनको मृत्युको पहिचान गर्ने कुरा बन्ला भनेर । मैले अनुमान लगाएँ, उनी सातौ तल्ला सम्म पुगेका रहेछन् । ठूलो चांगले शरीर च्यापिएकोले तत्काल निकाल्न सम्भव थिएन । केही क्षण पछि नेपाली सेनाको उद्धार टोली आवश्यक तयारीका साथ आइपुग्यो । चार पाँच घण्टा लगाएर धरहराका सबै भग्नावशेष छेउ लगाएर सबै घाइते र लास निकालियो  ।
घटना त भयो, अब घरमा कसरी जानकारी गराउने भन्नेबारे म चिन्तामा परें । एकैपटक मृत्युको खबर कसरी दिने ? आखिर भन्न त भन्ने पर्छ । बर्दिया गुलरियामा बस्ने भाई मानबहहादुरलाई अवस्थाकोबारेमा जानकारी गराएँ । गाउँका बडघर र जान्नेसुन्नेलाई अवस्था बताउन भनें । विस्तारै बताउने कुरा गरें । मलाई लास नभेटाइसकेकोले अझै जिउँदै भेटिन सक्ने आशा मरिसकेको थिएन । सातबजे साँझ घाईते र लास राखिएको ठाउँमा गएँ । ट्रमा सेन्टरमा घाइतेहरु राखेकोले सबैभन्दा पहिले त्यहाँ खोजें, त्यसपछि बीर अस्पतालका पेटी, वार्दली, कोठा र आँगन चहारें । सयौको संख्यामा रहेको शब लस्करै राखिएका थिए । पहिचानका लागि हेर्दै गएँ, त्यहाँपनि फेला पार्न सकिन । मन झनै हडबडायो । त्यहाँकेही पीडित परिवारले घाइतेहरु शिक्षण अस्पताल महाराजगंजमा राखेको छ अरे, भन्ने कुरा गरिरहेको सुनें । कतै मेरो मान्छे पनि घाइते मात्र पो छन् की भनेर केही आशा लिएर, टिचिंग तर्फ हानिए । साना पराकक्पन निरन्तर आइरहेका थिए। त्यसको प्रवाह भएन । कसरी जिवित वा मृत अवस्थामा आफ्नो मान्छे भेटिन सक्छ भन्ने मात्र ध्याउन्न थियो । शिक्षण अस्पतालको परिसर भरिभराउ थियो, घाइतेहरुको उपचार भइरहेको थियो । घायते र मृतहरुको लिस्ट पनि हेरें तर पाइन । तब, शब राखिएको हलमा पुगें । एक एक गरी हेर्दै जाँदा भतिजको शब फेला पारें । सग्लो शरीर, चौडा छाती, हातमा घडी, कम्व्याट ड्रेसमा सजिएको उनको शब बरफमा राखिएको थियो । पीडाका आसु झर्न थाले । अधैर्यताका साथ आफन्तको खोजी गर्दा मानिसका शवहरु बीचमा रहंदा भूकम्पको समाना मात्र गरिरहेको थिएन की मृत्युसंग आमनेसामने बसेर साक्षत्कार पनि गरिरहेको महसुस भएको थियो । संगै गएका साथी तथा घरबेटी चुर्न वली जिलाई इसारा गर्दै शब चिनाएँ । जिवीत रहने आश हरायो । शव पहिचानका लागि कागजत तयार गरिरहेको प्रहरीलाई आफ्नो मान्छे भएको बताएर नाम, वतन दर्ता गराएँ ।
शव त भेटियो, अब दाहसंस्कार यतै गर्ने की लिएर गाउँ जाने, लिएर कसरी जाने ? ठूलो संकट आयो । गाउँबाट पनि घरी लिएर आउन सुझाव आउँथ्यो भने घरी त्यतै अन्त्यष्टी गरिदिन भनिन्थ्यो । तर म भने सकेसम्म शब गाउँ नै लिएर जाने सोचमा थिएँ किनकी आफुकहाँ आएको बच्चा आफैले घुमाउन लैजाँदा भूकम्पमा परी मृत्यु भएकोले उनको आमा बाबु र आफन्तले अन्तिम पटक मुख हेर्न पाए भने राम्रो हुने कुरामा म अडिक थिएँ । मैले गाउँ लैजान काठमाण्डौका सबैजसो एम्बुलेन्स र शव वाहनहरुसंग विन्ति गरें। तर यस्तो कठिन अवस्थामा उपत्यका बाहिर जान नसकिने बताए । साथी कृष्ण गौतमले पनि मलाई सघाउनु भयो, तर केही लागेन । म निराश भएं । अनिश्चितताको बालद मडारियो मानसपटलमा । पहिचान गरिएका शबहरु बुझ्दै आफन्तहरु जन थाले, शवहरु निरन्तर आइरहेका थिए । गर्मीको महिना दुई दिन बितिसक्दा शवहरु गनाउन थालिसकेका थिए । त्यसकारण सरकारले पहिचान नभएका शवहरु महानगरपालिकाले अन्त्यष्टी गर्ने निर्णय गरिसकेको थियो । गाउँ नै शोकमा डुबेको थियो ।  मैले नेपालगन्जबाटै शब वाहन लिएर आउन अनुरोध गरें । मेरो अनुरोधलाई स्वीकार गरेर एम्बुलेन्स वा शववादहन आउने भयो । गाउँमा सबैले गक्ष्य अनुसार सहयोग जुटाएर पठाउने व्यवस्था मिलाएका रहेछन् । गाउँबाट बडघर ( दुर्गा थारु) जो नाताले मेरा मामा हुन् र मेरो अतिमिल्ने साथी दुःखलाल चौधरीअरु दुईजना आफन्त सहित् १३ बैशाखका दिन हिंडे । १४ गते बिहान १० बजे सम्ममा आइपुग्नु पर्नेमा मुगलिंग खण्डमा शुख्खा पहिरो गएर त्यहीं रोकिए । प्रहरीले छिटो शव उठाउन भन्न थाल्यो । आफ्नो शववाहन आइपुग्दैन । हुलमुलमा आफन्तको शव अरुले नै पो उठाएर लग्नेहहो की भन्ने अर्को डर । बल्ल बल्ल साँझ ७.०० बजे नेपालगन्जबाट शववाहन आइपुग्यो । मैले सन्तोष लामो सास फेरें । साथीहरु भएपछि आँट पनि थपिदो रहेछ । पन्ध्रगते बिहान १२.०० बजे शव कालिका-३, मयुरवस्ती, पुर्याइयो । थारु संस्कार अनुरुप अन्त्यष्टी कर्म परियो । आफ्नो घरमा बस्न आएको बच्चा आफुले घुमाउन लैजाँदा महाभुकम्पमा परी मृत्यु भएको अवस्थाले म र मेरो परिवार मर्माहत भएका थियौं । जति दुःख भएपनि आफैलाई होस्, अरुलाई नहोस् भनेर सोच्ने व्यक्ति आज त्यस्तो घटनामा पर्दा ग्लानी भयो । राम्रो गर्न खोज्दा पनि कहिले काही परिवेशकाकारण अप्ठ्यारोमा परिने रहेछ । म आफैलाई त यति पीडा महसुस  भइरहेको छ भने हुर्केको सन्तान गुमाउँदा उनका बुवा आमालाई कति पीडा भएको होला, म अनुमान लगाउन सक्छु । सायद, त्यो अभाव कहिल्यै पूर्ति हुनेछैन । करीब दुई महिना मैले नयाँ कुरा सोच्नै सकिन । जेठमा गाउँका सबै आफन्तहरुलाई निम्ता गरेर पुजा लगाइयो । धेरै वर्ष देखि कामको सिलसिलामा गाउँ बाहिर रहकोमा सबै गाउँलेलाई निम्ता गरेर भलाकुसारी गर्न पाउँदा मनमा एक किसिमको आनन्द आउँदो रहेछ । म दश वर्ष पछि पुनः गाउँ फर्केको थिएँ । सबैले माया दिए , मेरो आत्मविश्वास बढेर आयो ।
एक वर्षमा राज्यको तर्फबाट जुन रुपमा पुनस्थापना र पुननिर्माणका लागि तदारुकता देखाउनु पर्नेहो, नसकेका कारण एक वर्ष वितिसक्दा पनि भूकम्पपीडित जिल्लका प्रभावित परिवारहरु पालमा बस्न बाध्यछन् । यसका सबैको ध्यान जाओस् । सरकारी तथ्यांक अनुसार, धरहरामा साठी जनाको ज्यान गयो । सरकारले एक लाख चालिस हजार राहत प्रदान गरेको छ । धरहरा संचालनको जिम्मेवारी लिएको संस्थाले वीना विमा टिकट काटेर पैसा कमाएको कुरा सार्वजनिक भएको छ। प्रधानमन्त्रीको आश्वानमा आफ्नो धरहरा आफै बनाउने घोषणा पनि गरिएको छ। तर धरहरा भत्किदा ज्या गुमाएका र घायते भएकाहरुको अधिकारको सुनिश्चितता नगरी काम थाल्नु कक्तिको न्यायोचित होला । के जीर्ण अवस्थामा रहेका इमारतको दुरुपयोग गरी पैसा कमाउने अनि घटनाप्रति जिम्मेवारी नलिने प्रवृतिले भोलीका दिनमा कस्को सुरक्षा हुन सक्ला ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *