Dukha Prasad Chaudhary

१२ वर्षकै उमेरमा घर छाडेर काठमाडौ भागेका थिए दुखाप्रसाद चौधरी । दुखाप्रसादलाई पढ्नका लागि घरमा कर गरेका थिए आमा बुवाले । उनलाई पढ्ने मन लागेन, अनि कसैलाई पत्तै नदिई २०२६-२७ साल तिर काठमाडौं आएका थिए ।

आफ्नो नाम दुखाप्रसाद भएपनि उनले आफ्नो जीवनमा धेरै सुखी मानिसहरु देखे । तीनै मानिसहरुसँग संगत गर्ने मौका पनि पाए । तर, दुखाप्रसादको आफ्नो जीवन चाहिँ धेरै सुख आईलागेन । उनको जीवनकथा चाहिँ साच्चैकै गजव छ ।

दुखाप्रसादको घर बाराको विसनपुर–९ दौरोवामा पर्छ । उनी १२ बर्षको हुँदा काठमाडौं छिरेका थिए, त्यो पनि बाख्रा बोक्ने गाडीमा लुकेर । बाख्राको भीडमा उनी पछाडि एक्लै थिए, अगाडिपट्टि ड्राईभर र गाडीका सहयोगी ।

उनी लहलहैमा काठमाडौं आएका थिए । उनका लागि काठमाडौं अपरिचित शहर थियो । सहयोग गर्ने कोही थिएन । एकसातासम्म काठमाडौंको गल्लीहरुमा यत्तिकै भौतारिए । तराई–मधेशको अनुहारसँग काठमाडौंको दूरी थियो, यहाँका रैथाने समुदाय दुखाप्रसादजस्ता मधेशी मानिसहरुसँग सहकार्य गर्न चाहदैनथे । सुखदुख साटने कूरा त टाढाको भैहाल्यो ।

एक दिन उनले अनामनगरस्थित एक मोटर ग्यारेजमा ठाउँ पाए । शुरुमा ग्यारेज मालिकले उनलाई पत्याएनन् । काममा राख्न त राखे, तर जहिले हेप्थे । गाली खाएर भएपनि दुखाप्रसादले काम गरिरहे । तीन चार कक्षा पढेका थिए । बा–आमाले अझै पढ् भन्दा काठमाडौं भागेका थिए । गाउँ फर्कने अबस्था थिएन । दुखाप्रसादले ग्यारेजमा बडो दिल लगाएर काम गरे ।

निकै मिहिनेत र लगनका साथ काम थालेका दुखाप्रसाद केही समयमै राम्रो मिस्त्री भए । मिस्त्री त थिए नै । त्यही बेलामा उनी मोटर साइकलदेखि कार–जीप पनि चलाउन जान्ने भए । सम्झन्छन्, ‘सानै उमेरमा गाडी चलाउन थालेको देखेर वरपरका छक्क पर्थे ।’ उनलाई मोटर चलाउन कसैले सिकाएको थिएन । मर्मतका लागि गाडी आउथे । बनाउँदै स्टेरिङमा हात लैजान्थे । यहीबाट गाडी चलाउन सिके ।

यसरी बदलियो कोर्स

२०२९ सालतिर उनको जीवनले नयाँ बाटो लियो । एक दिन ग्राहकको कार मर्मत गरेपछि सडकमा निकालेर चलाई रहेका थिए उनले । अचानक एकजना प्रहरी अधिकारीले उनलाई बोलाए । तर, भाषा शालीन थिएन । दुखाप्रसादका अनुसार ती प्रहरी अधिकारीले ‘गाडी ग्यारेजमा राखेर छिटो यता आइजा’ भनेका थिए ।

त्यसबेलाका प्रहरी अधिकारीको फर्मान । दुखाप्रसादसँग अरु विकल्पै थिएन । खुरुखुरु त्यही गए । तर, ती अधिकारी को थिए ? दुखाप्रसादसँग नाम याद छैन । ति अधिकारी प्रहरीका एसपी रहेको दुखाप्रसाद बताउँछन् । दुखाप्रसाद प्रहरी अधिकारीका नजिक पुगेका मात्र थिए, उनलाई गाडीमा बस्न भनियो । प्रहरी अधिकारीले आफ्नो गाडीमा राखेर दरमार्गतिर हुइकिए । दुखाप्रसाद निकै तर्से त्यसबेला । डरले केही बोल्न सकेका थिएनन । कुनै अपराधी जस्तै चुपचाप बसे गाडीको एक कुनामा । मन मन दुखाप्रसादले सोचेका रहेछन्, ‘केही नराम्रो हुने भयो ।’

ती प्रहरी अधिकारी दुखाप्रसादलाई लिएर सिधै नारायणहिटी राजदरवारमा छिरे । भित्र पुर्राएपछि ती अधिकारीले भने, ‘अबदेखि तिमी यतै बस्नु पर्छ । यतैको गाडी चलाउनु पर्छ ’ दुखाप्रसादसँग ‘हुन्न’ भन्ने विकल्पै थिएन । टाउको हल्लाएर हस् हजुर भने । अरु कुनै प्रतिक्रिया जनाएनन् ।’ त्यसबेला ड्राइभरको निकै अभाव थियो । त्यही दिनदेखि राजा विरेन्द्रका ज्वाई कुमार राजा (दुखारामले भनेका कुमार राजा) को गाडी चलाउन थाले । अचानक अनामनगरको ग्यारेजबाट दरवारका ड्राईभर भए दुखाप्रसाद ।

दरवारको गाडी चलाउन गएका दुखाप्रसादसँग साइसेन्स थिएन । लाइसेन्स उनी आफुले बनाउन परेन । बरु, तीनै प्रहरी अधिकारीले दुखाप्रसादलाई लाइसेन्स ल्याएर हातमा थमाईदिएका थिए । चारवर्षसम्म लगातर उनले दरवारमा गाडी चलाए । त्यसबेला दुखाप्रसादको तलब १५५ रुपियाँ मात्र थियो । भन्छन्, ‘यति पैसा त्यसबेला धेरै थियो । काठमाडौको खर्च मज्जाले पुग्थ्यो ।’

२०३२ सालमा सरकारी ड्राईभरका लागि माग भयो । उनले पनि ड्राइभरका लागि फर्म भरे । एकै पटकमा पास भए । उनको दरबन्दी केन्द्रीय विभागमा भयो । तर, पनि दरवारकै गाडी चलाउँथे उनी ।

पछि उनले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको गाडि चलाउन थाले । त्यसपछि भएका सबै प्रधानमन्त्रीको गाडि उनैले चलाए । त्यसबेला पनि उनी कहिले दरवारको गाडी त कहिले प्रधानमन्त्रीको गाडी चलाउँथे ।

पंचायतमा मात्र होइन, बहुदल आएपछि पनि दुखाप्रसादले भीभीआईपीलाई नै बोकेर हिडने अवसर पाए । गिरिजाबाबुप्रसाद कोइराला प्रधानमन्त्री भएपछि दुखाप्रसादले उनको गाडी चलाउन थाले । प्रधानमन्त्री भएपछि गिरिजाबाबु विराटनगर आउन–जाउ गर्थे । त्यसअघि पनि उनी विराटनगर जाने गर्थे तर प्रधानमन्त्री भएपछि अलि बढी नै आउ जाउ गर्न थालेका थिए ।

प्रधानमन्त्रीका लागि काडमाडौंमा त विकल्प थिए । तर, विराटनगरमा हुँदा गिरिजाबाबुलाई ड्राइभरको अभाव खड्कियो । त्यसैबेला दुखारामको दरबन्दी मोरङको सिँचाई कार्यालयमा कायम गरियो, अनित गिरीजाले उनलाई विराटनगरमै राख्न थाले । गिरिजाबाबु विराटनगर गएको बेला दुखाप्रसादले नै उनको गाडी चलाउँथे । गिरिजाबाबु हुँदासम्म दुखाप्रसादले उनीबाहेक कसैको गाडी चलाएनन् ।
गिरीजाप्रसादको निधनपछि विराटनगर पुग्ने सवै भीभीआईपीको गाडी चढाउन थाले उनले । ‘बीपी कोइरालाबाहेक सबै प्रधानमन्त्रीको गाडी चलाएको छु । विराटनगर आएको बेला राष्ट्रपति डा.रामवरण यादव, प्रधानन्यायधीश र सभामुखसम्मको पनि गाडी चलाएको छु ।’ उनले भने ।

दुखाप्रसाद भीभीआइपीको गाडी चलाउने अनुभवी ड्राईभर बनेका छन् । भीभीआईपीसँग कसरी व्यवहार गर्ने, अनुशासनमा कसरी बस्ने, उसको गाडी कसरी चलाउने दुखाप्रसादलाई राम्रो ज्ञान छ । गाडी चलाउन जानेदेखि उनले नीजि गाडी कहिल्यै चलाएका छैनन् । पूर्व नेपालको धेरै बाटोका साना साना कुरा उनलाई थाहा छ । उनी यति धेरै अनुभवी छन कि पूर्वी नेपाल जाने भीभीआइपीहरु दुखाप्रसादकै गाडीमा चढ्न रुचाउथे । त्यसैले धेरै भीभीआइपी दुखाप्रसादले समातेको स्टेरिङमा धेरै विश्वास गर्दथे ।

पूर्व नेपाल जान चाहने सवै भीभीआइपीका लागि दुखाप्रसाद खोजीका हुन्थे । ‘नेपालको पूर्वी क्षेत्रमा आउने सबै भीभीआइपीको गाडी चलाउन दुखा नै चाहिन्छ है ।’ प्रचण्डले प्रमुख पार्टीका नेताहरुसँग समेत भनेका रहेछन् । प्रचण्डको प्रस्ताव सवै नेताले राम्रो माने । सभामुख सुवास नेम्वाङ्गले पनि दुखाको प्रसंशा गर्थे ।

नेताहरुवीच यस्तो कुरा हुँदा सिँचाई मन्त्री एनपी साउद थिए । उनले दुखालाई बोलाएर भने, ‘दुखा तिमी रिटायर्ड भएपनि विराटनगरमै बस्नुपर्छ । भीभिीआईपीको गाडी चलाउनु पर्छ ।’

दुखाले जवाफ दिए, ‘सर, म त सरकारी जागिरबाट रिटायर्ड भएँ, रिटायर्ड भएको व्यक्ति फेरि सरकारी काम कसरी गर्ने ? मलाई अख्तियारको फन्दामा फँस्नु छैन ।’ ०७२ साउन ४ मा उनले जागिरबाट अवकास लिएका थिए ।

मन्त्रीले भने, ‘तिमी तलब सुविधाको चिन्ता नगर, हामी कतै न कतैबाट मिलाउँछौ । तिमी विराटनगर नछाड ।’

मन्त्रीले नै यति कुरा गरेपछि दुखाप्रसादले ‘नाई’ भन्न सकेनन् । त्यो बेलादेखि दुखा विराटनगरमै छन् । काठमाडौबाट पूर्व जाने भीभीआइपी बोक्ने जिम्मेवारी उनकै काँधमा छ ।

सिँचाई मन्त्रालयको गाडी र सिँचाई मन्त्रीको विशेष आग्रहमा विराटनगरमा बसेको कारणले उनको पहिलो रोजाई सिँचाई मन्त्री नै हुन्छन् । सिँचाई मन्त्री नभएको बेला भने उनले अरु भीभीआईपी र भीआइपीलाई बोक्छन् । भीभीआइपी नहुँदा भने उनलाई कामको चाप हुँदैन ।

गिरिजाबाबुले आफु विराटनगर गएका बेला चढ्न चिनियाँ कन्ट्रक्सनको सहयोगमा कलकत्ताबाट गाडी किनेका थिए । दुखाप्रसाद त्यही गाडी चलाउँछन् । गाडी २२ वर्ष पुरानो छ । तर, अझै नयाँ गाडीकै जस्तो कण्डिशनमा छ । हालसम्म इन्जिन पनि खुलेका छैन । ‘किनेको दिनदेखि आजसम्म मैले मात्र यो गाडी चलाएँ । आजसम्म कतै ठोकिएको पनि छैन, कतै पल्टिएको पनि छेन, त्यसैले सबै पार्टपूर्जा दुरुस्त छन् ।’
कृष्णप्रसाद सिटौला गृहमन्त्री भएको बेला बिराटनगर गएका थिए । त्यहाँका तत्कालिन प्रमुख जिल्ला अधिकारीले गृहमन्त्री सिटौलालाई गाडीमा चढाउन निर्देशन दिए । सिडिओको आदेश नमानी पनि भएन । तर, प्रधानमन्त्री भैसकेका व्यक्ति गिरिाप्रसादको नीजि गाडीमा अरुलाई बोक्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न दुखाप्रसादको मनमा उठ्यो । तर, सिडिओको आदेश हुन्न’ भन्न सकेनन् । त्यतिबेला सिटौलालाई लिएर दुई–तीन दिनसम्म पहाडी जिल्ला गए दुखाप्रसाद । सिटौलाले दुखाप्रसादलाई त्यति वास्ता गरेका थिएनन् । ‘न बस्न सोध्यो, न खान नै ।’ दुखाप्रसादले त्यसबेलाको यात्रावारे सुनाए ।

दुखााप्रसाद गृहमन्त्रीको सिटौलाको जिल्ला झापामा थिए । उनले त्यहीबाट गिरिजाबाबुलाई फोन गरे । गिरिजाबाबुका स्वकीय सचिवले फोन उठाए । दुखाप्रसाद गिरिजाबाबुलाई सानो वुवा भन्थे ।

‘म दुखा बोलेको सानो बुवालाई छिट्टो फोन दिनुस् त’ अलि झोक्किएर दुखाले फोन गरेका थिए । गिरिजाबाबुका स्वकीय सचिव पनि आज यो दुखाले विहानै विहान किन यसरी फोन गर्यो ? भनेर अचम्ममा परे । तत्कालै फोन गिरिजाबाबुलाई दिए ।

गिरिजाबाबुले सोधे, ‘किन, के भयो दुखा ?’

दुखाप्रसादले जवाफ दिए, ‘मैले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई गाडीमा बोकेर हिडिरहेको छु, तर उहाँले खान पनि सोध्नु भएको छैन । सुत्न पनि भन्नुहुन्न । तीन दिनदेखि म साह्रै अप्ठ्यारोमा छु ।’

दुखाप्रसादले यो सुनाएपछि गिरिजाबाबु कड्किए । भनेछन्, ‘मेरो गाडीमा कृष्णप्रसादलाई चढाउन कसले भन्यो तिमीलाई, सिटौलालाई यो गाडी चढ्ने हैसियत कहाँबाट आयो ?’

अनि दुखाप्रसादले सिडियोको नाम दिए ।

‘ल, तुरुन्त तिमी त्यहाँबाट विराटनगर गईहाल’ गिरिजाबाबुले भने । त्यसपछि दुखाप्रसाद कसैलाई नभनि सरासर त्यहाँबाट गाडी निकालेर निस्के ।

गृहमन्त्रीलाई बोकेर हिँडेको गाडी अचानक स्टार्ट भएपछि सुरक्षा अधिकारीले अनौठो माने । बेला गृहमन्त्रीको सुरक्षा कडा थियो । ‘गए है’ समेत नभनी दुखाप्रसाद निस्केपछि सुरक्षाकर्मीको दौडा दौड भयो । ट्राफिकलाई भनेर बाटोमा गाडी रोक्न लगाइयोे ।

गिरिाप्रसाद चढने गाडी हो भन्ने सवै ट्राफिक युनिटलाई थाहा थियो । ट्राफिकले गाडी रोक्ने हिम्मत गरेका थिएनन । तर, प्रहरी हेडक्वाटरकै कडा निर्देशनपछि ट्राफिकले दुखाप्रसादलाई विन्तीभाउ गरे । गाडी रोक्न लगाए ।

गाडी रोकिनासाथ एक जना डिआइजी आफै त्यहाँ आइपुगेको दुखाप्रसाद सम्झन्छन् । एकछिन दुई जनावीच कुराकानी भयो ।

‘के भयो दुखा ? किन यसरी भागेको ?’ डिआइजीले सोधे ।

दुखाप्रसादले उत्तर दिए, ‘तीन दिनदेखि तपाईहरुसँग घुमिरहेको छु, के खाएको छु, कहाँ सुतेको छु, मेरो अवस्था के छ, कहिले सोध्नु भएको छ । म ड्राइभर हुँ, कुनै भरिया होइन नि ।’

दुखाले यति भनेपछि डिआइजी पनि छक्क परे । डिआईजीले भने, ‘यो कुरा त मलाई भन्नुपथ्र्यो नि, मलाई किन नभनेको ?’

दुखप्रसादले भने, ‘यो त तपाईहरुले आफै बुझ्नुपर्ने हो । मलाई गिरिजाबाबुले भन्नुभएको छ त्यहाँबाट आइहाल, म त्यही कारणले हिडेको हुँ ।’

त्यसपछि डिआईजीले दुखाप्रसादको गोजीमा सात हजार रुपियाँ राखिदिए र भने, ‘दुखा, ल यो पैसा राख्नुस्, खानपिन गर्नुस् । आजबाट तपाईलाई कुनै समस्या हुने छैन । यो पटकलाई गृहमन्त्रीको गाडी चलाई दिनुस् ।’

प्रहरी अधिकारीले यति गंभीर भएर भनेपछि दुखाप्रसाद त्यहाँबाट फर्के । यो कुरा पछि सिटौलाले पनि थाह पाएछन् । अनि आफ्ना सहयोगीलाई गाली गरेका थिए । गिरिजाबाबुले आफ्नो गाडी सिटौलाको जिम्मा लगाउने सिडिओलाई दुईदिनमै काठमाडौ झिकाए ।

दुखाप्रसादका अनुसार गाडी ड्राइभरलाई सबैभन्दा बढी माया गर्ने भीभीआइपीमा गिरिजाबाबु अगाडि थिए । दुखाप्रसाद सम्झन्छन्, ‘कहि कतै जाँदा पहिला ड्राइभर, गार्डहरुको व्यवस्था कस्तो छ सोध्नु हुन्थ्यो । खायो कि खाएन । सुत्ने व्यवस्था भयो कि भएन भनि पटक–पटक सोध्नुहुन्थ्यो । त्यस लेवलको सोचाई मैले अरु कुनै प्रधानमन्त्री तथा मन्त्रीमा पाइनँ ।’

दुखाप्रसादको अनुभव छ, ‘ड्राइभर रातभरि आँखा झिमिक्क नपारी गाडी चलाएका हुन्छन् । गाडीमा बस्ने आरामले सुतेका हुन्छन् । तर, घर गएपछि ती ड्राइभरलाई खान र सुत्न राम्रो व्यवस्था भएन भने त रिस उठ्छ नि ।’

झलनाथ खनाल प्रधानमन्त्री भएको बेला उनी गाडीमा लिएर इलामबाट विराटनगर आउँदै थिए । झलनाथले विहानै विहानै गाडीमै आफ्ना सहयोगीका साथ समोसा खाँदै थिए । त्यसैबेला दुखाप्रसादले भनेका रहेछन्, ‘सर, हामी पनि मानव नै हो । हामी खान्थ्यौं वा खाँदैन्थ्यौं त्यो बेग्लै कुरा हो । तर, एकपटक सोध्दा हुन्थ्यो नि ।’ दुखाप्रसादका अनुसार यो सुनेर झलनाथले लज्जा महसुस गरे । हतपत भनि हाले, ‘हैन, दुखा मैले त तिमीलाई सोध्नै लागेका थिए । त्यस्तो होइन, ल–ल खाउ, खाउ ।’

ड्राईभरलाई माया गर्नेमा सुवास नेम्वाङ्लाई पनि त्यतिकै सम्झन्छन् दुखा । ‘गाडीमा चढेपछि हालखबर सोधेका हुन्छन्, केही अप्ठ्यारो सप्ठ्यारो छ कि भनि सोधेका हुन्छन् ।’ उनले भने ।

दुई दाजु भाइ रहेका भाइ जयनारायण चौधरी पनि ड्राइभर नै छन् । उनी आफ्नै गाडी चलाई रहेका छन् । बुवा जोगेन्द्रप्रसाद चौधरी र आमा सुनिता चौधरीका ५९ वर्षीया जेठो छोरा दुखाप्रसादका एक छोरा र तीन छोरी छन् । छोरा कम्प्यूटर इन्जिनियर पढ्दैछन् भने दुई छोरीको विहे भइसकेको छ भने कान्छी छोरी पढ्दैछिन् । उनी विभिन्न मान पदवीबाट सम्मानित पनि भएका छन् । राजा विरेन्द्रदेखि हालसम्मका सबै भिआइपी (उच्चतहका व्यक्ति) लाई बोकेर हिडेका छन् अर्थात सबैको गाडी चलाएका छन् । तर, दुखाप्रसादको जिन्दगीमा ठूलो परिवर्तन आएको छैन । अर्थात, दुखाका दुख कायमै छन् ।

एसके यादव/रातोपाटीबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *