tharu budha katha-1

लक्की चौधरी

अलिखितरुपमा कण्ठकै आधारमा भनिने कथा नै लोककथा हुन्। थारुमा यसलाई ‘बटकुही’ भनिन्छ। यसमा सृजनात्मकता हुन्छ। श्रृङ्गारिकता हुन्छ। लयात्मकता र सुमधुररस समिश्रण हुन्छ। लोककथा ग्रामीण परिवेशमा प्रायः हरेक पूर्खाका जनजीव्रोमा झुण्डिएका हुन्छन्। तर कथाहरु मात्र मौखिक गाथाकारुपमा सीमित छन्। अर्थात् लोककथा अहिले मौखिक साहित्य हुन्। ती कथाहरुलाई लिपिबद्ध गर्न सकिएको छैन। अक्षरमा उतार्न सकिएको छैन।

थारु गाउँका बुढापाका काम सकेर खाली समयमा लोककथा सुनाउने गर्छन्। फुर्सदको समय व्यतित गर्न वा दिनभर काममा जोतिएको थकान मेट्न यस्ता कथा सुनाइने गरिन्छ। यसरी सुनाइने कथाले एकातिर लोकसाहित्यलाई जिवन्त बनाउँछ। अर्कोतिर थकित् मनलाई शितलता, मनोरञ्जन र आनन्दानुभूति दिलाउँछ। परम्परागतरुपमा सुनाइने यस्ता लोककथामा प्रेमानुभूति, सुख दुःख, हर्ष विस्मात, आनन्द, क्षोभ, निन्दा, हाँसो, क्रोध, आकर्षण, आध्यात्मिकताजस्ता विषय समेटिएका हुन्छन्। जसमा विशेषप्रकारको आकर्षण   छ। त्यस्ले स्रोतालाई सुनीराखुँजस्तो बनाउँछ। केही लोककथा लयात्मक, केही गेयात्मक र केही दुवैको समिश्रण पनि छन्। यस्ता लोककथाले स्रोतालाई फरक आनन्द दिन्छन्।

थारु गाउँघरमा खासगरी लोककथा भाद्र, असोजतिर सुनाउने प्रचलन छ। खेतबारीबाट मकैका घोगा घरमा स्याहारिसकेपछि जुनेलीरातको उज्यालोमा छित्वा (बाँसको चोयाले उनेको डालो) मा राखेर घोगाबाट मकैका दाना छोड्याउने बेला यस्ता लोककथा सुनाइन्छ। साँझको खानापछि घरका सदस्य लहरै खाट वा बेंर्री (परालले बनाएको बस्ने चकटी) मा बसेर मकैका दाना निकाल्छन्। कथाकारले मुक्तकण्ठले लोककथा भत्याउँदै जान्छ। कथा यत्ति लामा हुन्छन् कि सुन्दैजाँदा रात बितेको पत्तै हुँदैन।

एकातिर घोगाबाट मकै निकाल्ने कामहुन्छ, अर्कोतिर लोककथाको आनन्द पनि लिन पाइन्छ। लोककथा सुन्दै, कामगर्दै जाँदा थकान महशुस हुँदैन। निद्रा लाग्दैन। काम गर्नमा स्फूर्ति आउँछ। सामुहिकरुपमा काम गर्ने र सामुहिकरुपमै कथासुन्ने गजवको काइदा थारु गाउँघरमा हुनेगर्छ। एउटाले कथा भट्याउने अरुले त्यसमा ‘हो, हो’ भनेर प्रतिक्रिया जनाउने। थारुमा त्यसलाई ‘हुँक्रा भर्ने’ भनिन्छ। यो सिलसिला तवसम्म चल्छ, जबसम्म काम सुचारु हुन्छ। बीचैमा रोक्नुपरेमा कथाकारले त्यसलाई बीचैमा विटमार्न पनि सक्छ। तर बीचैमा विटमारेको कुरालाई अर्को दिन सुनाउने बाचासहित। लोककथा साह्रै लामा हुनेगरेकाले एउटै लोककथालाई दुई, तीन दिनसम्म सुनाउन सकिन्छ।

थारु गाउँघरका सदस्यले घरको कामकाजका लागि बनकस काट्ने गर्छन्। बनकस अक्सर पहाडमा उमि्रने बनस्पति हो। तराईमा बस्ने थारुले चुरेपहाड उक्लिेर बनकस काट्न जान्छन्। कुखुरा बासेपछि विहानै खानाको पोकापन्कतुरा कसेर गाउँका सदस्य बाराबन (चुरे पहाड) तिर लस्करै लम्कन्छन्। गाउँबाट बनकस भएको ठाउँ चुरेपहाड उक्लिन करिब पाँचसात घण्टा हिडेर समय व्यतित गर्न यस्ता लोककथाहरु सुनाउने प्रचलन पनि छ। लोककथा सुन्दैजाँदा बाटो काटेको पत्तै नचल्ने, थकाई नलाग्ने अनुभव थारु सदस्यहरुको छ।

बनकसले रसीहरु बाँट्ने, त्यही रसिले घरपालुवा जनावर बाँध्ने डाम्लाहरु बनाउने, खाट बुन्ने, रसीजन्य सबै सरसामान उत्पादन गर्ने काम गरिन्छ। गाउँघरमा सबै रसि त्यही बनकसबाट बनाउने उहिले प्रचलन थियो। तर अहिले त्यसको अतिरिक्त जुट, प्लाष्टिकको रसी पनि प्रचलनमा छ।

सामान्यतः देखिने र सुनिने सबै प्राणी र जगतलाई ‘लोक’ भन्ने गरिन्छ। अर्थात् लोक भनेको संसार हो। तर यसलाई जन, जनार्दनसँग जोडेरमात्र हेरिने गरिन्छ। ‘लोक’ शब्दले व्यापक जनसमूह विराट समाजलाई बुझाउँछ। हाम्रो परिवेशमा ग्रामीण समाजलाई नै लोकसमाज भन्ने गरिन्छ। लोककथा लोकसाहित्यको एउटा बलियो अंश हो। त्यसैले जीवनका सुख, दुःख, करुणा र प्रेमसम्बन्धी भाव मधुर भाषा र लयमा उनिएर लोकभाकाका माध्यमबाट सहज र सरल अभिव्यञ्जना हुने साहित्य नै लोकसाहित्य हो। त्यसैको एक पक्ष हो थारु गाउँघरमा सुनाइने लोककथा। तर त्यसको लेखोट गर्न सकिएको छैन।

यसको क्षेत्र अत्यन्त व्यापक छ। श्रमजीवी थारुहरु दिनभरको थकान मेट्न साँझ घर फर्केपछि खाना खाएर एक ठाउँमा एकत्रित हुन्छन् र लोककथाको बाचन र श्रवणले थकान मेटाउँछन्।

लोककथा सुनाउनेसँग विशेष कला हुन्छ। त्यसको अभिव्यक्ति सुमधुर र सरल हुनुपर्छ। कण्ठस्थ सुनाइने हुनाले लोककथा प्रस्तोता अकमकाउँदैन। कहीं कहीं त सानो बालक रोएमा उसको बज्यै वा बाजेले लोककथा सुनाएरै सुताउने प्रचलन पनि छ। ब्रतालु महिला वा पुरुषलाई पनि धार्मिककथा सुनाएर अलौकिक आनन्दानुभूति गराउने प्रचलन यदाकदा छ।

थारु लोककथामा विशेषगरी हित्वा, ढेङ्रज्वा, गुर्वावा, सत्तलसिंह राजा, निर्मल बाबा, सोनकेस्री रानी, सँपरज्वा, दंगीशरण, घनपट गुरुवा, बेलौटी रानी, बाह्रकेसरी रानी, शिशिर–बसन्त, मेघनाथ कुमार, राजा भिमसेन, चुँदैरा, सेढुरिया, अकबर बादशाह, हँसावत कुँरी, रामके बनबास, अहिरा, बीरबल आदिजस्ता सुनाउने गरिन्छ। यी लोककथा सबै मौखिक साहित्यका रुपमा जीवित छन्। एकाधले कहीं स्थानीय पोष्टामा लिखितरुपमा प्रकाशन गरेको भएपनि निकै संक्षिप्त अंशमात्र प्रकाशित हुन्छन्। यस्ता लोककथाको संकलन अझै हुनसकेको छैन। हामी आध्यात्मवाद र भौतिकवाद सँगसँगै लिएर जाँदैछौं। मानव सभ्यताका यी दुई फरक र छुट्टिनै नसक्ने पाटा हुन्। तर हामीले आज आध्यात्मलाई छाडेर भौतिकवादतिर बढी लहसिएका छौं। जसकाकारण हाम्रा लोककथा, लोकगाथा र प्राचीन साहित्यिक सभ्यता धरमराउन थालेका छन्।

हाम्रा सभ्यता, संस्कृति र साहित्य यिनै आध्यात्मवादमा आधारित छन्। हाम्रो संस्कृति र साहित्यको आधार र जग पनि त्यही आध्यात्मवाद हो। यी अमूर्त छन्। जसलाई महशुस गर्न सकिन्छ तर देख्न र छुन सकिदैन। हाम्रा अन्तस्करणले त्यसलाई महुशस गर्छ तर त्यसको मूर्तता सम्भव छैन। थारु समाजको सभ्यता, परम्परा, रीतिरिवाज र चित्र त्यही लोककथामा आधारित छन्। पुराना संस्कृति र जीवनदर्शन त्यसमै आधारित छन्। समाजको चित्र, यथार्थता, धर्मकर्म, दर्शन, परिवेश सबै त्यही लोककथामा आश्रित छन्।

लोककथाको एक अंशः

गुर्वावा–थारु लोककथाअनुसार गुर्वावालाई पहिलो मानव मानिन्छ। त्यसपछिको मानव महादेव हुन् भनिन्छ। उहिले पृथ्वीमा जलाशय मात्रै थियो। जीवजनावर, प्राणीको उत्पत्ति भएको थिएन। जलचरमा माछा पहिलो जीव हो भनिन्छ। त्यसमा पनि ‘रैनी मछरिया’ (रैनी माछा) लाई पहिलो जलचर जीवकारुपमा हेरिन्छ। पछि सामुद्रिक जीव गंगटा, गड्यौला, कछुवाजस्ता जीवको उत्पत्ति भयो। गुर्वावाले जलाशय भएको ठाउँमा बस्नेठाउँ नपाएर त्यही रैनीमाछाको पिठ्यूँमा बसेर स्थलको सृजना गर्ने परिकल्पना गरेका थिए। स्थल निर्माणका लागि उनले पातालमा गएर माटो ल्याउनुपर्ने थियो। उनले गंगटालाई पातालमा गएर माटो ल्याउन भने। गंगटा पातालमा गयो। तर त्यहाँ माटाको रेखदेख गर्ने ‘सेंठली कुकुर्नी’ ले पहरा दिएको थियो। गंगटालाई माटो ल्याउनबाट रोक्नखोज्यो। गंगटाले माटो आफ्नो पेटमा भएको चोयामा लुकाएर ल्याउने प्रयास त गर्‍यो तर पानीको यात्रा तय गर्नुपर्ने हुनाले उसको चोयामा लुकाएको माटो पानीमै बिलिन भयो।

गंगटाले नसकेपछि गुर्वाबाले गड्यौलालाई पाताललोकमा पठाए। पातालमा गएर माटो आफ्नो पेटमा लिएर गड्यौला फर्कियो। त्यही माटोको सहाराले गुर्वावाले स्थलमार्ग बनाए। पृथ्वीको जन्मभयो र आज पृथ्वीलोकमा क्रमशः जीवजनावर र मानवहरुको सृजना भएको विश्वास लोककथामा गरिएको  छ। यो लोककथाको आफ्नै गाथाहरु छन्। कथामा लामा कहानी सृजाइएका छन्। त्यसको संक्षिप्त रुपपमात्र यहाँ पस्किन खोजिएको हो।

संरक्षणको खाँचोः

थारु लोककथा सो समुदायको स्वपहिचान हुन्। यस्ता लोककथा विरलै समुदायमा छ। लोककथाले नै थारु प्राचीन समुदाय हो भनेर चिनाउँछ। सांस्कृतिक सम्पदा, सभ्यता र हाम्रा वैभवहरु हाम्रा पहिचान र सम्पत्ति हुन्। यसको संरक्षणमा समुदाय स्वयम् लाग्न जरुरी छ। उसो त हामी सबै राज्यको मुखताकेर बस्नेगर्छौ। राज्यले सबै विषयको संरक्षण गर्न सक्दैन। राज्य सेकेण्डरी पाटो हो। प्राथमिकपक्ष त समुदाय स्वयम् नै हो। थारु लोककथाको संरक्षण र सम्बर्द्धनमा थारु समुदाय स्वयम् उत्सुकता देखाउनुपर्छ। अधिकारको खोजीमात्रै गरेर पुग्दैन। कर्तव्य निर्वाह गर्नपनि अग्रसर हुनैपर्छ। अहिले अधिकारका नाममा राज्यलाई गालीगर्ने प्रबृत्ति हावी छ। जेगर्दा नै राज्यलाई दोषी देख्ने हाम्रो प्रबृत्ति छ।

थारु समुदाय यहाँको आदिमकालदेखिको समुदाय हो। गौतमबुद्ध स्वयम् थारुका सन्तान थिए भनेर इतिहासकारले तर्क गरेका छन्। कोही विद्वानले थारुहरु गौतमबुद्धका सन्तान हुन् भनेर थारु इतिहासलाई संकुचित पार्ने प्रयास पनि नगरेका होइनन्। थारुको इतिहास हजारौंहजार वर्षदेखिको हो। बुद्धको सन्तान थारु होइन, थारुका सन्तान बुद्ध थिए भन्दा तर्कसंगत् हुन्छ।

थारुका लोकगाथाहरु निकै पुराना संस्कृतिमा आधारित छन्। यो चराचर जगतको सृजनाकालका विषयमा बढी केन्द्रीत छन्। र,त थारु यहाँका आदिमबासी भएका हुन्। लोककथाको संरक्षण गर्नु पहिचानको संरक्षण गर्नु हो। वैभव र अध्यात्मको संरक्षण गर्नु हो। जीवनदर्शको जगेर्ना गर्नु हो। लोककथा संकलन र संरक्षणमा युवापीढि स्वयम् लाग्न जरुरी छ। यसको संरक्षणमा नलाग्ने हो भने पूर्खाले कण्ठ गरेर सुनाउने यी लोककथा लोपहुन बेर लाग्दैन। लोककथालाई पुस्तान्तरणको खाँचो छ। पूर्खाको ज्ञानलाई अहिलेको पुस्तामा स्थानान्तरण गर्नुपर्छ। यस्ता लोककथालाई अक्षरमा उतार्न नसक्ने हो भने पूर्खाको निधनसँगै थारु लोककथाको पनि अवसान हुनेदेखिन्छ। यसको जगेर्ना गर्नमा जुटौं।

नागरिक दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *