Nepal China Meeting

नेपाल र चीनबीच बेइजिङमा भर्खरै सम्पन्न प्रधानमन्त्री स्तरीय द्विपक्षीय वार्तामा दश बुँदे सहमति भएको छ । नेपाल र चीनबीच पारबहन यातायात, खुला व्यापार, नेपालमा चिनियाँ बैँक स्थापना तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीनले सहुलित ऋण दिने सम्झौता सहित द्विपक्षीय सम्बन्धका अन्य विषयहरूमा सहमति भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेटहलमा भएको द्विपक्षीय वार्ताको क्रममा नेपाल र चीनबीच सम्झौता भएको हो । तयारी नपुगेकाले प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा इन्धन व्यापार सम्झौता भने हुन नसकेको कुटनीतिक अधिकारीले बताएका छन् । पारबहन सम्झौताले चीनको बन्दरगाह प्रयोग गरी तेस्रो देशसँग व्यापार गर्न नेपाललाई बाटो खोलिदिएकाले भारतसँगको निर्भरता तोडिने विश्वास गरिएको छ ।

वार्तामा सहभागी नेपाली अधिकारीका अनुसार पारबहन यातायात, हुम्लाको सीमा नदीमा पुल निर्माण तथा व्यावस्थापन र पोखरा क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थालका लागि सहुलीयत ऋण सम्झौतामा भएको छ भने खुला व्यापार सम्झौता सम्बन्धी संयुक्त संभाव्यता अध्ययन शुरु गर्ने, नेपालमा तेल र ग्यासको संभाव्यता अध्ययन गर्न चीनको सहयोग, व्यापार ट्रेडमार्क दर्ता तथा संरक्षणको क्षेत्रमा सहकार्य, चीन र नेपालबीच बैँकिङ सूचना आदानप्रदान, हावापानी परिवर्तनका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओलीलाई बिहान १० बजे तियानमेन स्क्वायरस्थित ग्रेटहलमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले ‘गार्ड अफ अनर’ सहित स्वागत गरेका थिए । ११ बजे शुरु भएको नेपाल–चीन औपचारिक वार्ताको क्रममा भएका सम्झौतासहित बेइजिङबाट दश बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ ।

वार्तामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वाणिज्यमन्त्री दीपक बोहरा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत अन्य सरकारी अधिकारी र व्यापारिक प्रतिनिधि सहभागी थिए । चिनियाँ पक्षबाट विदेशमन्त्री वाङ यी सहितको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *