Vukampa appअमेरिकाका वैज्ञानिकहरूले भूकम्प आउनुअगावै सूचना दिने एपको विकास गरेका छन्। भूकम्पका कारण धेरैले ज्यान गुमाउने खतरालाई मध्यनजर गर्दै उक्त एपको विकास भएको हो। ‘माइसेक’ नामको उक्त एपले भूकम्प आउनुअगावै सन्देश प्रवाह गर्ने वैज्ञानिहरूले बताएका छन्। यसले थोरै भए पनि धनजनको क्षति कम गर्न सकिने उनीहरूले दाबी गरेका छन्।

एपले मोबाइलको मोसन सेन्सरको मद्दतले जमिनमुनि भइरहेको हलचल पता लगाउने काम गर्छ। मोबाइललाई खल्ती वा ब्याग जता राखे पनि जमिनमुनिको हलचललाई मापन गरिरहने वैज्ञानिकहरूको दाबी छ।

यो एपको विकासमा जुटेका प्रोफेसर रिचर्ड एलेनले बीबीसीसँग कुरा गर्दै हजारौँ मोबाइल प्रयोगकर्ताको मद्दतले एउटा नेटवर्क विस्तार गर्न खाजेको बताए। जसले भविष्यमा आउनसक्ने भूकम्पबारे चेतावनी दिन सकियोस्।

यो एप माइसेक डट वर्कले डट इयुबाट डाउनलोड गर्न सकिने एलेनले बताए। ‘यो एपले मोबाइलको ब्याकग्राउन्डमा आफ्नो काम गरिरहेको हुन्छ। जब भूकम्प आउँछ, त्यसअगावै यसले सूचना प्रवाह गर्छ,’ एलेनले भने। उनका अनुसार उक्त सूचना पहिला सर्भरमा पठाउनेछ। त्यसलगत्तै सर्भरद्वारा उनीहरूले भूकम्प आउनेबारे सूचना प्रवाह गर्छ। सूचनाका आधारमा भूकम्पको तीव्रताबारे पनि पता लगाउन सकिने एलेनको दाबी छ।

‘भविष्यमा आउनसक्ने भूकम्पको सूचना आफ्ना प्रयोगकर्तालाई दिएर सावधानी अपनाउन मद्दत गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने। यो एपले बाहिरी रूपले हुने हलचल र जमिनभित्र हुने हलचल छुट्याउन सकिने एलेनले बताए।

ठूलो तीव्रताको भूकम्प आउन केही समय लाग्ने र त्यसअघि नै जमिनको हलचल सुरु भइसक्ने हुँदा यसबारे सूचना प्रवाह गर्न सकिने उनको दाबी छ। यसले भूकम्पबाट हुनसक्ने खतरा महसुस गर्दै मानिसहरू सुरक्षित स्थानमा जान सक्नेछन्।

भूकम्पबाट बच्न केही सेकेन्ड नै काफी भएको एलेनले बताए। ‘भूकम्पबाट जोगिन केही सेकेन्ड नै काफी हुन्छ। यही छोटो समयमा मानिसहरू सुरक्षित स्थानतर्फ जान सक्छन्,’ उनले भने। उनका अनुसार १० किलोमिटर क्षेत्रभित्र पाँच रेक्टरस्केलको भूकम्पबारे सूचना पाउन सकिन्छ।

वैज्ञानिकहरूका अनुसार भूकम्पबारे सूचना पहिल्यै दिनसके पचास प्रतिशतले क्षति कम गर्न सकिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *