http://www.dreamstime.com/royalty-free-stock-photography-petrol-pump-image2972037

नेपाल आयल निगमले शुक्रबारदेखि इन्धन वितरण नियमित गर्ने बताएको छ। सरकारले राजधानीका सबै पेट्रोल पम्पबाट शुक्रबारदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल वितरण गर्ने निर्णय गरेको छ। तर, नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार मोटरसाइकल र स्कुटरहरुलाई एकपटकमा ५ लिटरभन्दा बढी पेट्रोल दिइने छैन। चारपांग्रे गाडीले एकपटकमा १५ लिटरभन्दा बढी पाउने छैनन्।

वीरगन्ज नाका खुलेपछि बिहीबार आपूर्ति मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको थियो। बैठकले आपूर्ति सहज भएको निष्कर्ष निकाल्दै शुक्रबारदेखि सबै पम्पलाई पेट्रोल र डिजल बाँड्ने निर्णय गरेको हो। तर ग्यास आपूर्तिबारे भने कुनै निर्णय भएको छैन। उपभोक्तालाई परिमाण तोकेर तेल दिन लागिए तापनि ग्यास सहज हुन भने अझै केही समय लाग्ने बताइएको छ।

घिमिरेले केही दिनका लागिमात्र परिमाण तोकेको बताए। आपूर्ति थप सहज भएपछि मागेजति तेल दिन सकिन्छ,’ उनले भने, ‘यो कोटा पनि केही दिनका लागि मात्रै हो।’

राजधानीमा दैनिक साढे तीन लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल बाँडिनेछ। सामान्य अवस्थामा यति तेलले उपत्यकाको माग धान्ने भएकोले यो परिमाण तोकिएको निगमले बताएको छ।

दिउँसो एक बजेसम्म थानकोट डिपोबाट पम्पलाई पेट्रोल र डिजेल दिइसक्ने योजना निगमले बनाएको छ। पम्पहरुले साँझसम्म बाँड्ने अनुमान छ।

आयल निगमलाई इन्धन आपूर्ति गर्ने इन्डियन आयल कर्पोरेसनको रक्सौल डिपोले माग अनुसार दिन थालेपछि मुलुकभर इन्धन आपूर्ति बढेको छ। नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थको ७५ प्रतिशत रक्सौल डिपोबाट आउने बताइन्छ।

रक्सौलबाट बुधबारमात्र १३ सय ६८ किलोलिटर पेट्रोलियम पदार्थ भित्रिएको थियो। बिहीबार साँझसम्म १७ सय किलोटिर भित्रिने अनुमान निगमले गरेको छ। निगमसँग १५ सय १० किलोलिटर पेट्रोल र २८ सय किलोलिटर डिजेल मौज्दात छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *