Jp-Sarat-sing-Raj-kishor-and-Anil-jha

नयाँ संविधानप्रति बिमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा तराई–मधेस केन्द्रित साना तीन संसदीय पार्टीहरु थपिने भएका छन्। बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनबीच भएको छलफल पछि गठबन्धनमा आवद्ध तीन संसदीय दल मोर्चामा थपिने भएका हुन्। ‘शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसको औपचारिक घोषणा गरिनेछ, मोर्चा भित्र नै नै तीन दल थपिने निर्णय बिहीबार भएको छ’, सहभागी स्रोतले भन्यो। तराई–मधेसमा आन्दोलनरत महागठबन्धनको प्रयास भइरहेको बेला मोर्चा भित्रै नै तीन दल समावेश हुन सहमत भएका हुन्।
संघीय समावेशी मधेसी गठबन्धनमा रहेका ४ दल मध्ये संसदमा प्रतिनिधित्व गर्ने शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी दल, अनिलकुमार झाको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक मोर्चामा सामेल हुन लागेका हुन्।
उक्त गठबन्धनमा रहेर पनि संसदमा प्रतिनिधित्व गर्न नसकेकोको जयप्रकाश प्रसाद गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानलाई भने मोर्चामा समावेश गराउने काम भएन। बिजुलीबजारमा भएको उक्त छलफलमा साना तीन दल मध्ये झा र यादवको उपस्थिति रहेको थियो। भण्डारी भने मुलुकबाहिर रहेकाले उपस्थित हुन सकेनन्। ‘संसद भित्र रहेका दल मात्रै मोर्चामा रहने भनिएपछि गुप्ताजीको पार्टी मोर्चामा समावेश हुन सकेन,’ एक सहभागीले भने, ‘उहाँलगायत संसद बाहिर रहेका अन्य दललाई अर्को ढंगले समावेश गरिनेछ ।’
भण्डारी स्वदेश फर्के लगत्तै ७ पार्टीको अध्यक्ष उपस्थित भएर मोर्चामा तीन दल थपिने औपचारिक रुपमा घोषणा गरिनेछ । त्यसका लागि शुक्रवार ३ बजे पत्रकार सम्मेलन गर्ने गरी बिहीबारको द्विपक्षीय बैठक सम्पन्न भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *