Sushil Koirala

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अनलाइनखबरलाई जानकारी दिए । उनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अवस्थ भएका कारण उनी जान सकेनन् ।

राति उनको निधन भएको छ । उपचारमा संलग्न चिकित्सकहरूले निमोनियाका कारण कोइरालाको निधन भएको बताएका छन् । कोइरालाको पार्थिव शरीरलार्इ उनकै निवासमा राखिएको छ । विहान ८ बजेपछि अन्तिम  श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ ।

रातिदेखि नै कोइराला निवासमा कांग्रेस नेता कार्यकर्ताहरु भेला भएका छन् । महाधिवेशनका सबै प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने कांग्रेसले निर्णय गरेको छ ।

को हुन् सुशील कोइराला ?

७६ वर्षीय सुशील कोइराला अन्तिम समयसम्म पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा थिए। कोइराला विसं २०६८ असोजमा भएको १२औं महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै पार्टीको सबैभन्दा उच्च पद सभापतिको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि कोइरालाले कार्यबाहक सभापति र महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए।

२०३४ सालपछि पार्टीको केन्द्रीय नेतृत्वमा निरन्तर रहेका कोइराला राजतन्त्रविरुद्ध तथा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए। ११औं महाधिवेशनपछि उपसभापतिको जिम्मेवारी सम्हालेका कोइराला २०६४ असोजमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणसँगै कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि नै कोइरालाले पार्टी महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि देशका ३७औं प्रधानमन्त्री भइसकेका कोइरालाको राजनीतिक यात्रा सुरु भएको थियो। राजाको ‘कू’पछि भारत निर्वासनमा रहेका बिपी कोइरालाको सहयोगीका रूपमा उनले राजनीतिक यात्रा प्रारम्भ गरेका थिए।

खुला राजनीतिमा धेरैपछि प्रवेश गरेका कोइरालालाई समाजका विभिन्न आयामसँग टाढा र खुला राजनीतिक संस्कारलाई अँगाल्न नसकेको आरोप पार्टीभित्रै पनि लाग्ने गरेको थियो। लोकतन्त्रप्रतिको निष्ठा र लगावलाई यिनका विरोधीहरू पनि प्रशंसा गर्छन् भने आलोचकहरूले सानो घेरामा विश्वास गर्ने नेताका रूपमा हेर्ने गर्छन्।

अविवाहित कोइरालाले २०१६ सालअघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए। कोइराला कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरेको थियो। त्यसपछि बदलिएको घटनाक्रमसँगै उनको राजनीतिक यात्रा सुरू भएको थियो।

कृष्णप्रसाद कोइराला सिन्धुलीको दुम्जाबाट व्यापार गर्न मोरङको रंगेली झरेका थिए। भन्सार ठेक्काको काम थालेका कृष्णप्रसादले आफ्नो व्यापारका लागि आवश्यक कामदार पनि आफ्नै गाउँबाट ल्याएका थिए। सोही क्रममा सुशील परिवार पनि रंगेली झरेका हुन्।

जागिरका क्रममा सुशीलका पिता बोधप्रसाद नेपालगञ्ज पुगेका थिए। लामो समय बोधप्रसाद नेपालगञ्ज बसेका थिए। डीएफओ भएर बोधप्रसाद लामो समय नेपालगञ्ज बसेपछि सुशील उतै बस्न थालेका हुन्। उनको भाइ (अशोक) अहिले पनि बिराटनगरमै बस्छन् भने अरुण र विजय नेपालगञ्जमा। अरुण र अशोक दुबै कांग्रेसमा सक्रिय छन्।

बीपी, गिरिजाप्रसाद कोइरालाको भाइका रुपमा सुशीललाई कांग्रेसका नेता तथा कार्यकर्ताले हेर्ने गरेका छन्। सुशीलकी आमा बीपी/जीपीका आमाको बहिनी हुन्।

२०५१ को मध्यावदी र २०६४ मा भएको संविधानसभा निर्वाचनका पराजीत कोइराला २०५८ मा भएको संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवासँग पराजीत भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *