Parsa-gas bulet

वीरगन्ज नाकाबाट आज तीन बुलेट खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाका केन्द्रित आन्दोलन थालेपछि रोकिएकामा आज पहिलोपटक वीरगन्ज नाकाबाट खाना पकाउने ग्यास बुलेट नेपाल भित्रिएको हो । विगत चार महिनादेखि रक्सौलको लक्ष्मीपुरमा थिन्किएर रहेको ग्यास बुलेट सर्वसाधारणले नाका खुलाएपछि वीरगन्ज भित्र्याइएको नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रले जनाएको छ ।

यसैबीच नाका अवरुद्ध गर्न वीरगन्जको मितेरीपुलमा पुगेका मोर्चाका नेता कार्यकर्तालाई भारतीय नागरिक तथा व्यापारीले कुटपिट गरी लखेटेका छन् । पहिले नेपालको अन्य सबै नाका बन्द गरेपछि मात्र वीरगन्ज नाका बन्द गर्न आउने भन्दै सर्वसाधारण तथा व्यापारीले मोर्चाका नेता कार्यकर्तालाई मितेरीपुलबाट थपाएका हुन् ।

नाका अवरुद्ध गर्न मितेरीपुलमा पुगेका मोर्चाका नेता कार्यकर्ता रक्सौलका नागरिकको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता आएका छन् । सीमा क्षेत्रमा अवरोध हुन नदिन स्थानीय प्रशासनले उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

यसैबीच आज पनि भारतबाट नेपालका लागि सामान भरिएका मालबाहक वाहन वीरगन्ज नाकाबाट भित्रिने क्रम जारी रहेको वीरगन्ज भन्सारले जनाएको छ । रासस/तस्बिर : विजयकुमार महतो




Leave a Reply

Your email address will not be published. Required fields are marked *