Tharuhat-Birodh-Sabha
फाइल तस्बिर

कैलाली र कन्चनपुरसहितको थरुहट प्रदेशको माग गर्दै सुरु भएको आन्दोलन सात महिनामा पुगेको छ । सुरुमा आमसभा, र्‍या ली जुलुश, अन्तर्क्रिया लगायतका विभिन्न कार्यक्रम गर्दै आएका थरुहट आन्दोलनकारीले साउन २२ देखि पहिचान र थहरुटको माग गरी आन्दोलन गर्दै आएका छन् ।

टीकापुर घटनापछि थरुहट आन्दोलनमा केही शिथिलता आएपनि आन्दोलन नरोकिएको थरुहट आन्दोलन कैलालीका संयोजक कृष्णकुमार चौधरी कुन्दन ले बताए । ‘पहिचान र संघीयताका लागि भइरहेको आन्दोलन माग पूरा नभएसम्म जारी रहन्छ’ उनले शनिवार कैलालीको पहलमानपुरमा आयोजित कार्यक्रममा भने ।

पहिचानको मुद्दा बोकेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक मुद्दा सम्बोधन नभइ सरकारमा सहभागी भएकोले थारुको आन्दोलन केही कमजोर भएको थरुहट संघर्ष समितिका प्रवक्ता माधव थारुले बताए । ‘आन्दोलनका बलमा केही सिमित व्यक्तिले फाइदा लिएको महसुस थारु समुदायमा भएको छ,’ उनले भने, ‘फोरम लोकतान्त्रिकले सरकार छोड्ने वित्तिकै थारु आन्दोलनले फेरि गति लिन्छ ।’

सभासद जनक चौधरीले केपी ओली नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिक सात बुदे सहमतिमा गएको र त्यो सहमति कार्यान्वयनतर्फ अधि नबढे चाडै सरकार छोड्न सक्ने बताए । उनले भने, ‘सरकारले मंसीर १७ गते नै टीकापुर घटनामा संलग्न आरोपमा पक्राउ परेकाहरुको मुद्दा खारेज गर्ने र आगजनी भएका घरकालाई क्षतिपुर्ति दिने निर्णय भएको छ । निर्णय कार्यान्वयन नभए धेरै समय सरकारमा बस्दैनौं ।’

भदौ ७ को घटनामा थारुलाई एकतर्फी रुपमा आतंकारी देख्ने सरकारले भदौ ८ टीकापुरमा भएका थारुका घरमा आगजनी गर्नेलाई कुनै कारवाही नगर्नुले राज्यको पक्षपातपुर्ण व्यवहार स्पष्ट भएको उनले बताए । उनले भने- ‘भदौ ७ गतेको घटना शेरबहादुर देउवा र भीम रावलका कारणले भएको स्पष्ट हुँदाहुँदै २२ जना थारुलाई पक्राउ गरी जेलमा राखेको छ । ८ गतेको घटनाको जिम्मा यो देशका शासकले लिने कि नलिने ?’

जनसभामा टीकापुर घटना गराएको आरोपमा निर्दोष थारुलाई पक्राउ गरेको र उनीहरुलाई तुरुन्त बिना सर्त रिहा गनुपर्ने आन्दोलकारी नेताले माग गरे । सभामा डा. ओम गुरुङ, अशोक राई, देव गुरुङ, सभासदहरु जनक चौधरी, गंगा थारु, कासीम अली सिद्धिकी लगायतका वक्ताले सम्बोधन गरका थिए ।

गणेश चौधरी/इकान्तिपुर




Leave a Reply

Your email address will not be published. Required fields are marked *