index-page

नेपाल टेलिकमले `मिट’ नामक नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याएको छ। एसएमएस, फोटो, अडियो र भिडियोसमेत सेयर गर्न सकिने गरी आएको यस सामाजिक सञ्जाल मंगलबार सूचना तथा सञ्चार मन्त्री शेरधन राईले शुभारम्भ गरे।
मिटको सहयोगले टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिने टेलिकमले जनाएको छ। त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रियासमेत गर्न सकिनेछ। यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको टेलिकमले जनाएको छ।
ब्रान्ड नाम ‘मिट’ राखिएको यस सञ्जाललाई डब्लुडब्लुडब्लु डट मिट डट नेट डट एनपी डोमेनबाट सञ्चालन गरिएको छ। टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुप युनिफाइड कम्युनिकेसन सिस्टम (युसिएस)को रुपमा विकास गर्न ल्याइएको सेवा भएको जनाएको छ। कम्पनीका मोबाइल (जिएसएम, सिडिएमए) यसको डट मिट डट नेट डट एनपी आफ्ना निश्चित विवरण भरी रजिष्टर गरेर यो सेवा उपभोग गर्न सकिने कम्पनीले जनाएको छ।
उक्त अवसरमा मन्त्री राईले देशका सबै स्थानमा गुणस्तरीय सेवा पुर्‍याउने र नयाँ प्रविधि भित्र्याउने सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले पहिलेदेखि नै नयाँ नयाँ सेवा प्रदान गरिरहेको र यो सेवा पनि त्यसैको एउटा निरन्तरता भएको बताए।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सरकारको नीति र निर्देशनबमोजिम कम्पनीले विभिन्न कार्य गरिरहेको स्मरण गर्दै विभिन्न चुनौतिको बाबजुद पनि सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले कार्य गरिरहेको र अहिले यस प्रकारको नयाँ सेवा पनि उपलब्ध गराउन पाएकोमा कम्पनी गौरवान्वित भएको बताए। सो कार्यक्रममा नेपाल टेलिकम सूचना प्रविधि निर्देशनालयका वरिष्ठ इन्जिनियर प्रदीप खतिवडाले नयाँ सेवाबारे आवश्यक जानकारी गराए।

नेपाल टेलिकमले यही सेवामार्फत ग्राहकलाई प्रतिदिन दश वटा एसएमएस निःशुल्क प्रदान गर्नेछ। त्यसैगरी यो सेवामार्फत प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा एसएमएस पठाउन पनि सकिन्छ।

यो साइटमा क्रमिकरुपमा ग्राहकका चाहना बमोजिम आगामी दिनमा अन्य सेवाहरुसमेत उपलब्ध गराउँदै जाने कम्पनीको जानकारी गराएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *