टीकापुरमा थारुको शक्ति प्रदर्शन, फेरि उठ्ला थारु आन्दोलन ?

मदन चौधरी/टीकापुर।
टीकापुर घटनाको चार वर्षपछि थारुहरुले शक्ति प्रदर्शन गर्दैछ । त्यो पनि टीकापुर नगरीमै । भलै यो प्रदर्शनलाई थरुहट थारुवान राष्ट्रिय सम्मेलन नाम दिइएको छ । थारुहरुले यही सम्मेलनमार्फत् विगत चार वर्षदेखिको कुन्ठा र वेदनालाई आत्मसमीक्षा गर्दैछ ।

सम्मेलनमा देशैभरिबाट कम्तीमा तीन हजार प्रतिनिधि गरी दस हजार बढीको उपस्थिति रहनेछ । त्यसका अलावा समाजवादी पार्टीबाट बाबुराम भट्टराई, राजपाबाट लक्ष्मणलाल कर्ण, विश्लेषक खगेन्द्र संग्रौला, किशोर नेपाल, विजयकान्त कर्ण, युग पाठक, भास्कर गौतम, जनजाति नेताहरु कुमार लिङ्देन, ओम गुरुङ, जगत बरामलगायतको उपस्थिति रहनेछ ।

आयोजकका अनुसार प्रमुख सत्तापक्ष नेकपाका अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्ता दिइएको थियो । दुबै नेता सम्मेलनमा आउन इच्छुक नभएपछि दोस्रो तहका नेताहरुलाई बोलाउने प्रयास गरिएको थियो । ‘प्रमुख अतिथिको रुपमा प्रचण्ड र शेरबहादुर दुवै नेतालाई प्रस्ताव गरेका थियौं,’ सम्मेलनका केन्द्रीय संयोजक मिनराज चौधरीले भने, ‘उहाँहरु इच्छुक नदेखिएपछि दास्रो तहका नेताहरुलाई निमन्त्रणा बाँडेका छौं । आशा छ कोही न कोही आउनुहुन्छ ।’

सम्मेलनको ग्रान्ड डिजाइन
संविधानमा आफ्नो अधिकार सुनिश्चितताको माग गर्दै थारुहरुले २०७२ साउन २५ गतेदेखि आन्दोलनमा होम्मियो । त्यही आन्दोलनको उपज थियो, ७ भदौ २०७२ को टीकापुर घटना । घटनामा ८ प्रहरी र एक बालकको मृत्यु भयो । मृत्यु हुनेमध्ये एक हवल्दार रामबिहारी थारु थिए । तैपनि मृत्युको सम्पूर्ण दोष थारुहरुमाथि लगाइयो । ‘थारुहरुले पुलिस मारे’ भन्दै प्रहरी, प्रशासन र मिडियाको अचानोमा थारुहरु पटकपटक परिरहे । त्यसका अलवा प्रहरीले २७ जनालाई पक्राउ गरी जेलमा हाल्यो । प्रहरी प्रशासनको धरपकडले सयौं युवाहरु सीमापार लुक्न बाध्य भए÷छन् । तर ८ भदौ २०७२ गते कर्फ्युकाबीच प्रहरी, प्रशासनको आडमा थारुहरुको रिसोर्ट, एफएम, पसल, घर जलाउनेहरु टीकापुर बजारमा खुल्लेआम हिँडिरहेका छन् ।

बीच बजारमै रहेको निरु ट्रेडर्समा आगजनीमात्र गरिएन, घरभित्र रहेका थारुहरुलाई मार्ने प्रयासै भयो । ‘त्यो दिन पसलमात्र होइन, हामीलाई मार्ने योजनासहित एक हुल आएका रहेछन्,’ ती दिन सम्झिँदै सञ्चालक शिवनारायण चौधरीले भने, ‘कौशीबाट भागेर ज्यान नबचाएको भए सायद आज जिउँदो हुने थिएन ।’ शिवनारायणको कथाब्यथा टीकापुर आसपास गाउँमा व्याप्त छ । प्रहरीले आन्दोलनमा सहभागी नै नभएका व्यक्तिहरुलाई पक्रेर जेल कोच्न थालेपछि थारुहरु झनै संशकित बनेका थिए ।

कैलाली जिल्ला अदालतको फैसलापछि १६ जना रिहा भए । तर कैलाली क्षेत्र १ बाट निर्वाचित भएका रेशमलाल चौधरीसहित ११ जनालाई भने आजीवन काराबास सजाय सुनाइयो ।

४२ महिनासम्म जेलमा उकुसमुकुस भएर बसेका थरुहट नेता लक्ष्मण थारु, रामप्रसाद थारु बाहिर निस्किएपछि चुपचाप बसेनन् । एउटा टिम बनाए, टिम लिएर उनीहरु पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको यात्रा गरे । थारु गाउँहरु डुले, थारु युवाहरुसँग अन्तरक्रिया गरे । सबै ठाउँको निष्कर्ष एउटै हुन्थ्यो, ‘आन्दोलनको विकल्प छैन ।’ यदि हुँदो हो त सत्तामा पटक पटक पुगेका थारु नेताहरुले टीकापुर घटनाको मुद्दालाई छिनोफानो गरिसक्थे ।

त्यसपछि लक्ष्मण थारुको नेतृत्वमा काठमाडौंमा देशभरिका थारु अगुवाहरुको भेला भयो । १८ जेठ २०७६ को त्यही भेलाले थरुहट थारुवान राष्ट्रिय सम्मेलनको नाममा शक्ति प्रदर्शन गर्ने निर्णय ग¥यो । यो प्रदर्शनले राज्य सत्ताको आँखा भूमीपुत्र थारुहरुमा परुन भन्ने उद्देश्य आयोजकले लिएको छ ।

संविधानमा थारुहरुको असहमति
थारुहरुले संविधानमा आफ्नो पहिचान र अधिकार खोजेको थियो, आफ्नो भूगोल खोजेको थियो । राज्यको हरेक संयन्त्रमा समावेशी अधिकारको प्रत्याभूति होस् भनी चाहेको थियो । तर यी कुनै पनि चिज नपाउने भएपछि थारुहरु फेरि आन्दोलित बने । थरुहरुले अहिले पनि संविधानका केही धारा, उपधारा संशोधन गराएर आफ्नो पहिचान र अधिकार सुनिश्ति गराउन चाहन्छन् । थारुहरु आफ्नो भूगोल चाहन्छन् । राज्यलेमात्र होइन, खाइपाई आएका जमिन्दारले थारुहरुलाई कमैया कमलरी बनाइ शोषण गरे । त्यो शोषणबाट थारुहरु मुक्त हुन चाहन्छन् ।

त्यतिमात्र होइन, टीकापुरमा लागेको दाग थारुहरु मेटाउन चाहन्छन् । पहिचान र अधिकारको लडाइँमा भएको घटनालाई राजनीतिक तवरले समाधान होस् भनी चाहन्छन् । ३४ हजार ३४१ मत ल्याई टीकापुरको म्यन्डेट पाएका रेशम चौधरी बिनासर्त रिहामुक्त होस् भनी चाहन्छन् । कर्फ्युका बीच थारु घर, पसल चलाउनेहरुलाई कानुनी दायरामा ल्याई कारबाही भएको हेर्न चाहन्छन् थारुहरु । थारुहरुको यी अधिकारलाई राज्यले बेवास्ता गर्ने हो भने यो शक्ति प्रदर्शनको अर्को स्वरुप आन्दोलन नहोला भन्न सकिन्न ।

सम्मेलनपछि के हुन्छ ?
भदौ ८ गते थारुहरुले विगत चार वर्षको वेदनालाई आत्मसमीक्षा गर्दैछ । थारुहरु कहाँ चुके, कहाँनेर गल्ती गरे, कतिबेला कसको बहकाउमा परे ? टीकापुरको सद्भाव कसले बिगा¥यो ? थारु पहाडीबीचमा झगडा कसले लगायो ? एक एक प्रश्नको जवाफ थारुहरु आफैँबाट खोज्दैछन् । त्यसको लागि संयोजक मिनराज चौधरीले तयार १६ पृष्ठको अवधारणा पत्र लेखेका छन् । जसको सार पहिचान र अधिकारको लडाइँमा थारुहरुले धेरैपटक बलिदानी गरिसकेका छन् । राज्यले अmझै पनि देशको चौथो ठूलो जनसंख्यालाई बेवास्ता गर्छ भने थारुहरु फेरि पनि बलिदानी दिन पछि पर्ने छैनन् ।

आयोजकले तीन चरणमा आन्दोलनको खाकासमेत तयार पारेको छ । जसमा डेलिगेसन जाने, थारु युवा दस्ता परिचालन गर्ने, सरकारलाई अल्टिमेटम दिने, नसुने तीन दिने आम हड्ताल र त्यसपछि अनिश्तिकालीन आन्दोलनको घोषणा गर्नेसम्म रहका छन् ।

थारुमाथि राज्यको गिद्धे नजर
टीकापुर आफैँमा संवेदनशील थिएन, न आजको दिनमा छ । तर प्रहरी प्रशासनले टीकापुरलाई अति संवेदनशीलको सूचीमा राख्ने गरेको छ । कारण एउटै हो, ८ जना प्रहरी मारिनु । प्रहरी मारिनुमा दोष थारुको थिएन । अधिकारको लडाइँ लड्दैगर्दा भएको दुर्घटना थियो त्यो । जुन दुःखद थियो । नेपालमा यस्ता कयौँ घटना घटेका, घटाइएका छन् । घटाउनेहरु नै आजका दिनमा देशको बागडोर पनि सम्हालिरहेका छन् । माओवादी जनयुद्धकालमा सबैभन्दा धेरै थारुहरु मारिए, थारुवान प्रदेशका निम्ति । आज त्यही भूगोल माग्दा उनीहरु अपराधी ठहरिएका छन्, जेलमा कोचिएका छन् ।

यसअघि टीकापुरमा प्रमुख पार्टीहरुले सभा सम्मेलन गरे । सभा, सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवाले भाषण दिएर गए । टीकापुरको सद्भाव बनिरह्यो । आज थारुको कार्यक्रम भइरहँदा गाउँगाउँ प्रहरी गस्ती गराइएको छ । हजार बढी प्रहरी परिचालन गरिएको छ । सम्मेलन स्थल आउनेलाई अनिवार्य पास बोक्नुपर्ने नियम लागू गरिएको छ । यसअघि यी नियम कुनै पनि नेता वा पार्टीको सभा सम्मेलनमा लागू गरिएको थिएन । तसर्थ राज्य अहिले पनि थारुहरुलाई गिद्धे नजरले हेर्दैछ । जबसम्म लोकतान्त्रिक राज्यमा बसोबास गर्ने थारुलगायत आदिवासीको पहिचान र अधिकार सुनिश्चित गरिँदैन, तबसम्म जुनसुकै सरकारले लिएको समृद्धिको नारा कहिल्यै सफल हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *