टीकापुर सम्मेलनको सत्यता

इन्दु थारु।
टीकापुरमा हुन गइरहेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनको चर्चा यत्रतत्र सर्वत्र छ । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनको क्रममा घटेको घटना र त्यही मिति, त्यही स्थानमा थरुहट थारुवान सम्मेलनको घोषणाले अझै ठूलो बहसको विषय बन्न पुगेको छ ।

देशभरिका पचास बढी थारु अगुवाहरुको उपस्थितिमा जेठ १८ गते काठमाडौंमा सम्पन्न भेलाले ५१ सदस्यीय थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिति गठन गर्यो । उक्त समितिले भदौ ७, ८ र ९ गते टीकापुरमा थारुहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरी पत्रकार सम्मेलनमार्फत् घोषणा गर्यो । तयारी समितिले आफ्नो कार्यक्रम घोषणा गरेपछि, काम नगर्ने तर आफूलाई थारु आन्दोलनको ठेकेदार ठानिरहनेहरुलाई किन पो पच्थ्यो र ? तयारी समितिको विरोध गर्न थालिहाले । स्मरण रहोस्, टीकापुरमा हुने सम्मेलनको विरोध गर्नेहरुले टीकापुर घटनापश्चात थारु आन्दोलनका लागि उपब्धिमूलक कुनै गतिविधि अगाडि बढाएनन् ।

विरोध गर्नेहरुले यो कार्यक्रम लक्ष्मण थारुको कार्यक्रम हो भने । लक्ष्मण थारुले कुनै कार्यक्रमको आयोजना गर्नै नहुने हो उसोभए ? न आफूले गर्ने, न लक्ष्मण थारुले गरोस् भन्ने चाहना हो ? त्यसै पनि कार्यक्रमको संयोजक लक्ष्मण थारु होइनन् । उनी कार्यक्रमको प्रमुख सहयोगीचाहिँ हुन् । कार्यक्रमको संयोजन मिनराज चौधरीले गर्दैछन् ।

२०७२ भदौ ७ को टीकापुर घटनापश्चात लक्ष्मण थारु, रेशम चौधरी, लाहुराम चौधरी, रामप्रसाद चौधरी लगायतका २७ जना थारु नेता, कार्यकर्ता र सर्वसाधारणलाई जेल कोच्ने काम भयो । टीकापुर घटना भइरहँदा लक्ष्मण थारु दाङमा थिए । लाहुराम चौधरी कैलालीको सिडिओ कार्यालयमा थिए । (यसको प्रत्यक्ष साक्षी एक म पनि हुँ) ।

लक्ष्मण थारुले टीकापुर घटनाबारे फेसबुकमा स्टाटस लेखेका कारण र लाहुराम चौधरी धनगढीको दिनेश एफएमको एक अन्तरवार्तामार्फत् टीकापुर आन्दोलनको नैतिक जिम्मेवारी लिएका कारण ३ वर्ष कैद जीवनको फैसला सुनाइयो । घटनास्थलमै उपस्थित नरहेका नेताहरुलाई केवल थारु आन्दोलनको नेतृत्व गरेका कारण ४२ महिना जेल जीवन बिताएपश्चात ३ वर्षको जेल सजाय सुनाइएको थियो ।

४२ महिना जेलमा कैद हुँदा बाहिरका थारु नेताहरुले आन्दोलनको गतिविधि केही गरेनन् । गरे पनि त्यो कर्मकाण्डीय थियो । थारु कल्याणकारिणी सभाले काठमाडौँको बानेश्वरमा दिउँसै लालटिन बालेर आन्दोलनको कार्यक्रम गरेको थियो । आन्दोलनको त्यो लालटिन निभेपछि फेरि जल्न सकेन । सडकमा थारु आन्दोलन सुनसान भएको थियो । थारु आन्दोलन फेसबुकको भित्तामा सिमित हुन पुगेको थियो । थारु नेताहरुले विज्ञप्तिमा मात्र आन्दोलनको बिउ जोगाएका थिए ।

टीकापुर घटनापश्चात टीकापुर र धनगढीमा कफ्र्यु जारी गरियो । कैलालीका थारु नेता कार्यकर्ताहरु भागाभाग र अर्धभूमिगत बस्ने स्थिति थियो । कैलालीका थारु नेता कार्यकर्ता कृष्ण कुमार चौधरी, माधव चौधरी, होरीलाल चौधरीलगायत भागाभाग र अर्धभूमिगत बस्ने स्थिति थियो । त्यसका बाबजुद पनि कैलालीको मसुरिया, हसुलिया, सुख्खड, पहलमानपुरलगायत विभिन्न स्थान गरी २५ वटा थरुहट आमसभा भए । सधैं आन्दोलन एउटै गतिमा बढ्न नसक्ने भएकोले कैलालीको आन्दोलन पनि सेलाउँदै गयो ।

आन्दोलन सेलाए पनि आन्दोलनकारीहरुमा ऊर्जा जीवितै थियो । आन्दोलन सही ढंगले अगाडि बढाउन नसक्नुको उकुसमुकुसले मन पोलेको थियो । ‘केही त गरौं, यसरी चुप लागेर कति दिन बस्ने’ भन्ने विचार मिल्नेहरुले बर्दियाको ठाकुरद्धारामा २०७५ चैत १६ मा थारुहरुको भेला बोलाए । आफूले पनि केही नगर्ने, अरुले केही गरेको देख्न पनि नसक्नेहरुले उक्त भेलाको समेत विरोध गरेका थिए । उक्त भेलामा १७ जिल्लाबाट ६०० बढीको सहभागित थियो । ‘भेलाले थारु कल्याणकारिणी सभाले सबै पक्षका थारुहरुलाई एक ठाउँमा ल्याउनका लागि राष्ट्रिय भेलाको आयोजना गरोस्’ भन्ने म्यान्डेट पास गरेको थियो । बर्दिया भेलाको म्यान्डेट थाकसले स्वीकार नगरेपछि थारुहरुको अर्को भेला जेठ १८ गते काठमाडांैमा बोलाइयो । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरी भदौ ७, ८ र ९ गते टीकापुरमा सम्मेलन गर्ने उद्घोष भएको थियो ।

काठमाडांैको भेलामा छुटेका र समेट्न नसकेका थारु संघसंस्था, नेता कार्यकर्ताहरुसँग बहस र छलफल चलाई सबैलाई गोलबद्ध गर्ने तयारी समितिले निर्णय गरेको थियो । त्यहीअनुरुप तयारी समितिको गतिविधि अगाडि बढ्दै गयो । तयारी समितिले थारु कल्याणकारिणी सभासँग धेरै चरणमा छलफल गर्ने प्रयास ग¥यो । छलफलका लागि लिखितरुपमा आधिकारिक पत्रसमेत पठायो । तर थाकस नेतृत्वले छलफलका लागि चासो दिएनन् । आफूलाई थरुहट थारुवान संयुक्त संघर्ष समिति भनेर चिनाउनेहरुले तयारी समितिले आफ्नो नाम थरुहट थारुवान राखेकोमा चित्त दुखाई गरे ।

थरुहट थारुवान कसैको व्यक्तिगत सम्पत्ति होइन, न यो कसैको नाममा दर्ता गरिएको छ । थरुहट थारुवान सबैको साझा हो । थरुहट थारुवान आन्दोलनका लागि रगत पसिना बगाउने सबैलाई यो शब्द प्रयोग गर्न उत्तिकै अधिकार छ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिति, थारु कल्याणकारिणी सभाको समानान्तर संस्था होइन । न थरुहट थारुवान संयुक्त संघर्ष समितिको सामानान्तरमा बनेको हो । हुन्थ्यो भने तयारी समिति नाम नराखी संघर्ष समिति नै नाम राख्न कसैले रोक्न सक्दैनथ्यो । तर रेशम बचाउ अभियान समितिले सप्तरीमा कार्यक्रम गर्दा विरोध गर्नेहरुले तयारी समितिको कार्यक्रमको पनि विरोध गरे । विरोध गर्नेहरुले रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय तोकिदा आफूहरुले भने एउटा पनि कार्यक्रम गरेनन् ।

केही थारुहरुकै विरोधको बाबजुद पनि टीकापुर सम्मेलन हुनेमा कुनै दुईमत छैन । सम्मेलन सफल पार्नका लागि अग्रसर हुन थारु कल्याणकारिणी सभा कैलालीले लिखित निर्णय गरेको छ । तयारी समिति कैलालीका संयोजक माधव चौधरी, तयारी समितिका केन्द्रीय सल्लाहकार कृष्ण कुमार चौधरी लगायतको टोली जिल्ला दौडाहामा छन् । ४२ महिना बन्दी जीवन बिताई रिहा भएका रामप्रसाद चौधरी सम्मेलनको व्यवस्थापन समिति संयोजक छन् । सम्मेलनको सम्पूर्ण व्यवस्थापनका लागि उनीसँगै रिहा भएका चुन्निराम चौधरी पनि लागिपरेका छन् ।

सम्मेलनको तयारी

थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्र गतिमा बढिरहेको छ । सबै पक्षका नेताहरुसँग निरन्तर छलफल बहस भइरहेको छ । जिल्ला, नगर÷गाउँ स्तरीय नेता, कार्यकर्ता, भलमन्सा, बुद्धिजीवी, युवाहरुसँग व्यापक छलफल भइरहेको छ । कार्यक्रमको उत्साह यति उत्कर्षमा पुगेको छ कि गाउँ गाउँमा बस्ने बैठकहरुमा पुग्न आयोजक टिमलाई भ्याई नभ्याई छ । कार्यक्रममा सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायसँग समन्वय भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदिप गिरी, सशस्त्र एसपी र राष्ट्रिय अनुसन्धान कैलालीका प्रमुखसँग आयोजकले छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले टीकापुर सम्मेलनलाई सद्भाव कायम गर्न नमूना कार्यक्रम बनाउनपर्ने बताएका छन् । टीकापुरको संवाद समिति, राजनीतिक दल, पत्रकारहरुसँग समेत समन्व्य भएको छ । सबैले कार्यक्रम भव्य र सभ्य बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा आउने अतिथि र सहभागीहरुलाई गाउँमा बस्ने व्यवस्था मिलाइएको छ । बाहिरी जिल्लाबाट तीन हजार सहभागी आउने आँकलन गरिएको छ । ती सहभागीहरुलाई टीकापुर नजिकका थारु गाउँहरुमा बस्ने व्यवस्था गरिएको छ । टीकापुर नगरपालिकाको पक्की बाटोसँग जोडिएका २७ गाउँका भलमन्साहरुसँग बासका लागि समन्व्य भएको छ । त्यसो हुँदा अन्य जिल्ला र टीकापुरका थारुहरुको अन्तरघुलनमा सहयोग पुग्ने विश्वास छ ।

सम्मेलन रचनात्मक बनाउन पहल
विगतमा गरिने कार्यक्रमभन्दा फरक देखाउन आयोजकले पहल थालेको छ । कार्यक्रममा आउने सहभागीहरुलाई हातमा फूल लिएर आउन अनुरोध गरिएको छ । त्यस्तै सहभगीहरुलाई आफ्नो पहिचान झल्किने पहिरनमा आउन भनिएको छ ।
टीकापुरमा सद्भाव कायम गर्न रेडक्रसको पहलमा सद्भाव रक्तदान कार्यक्रम हुने भएको छ । त्यस्तै थारुले पहाडी र पहाडीले थारुलाई फूलको गुच्छा आदानप्रदान गर्ने, कार्यक्रममा आउने सहभागीहरुलाई पहाडी समुदायले पानी पिलाउने, टीकापुर खानेपानीका अध्यक्ष भैरव रावलले प्रस्ताव गरेका, थारुको घरमा पहाडी र पहाडीको घरमा थारु गई खाना खाने जस्ता सद्भावका कार्यक्रमका लागि संवाद समिति, पत्रकार, राजनीतिक दल र आयोजक सहमत भएका छन् ।

सद्भावमय सम्मेलन
टीकापुर सम्मेलनलाई सद्भावको कार्यक्रम बनाउन त्यहाँका थारु, पहाडी सबै पक्ष एकमत छन् । टीकापुरबासीले बुझेका छन् थरुहटको आन्दोलन राजनीतिक आन्दोलन हो । अखण्ड सुदुरपश्चिमको आन्दोलन पनि राजनीतिक आन्दोलन हो । दुवै पक्षले आ–आफ्ना राजनीतिक अजेण्डासहितको आन्दोलन गरेका थिए । संविधानमा आफ्ना मागहरु सम्बोधन गराउन दुवै पक्ष कसरत गर्दैथिए । त्यही आन्दोलनका क्रममा भदौ ७ गते टीकापुर घटना घट्न गयो । घटनापश्चात भदौ ८ गते कफ्र्युका बेलामा थारुहरुको घर, पसल, एफएम, रिसोर्टमा आगजनी र लुटपाट भयो ।

टीकापुरले बुझेको छ, टीकापुर घटना थारु पहाडीबीचको वैमनस्यता होइन । अधिकारको आन्दोलन भइरहँदा नहुनुपर्ने भवितव्य हो टीकापुर घटना । उक्त घटनापछि सबैभन्दा धेरै पीडा भयो त टीकापुरलाई । जो आजसम्म कायमै छ । टीकापुरका पत्रकार योगेश रावलले फेसबुक स्टेटसमा लेखेका छन्– आम टीकापुरबासी मिलेर सम्मेलनलाई सभ्य र भव्य बनाउन सक्दो सहयोग गरौं । टीकापुरका नाममा लागेको कलंकको टीका मेटाउने अवसरका रुपमा सदुपयोग गरौं । आउनुस् हामी सबै मिलेर टीकापुरबाट सामाजिक सद्भावको सन्देश फैलाऔं ।

टीकापुरका अर्का पत्रकार मातृका तिमिल्सेनाले पनि एक लेखमार्फत् टीकापुरलाई लागेको दाग मेटाउन टीकापुर सम्मेलन सफल पार्नपर्ने धारणा राखेका छन् ।

टीकापुरमा बाहिर प्रचार भएजस्तो थारु पहाडीबीचमा झगडा छैन । तर यो सत्यलाई पनि नकार्न सकिँदैन कि कफ्र्युका बेला भएका आगजनीले थारुहरुको घर, पसल मात्र जलाएन, मन पनि जलायो । त्यो जलेको मनमा केवल राहतका नाममा दिइने रुपिया पैसाले मात्र मल्हमको काम गर्दैन । अपराधीलाई कानुनी दायरामा ल्याई कानुन बमोजिमको सजाय दिनैपर्छ । राजनीतिक आन्दोलनको अगुवाई गर्ने जननिर्वाचित रेशम चौधरीलाई जेल कोच्ने कानुनले कफ्र्युका बेला आगजनी गर्ने अपराधीलाई उन्मुक्ति दिने सबाल कसरी पैदा हुन्छ ?

बाहिरी तत्वले टीकापुर घटना र टीकापुर सम्मेलनलाई कुन रुपमा लिन्छन् भन्ने कुराले धेरै महत्व राख्दैन । यदि टीकापुरबासी थारु पहाडी सबै पक्ष मिलेर टीकापुरलाई निकास दिन चाहन्छन् भने । टीकापुरभित्रको उकुसमुकुसलाई खुकुलो पार्न चाहन्छन् भने । टीकापुरमा लागेको दागलाई मेटाउन चाहन्छन् भने । टीकापुरबासीको बुझाई छ, यो सम्मेलनले टीकापुरलाई झन बढी सुन्दर, शान्त, समृद्ध र सद्भावमय बनाउन सहयोग पुग्ने छ । यसो हुन सके टीकापुर सम्मेलन सद्भावको सन्देश प्रवाह गर्ने एक गतिलो उदाहरण बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *