‘तेरो छोरालाई मार्‍यौं, रो बुढी भन्दै रुन लगाउँथे’

सुखलीदेवी चौधरी।

मलाई थाहै थिएन, छोरा माओवादी भइसकेको रहेछ । घर आउँथ्यो, खाना हतारमा खान्थ्यो । हाम्रो नजिक गाँउको जमिन्दारलाई कारबाही गरेपछि बिहानदेखि पुलिस आउन थाले । छोरा कहाँ छ भनेर सोध्नथाले । म चाहिँ मेरो छोरा धनगढी छ भन्थे । अनि घर तलास गरे । भान्सामा छिरे । भान्सामा सुकाएको साग, सिन्की राखेको थिएँ । डेहरी कुठ्ली बाकस सबै हेरे । बन्दुक छ, तरवार छ, भनेर सोध्थे मलाई । आजसम्म मैले देखेको छैन भन्थे । मेरो बुढो सुतेका थिए । उनलाई पुलिसले धरपकड गरेपछि म बीचमा गएँ । पुलिसबाट बुढोलाई छुटाएँ । पुलिसले यो बुढी धेरै जिद्धी छ भने । गोचाली परिवारको किताब छ कि छैन भनेर सोधे । मलाई पढ्नलेख्न आउँदैन, कुन हो गोचाली परिवारको किताब म थाहा पाउँदिन भने । घरमा दुइटा किताब भेटे । एउटा मलाई राख्न दिए, अर्को चाँहि लगे । त्यसपछि निरन्तर पुलिस आउन थाले । कान्छो छोरालाई समाउँछन् कि भनेर राति अर्काको घरमा सुत्न पठाउँथे ।

डकुमेन्ट्री हेर्नुस्

एकदिन पुलिस राति आएर बुढोलाई पिटे । अनि आफूसंगै लगे । बुढी सासुआमा र मैले नलैजाउ भनेर याचना ग¥यौं, तर कसैले सुनेन । अनि मलाई र मेरो सासुआमालाई पनि लैजाऊ भन्यौं । तर मलाई पुलिसले धकेलेर पन्छाए र बुढोलाई लगे । म पनि बुढोलाई पछ्याइरहे । राति सुत्नेबेला सर्ट, पाइन्ट लगाएका थिएनन् बुढाले, त्यतिकै लान खोज्दैथिए । मैले कपडा त लगाउन देऊ भनेपछि माने । म कपडा लिन आउँदा बुढोलाई धेरै पर लगिसकेका थिए । म पछि पछि दोडिँदै कराइरहे पुलिसयो रे, रोके रे, रोके रे कोरिह्यो डहिज¥यो रे ।

म पुगेपछि पुलिसले मलाई चुप लाग्न भने, हल्ला नगर भने । म एकछिन बाझे, मेरो बुढोलाई राति चोरजस्तो चोरेर लागिराछौं, छोराको बदला हलो जोतेर खाने बुबालाई लगिराछौं भनेर । तर उनीहरुले लगिछाडे । म घर आएपछि छिमेकीले आफ्नो घर सुत्न भने, म गइनँ । म घर छोड्दिन, झन् शंका गर्लान, मलाई पिट्लान भनेर । मेरो छिमेकी गोही (मितनी) र म रातभरि सुतेनौं, बसेरै रात काट्यौं । बिहान कुखुरा बासेपछि मसँग भएको १०० रुपियाँ दिएर कान्छो छोरालाई धनगढी पठाएँ । मचाहिँ आफ्नो छोराहरु खोज्न जान्छु भनि कपडा पोको पारे । एक छिमेकीकोमा गएँ, मलाई अम्बासा गाउँ पुगाइदेउ भने । त्यहाँ छोरो भेट हुन्छ कि भन्ने आशा थियो । तर, उनले मलाई रुखो जवाफ दिए मेरो घर नआउनु, नभए मलाई पनि पुलिसले समात्छन् भन्दै । म चुपचाप घर आँए । अलि उज्यालो भएपछि म माइती गएँ । खेतैखेत गए, चारैतिर धान थियो, छट्का जोक (जुका) टाँसिए जिउमा । माइतीको बुहारीले घर फर्केर गाँउको महिलालाई जुटाउन सल्लाह दिए र आफु पनि चौकी गइदिने भनेपछि म घर फर्के । घर फर्किने क्रममा गाउँका महिलालाई खबर गर्दै आएँ, एकछिन हाम्रो घरमा जुटिदेउ भनेर । गाँउका मान्छे डरले हो कि, आउन नचाहेको हो कि, मलाई सहयोग गर्न नचाहेर हो कि, सबैजना टापी र हेल्का लिएर माछा मार्न गए । माछा मार्न गएका महिलालाई गाउँकी अर्की महिला लक्ष्मीले फर्काएर त ल्याइन्, तर उनीहरुका श्रीमानले गाली गर्नथाले । ‘सारन् जाइटो जोखनके घर, पुलिसनसे पिट्वा पैबो, पकरवा पैबो’ भन्दै । फेरि सबै महिला माछा मार्न गए । माइतीको बुहारीले घर आएर खाना बनाइदिइन् र चौकीमा खाना दिन जाने कुरा गर्दैथ्यौैं, तर गाँउकै वडाअध्यक्ष आएर जो खाना दिन जान्छ उसैलाई पुलिसले समाउँछ भने । दिनभरि अलमल भएपछि साँझतिर ४ जना महिला हिम्मत गरेर हँसुलिया चौकी गयौं । त्यहाँ जाँदा बुढोलाई पिटेर एउटा साँघुरो बेन्चमा सुताएका थिए । उनलाई देखेर म खुब रोएँ । उनी पनि आफ्नो हातखुट्टा देखाउँदै हेर मेरो हात यस्तो बनाइदिए, हेर मेरो खुट्टा यस्तो बनाइदिए भनेर खुब रोए । कति दुःख दिए हामीलाई ।

चौकीबाट मलाई फिर्ता पठाइदिए । आफ्नो टोलछिमेकबाट एकजनालाई लिएर आउनु भने । भोलि गोटियारलाई भन्दा जान मानेनन्, वडा अध्यक्षले पनि मानेनन् । गाँउबाट चौकी जान्छौं भनि गएकाहरु हसुलिया बजार गएर गायब भए । पछि बल्लतल्ल एकजना गाउँको मान्छे चौकी पुगेपछि बुढोलाई छोडे । यातनाले गर्दा बुढो हिँड्न नसक्नेभएपछि एक जना नातेदारले साइकलमा राखेर घर पु¥याइदिए, उनलाई पनि पुलिसले खुब सतायो ।

रातदिन पुलिस आइरहन्थे घरमा । खुब दुःख दिन्थे । बुढोले सहन नसकेर अब म मर्छु भन्थे । यातनापछि उनलाई निरन्तर उपचार पनि गराउन पर्ने भएको थियो ।

कहिलेकाहीँ छोराहरुसँग भेट हुन्थ्यो, अर्को गाँउमा । छोराले सोध्थ्यो पुलिसले के भन्छन् आमा, म सबै कथाव्यथा सुनाउँथे । किन माओवादी बनेको भन्थे, तिमीहरुलाई खान पुगेको थिएन कि लाउन पुगेको थिएन । छोरो भन्थ्यो, आमा हामी जनताका लागि लागेका छौं, गरिब जनताका लागि । म भन्थे जनताका लागि मात्र सोच्छौं, आमाबुबालाई सोच्दैनौं, कति यातना दिलाउँछौं ? आफ्ना बालबच्चा सोच्दैनौं ? अनि भन्थे, आमा हामी मरे पनि बालबच्चालाई राम्रो हुन्छ ।

एकपटक हाम्रो गोटियार घरको बिहेमा पुलिस आएर खुब पिटे बुढोलाई, छुटाउन जाँदा मलाई पनि पिटे । लात्तीले पिटे, तर सक्नेजति मैले पनि पिटे, एक पुलिसको कपडा च्यातिदिएँ । बुढोलाई बाटोमा लगेर चारैतिरबाट बन्दुक ताकेका थिए, बुढोलाई गोली हान्दिउ भनेर । म दौडेर गएँ र बुढोलाई मात्र किन बुढीलाई पनि गोली हानो (हान्देउ) भने । बुढोलाई समाएर मैले आँगनमा ल्याएँ । आँगनभरि पुलिस, बाटोभरि पुलिस, घरभरि पुलिस कालै (कालो कपडा लगाएर) देखिन्थे । कोही भन्थे गोली हान, कोही बलमे उडाइदेउ भन्थे, कसैले के भन्थे । मेरो बुढोलाई पिट्थे, पीडाले बुढा रोएपछि आफ्नो बुढोलाई सम्हाल भन्थे । यो बुढी तगडा छ, यो बुढीलाई गोली ठोक्नुपर्छ भन्थे ।

जगतसँग कहिलेकाहीँ भेट हुँदा छोरा माओवादीमा नजानु भनेर सम्झाउँथे । छोरा पनि जान्न भन्थ्यो । पछि भन्नथाल्यो रातदिन पुलिसले खोज्छन्, म घरमा कसरी बसुँ ? बाँचे पनि मरे पनि माओवादीमा भन्दै ऊ पनि गयो । मैले रोक्नको लागि गाली गरे, लठ्ठी हातमा लिएर पिट्न खोजे । तिमीहरु जित्न सक्दैनौं छोरा, नजाऊ भनेर सम्झाए । ऊ भन्थ्यो आफ्नो छोराहरुलाई हार्ने जस्तो देख्नुहुन्छ ? हामी हार्दैनौं । एकदिन जितेर देखाउछौं । धेरैबेर ऊ घरमा बसेपछि अब त पुलिस आउँदै होलान् भनेर मैले आफैँले उसलाई घर छोड्न भने, उसको कपडा सबै झिल्लीभित्र राखेँ । ऊ जान मानिरहेको थिएन । अघि भर्खर घर नछोड्नु भन्नुभएको होइन, म कतै जान्न, यही बस्छु भन्नथाल्यो । मेरै अगाडि पुलिसले समाए र मेरै अगाडि मारे भने मलाई कस्तो होला छोरा, तिमी जाऊ भनेर जबरजस्ती पठाँए । ऊ निस्कने बित्तिकै पुलिस आइपुगे । तेरो जोखन छोरालाई हामीले मारिसक्यौं, मारेर वनको तालमा फालेका छौं, रो बुढी भन्दै मलाई रुन लगाउँथे । तेरो छोराहरु धेरै खराब थिए भन्थे । एकछिनपछि अर्कोले जगतलाई मारेर फालेका छौं, जगत त झन् खराब थियो । यहाँ बसेर ढकिया बनाउँदैछस् । रो भनेर रुन लगाउँथे । के के गरे गरे हामीसँग ।

सेनापुलिसको पिटाइले गर्दा बुढो मलाई एक्लै छाडेर गए । बुढो बितेको लामो समय बित्न नपाउँदै जेठो छोराको घटना भएको खबर आयो । घटना भएकै दिन माओवादीले खबर दिए । दुई ट्र्याक्टर लिएर आएका थिए । एउटामा माओवादी सेना थिए, अर्कोमा गाँउका मान्छे । हामीलाई मुख हेराउन लगिराथे तर सेना पुलिसले घेरा हालेको खबर आएपछि बाटोबाटै फर्काए । हामीले देख्न पाएनौं । जगतको घटनाको बेला म धनगढी थिएँ । कसैले मारेको खबर दिन्थे, कसैले होइन भन्थे । कसको कुरा मान्ने कसको नमान्ने हुन्थ्यो । तर मन धेरै रुन्थ्यो । घटना भएकैले त होला हल्ला भएको भन्ने लाग्थ्यो । आखिर हल्ला साँचो थियो ।

पहिले त माओवादीहरु खुब भेट गर्न आउँथे । बुढो मरेपछिदेखि नै भेट्न आए । छोराहरुको घटनापछि राति पनि भेट गर्न आउँथे । हप्ता दिन बित्न नपाउँदै कोइ न कोइ आएकै हुन्थ्यो । सबैभन्दा धेरै रोशन छोरा (लक्ष्मण थारु) आए भेट्न । उनले बुढोको उपचार गराउनलाई पाँच सय रुपियाँ दिएका थिए । माओवादी आउँदा भन्थे, हामी हो छोराछोरी, हामी हेर्छौ सुखदुख । जसरी हाम्रो शासन आउँछ, हामीले हेर्छौं । जोखनका बच्चा साना छन् हामीले हेर्छौ, एउटा भाइ छन् सानो, उनलाई हामीले हेर्छौं । माओवादी सरकारमा गएपछि बच्चाहरुलाई कतै काम लगाइदेउ भने नेताहरुलाई । उनीहरुले तपाईँका बच्चाहरुले भेटनरी पढेका छैनन्, कृषि पढेका छैनन् कसरी काम लगाउने भनेर जवाफ दिए । मैले भने उनीहरुलाई पढाउने बुबा मारिएपछि कसरी पढ्छन् ? जे पढेका छन् त्यही अनुसारको काम दिनुस् ।

मेरा छोराहरुले भन्थे आमा जनताका लागि लडिरहेका छौं । जनता गरिब छन्, जग्गा छैन, रातदिन काम गरेर खाना पाउँदैनन् । जमिन्दारको एउटा रोटी घरका सबैले बाँडेर खान्छन् । आज त्यही परिस्थिति आफ्नै घरमा आएको छ ।

जसरी देशमा शान्ति आयो, त्यसरी नै माओवादी हराउँदै गए । कोही माओवादीको अनुहार देख्न पाइँदैन । पहिले पहाडबाट तराई, तराईबाट पहाड हिँडेर जान्थे । अब मोटरसाइकलमा हिँड्छन्, जिप चढ्छन् तर कोही भेट्न आउँदैनन् । सरकारमा गएपछि धेरै बिजी भएर होला भेट्ने सामय नभएको ।

मेरो छोराहरु पढाइमा तगडा थिए । पढाइ भनेपछि न मेरा छोराहरुलाई निन्द लाग्थ्यो न भोक । कुखुरा बास्नेबेला मेरा छोराहरु पढ्न उठ्थे, म ढिकीमा धान कुट्थे । गाउँमा नाचगान, होहल्ला हुँदा मेरा छोराहरु भन्थे, पढ्नेबेला किन डिस्टब गर्छन् जँड्याहाहरु । गाँउका अरु बच्चाहरु स्कुल जान मान्दैनथे, रुन्थे । उनीहरुलाई पिटेर स्कुल लैजानपथ्र्यो । मेरा छोराहरु सधैं हाँसीखुसी स्कुल गए । जगत सानो छँदा कहिलेकाहीँ मसँग झगडा गथ्र्यो । जेठो छोराले उसलाई धनगढी लगेपछि ऊ पनि दादाजस्तै मिजासिलो भयो ।

(माओवादी जनयुद्धकालमा सेनाको गोलीबाट मारिएका कैलाली हसुलियाका जोखन रत्गैँयाकी आमासँग गरिएको कुराकानीको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *