थरुहट/थारुवान संयुक्त संघर्ष समिति पुनर्गठन गरौं [विचार]

सिताराम थारु
आदिवासी भूमीपुत्र थारुहरुको आवाज उठाउने, सडक, सदन र सरकारलाई दबाब दिने थरुहट/थारुवान संयुक्त संघर्स समिति अहिले अपाङ्ग अवस्थाबाट गुज्रिरहेको छ। १९ जना सदस्य र ४ जना संयोजक रहेका केन्द्रीय आन्दोलन परिचालन तथा संयोजन समिति अहिले शक्तिविहीन र नेतृत्वविहीन अवस्थामा छ।

विभिन्न थारु संघसंस्था र थारु युवा विद्यार्थीहरुको दबाबले २०७२ साउन २५ गते तत्कालीन संसदको वातावरण समितिका सभापति जनकराज चौधरीको कार्यकक्ष सिंहदरबारमा गठन भएको संघर्स समिति भदौ ७ गतेको टीकापुर घटनापछि नेतृत्वकर्ताहरु गुमनाम भयो। टीकापुर घटनाको योजनाकार र प्रशासनबाट दोषी आरोप लागेर सम्पूर्ण चल अचल सम्पत्ति गुमाएका धनिराम चौधरी अझै अर्धभूमिगत जीवन बिताइरहेका छन्।

धनिराम चौधरी समातिएपछि थारुहरुको आन्दोलन चर्किनसक्ने डरले सरकार गुपचुप बसेकाले यसको प्रत्यक्ष असर टीकापुर राजबन्दीलाई परेको देखिन्छ। कैलाली अदालतले तोकेको सजाय काटिसकेका १५ जनालाई रिहाई गरेपनि सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको छ।

यी थिए चार संयोजक

१ धनिराम चौधरी- थाकसको कोटाबाट संयोजक
२ रामजनम चौधरी- थारु सभासद कोटाबाट संयोजक
३. सन्तकुमार थारु- विभिन्न पार्टीका थारुहरुको भातृ संगठनको कोटाबाट संयोजक
४. रमेश चौधरी- विभिन्न थारु संघसस्थाको कोटाबाट प्रतिनिधित्व गर्दै संयोजक

नेतृत्वकर्ताको कमजोरी

धनिराम चौधरीलगायत चार जना संयोजकहरुको कमजोर नेतृत्व र थारू थारुबीच एकताको कमीले गर्दा आज थरुहट/थारुवान संयुक्त संघर्ष समिति शक्तिविहीन हुन पुगेको हो। वर्षौंदेखि थारु नेतृत्वकर्ताहरु एक अर्कालाई हिलो छ्याप्दै बसिरहेका छन्। एक अर्काको नेतृत्व स्वीकार्न सकस र पार्टीभन्दामाथि उठ्न नसकेको कारणले गर्दा थारुको मुद्दा र आन्दोलन कमजोर हुँदै गइरहेको छ। अझ पनि थारु नेतृत्वकर्ताहरु एक ठाउँमा आउन सकेका छैनन्। यसरी नेतृत्वकर्ताहरुको ब्यक्तिगत र पार्टीगत स्वार्थको असर आम थारु समुदायमा परिरहेको छ।

समाधानको बाटो

यी चारैजना संयोजक विभिन्न संघसंस्थाको नेतृत्व गर्दै संयोजक भएका हुन्। तर अहिले उहाँहरुको अवधि र नेतृत्व सकिएर नयाँ अधिबेशनबाट नयाँ नेतृत्व आइसकेकाले संघर्स समितिमा पनि नयाँ नेतृत्व खोज्‍न जरुरी छ। एकातिर थारु नेतृत्वकर्ताले जनताबाट भरोसा गुमाइसकेको अवस्था र अर्कोतिर आफूखुसी केही सिमित ब्यक्तिको ब्यक्तिगत इन्ट्रेस्ट र डिजाइनमा भइरहेको भर्ती र निष्कासनजस्तो अनुचित क्रियाकलापले नेतृत्वहरुबीच झन दूरी बढाएको  छ।

जनताको भरोसा र बिश्वास गुमाइसकेको थरुहट/थारुवान संयुक्त संघर्स समितीको कागजी आन्दोलनले अब कुनै हालतमा आन्दोलनको उचाइ लिन सक्दैन। अब निकासको एउटै बाटो बिगतको कमीकमजोरीको सुधार गर्दै निकाससहितको योजना बनाइ नयाँ सिराबाट थरुहट/थारुवान संयुक्त संघर्स समिति गठन गरिनुपर्छ। आम थारुहरु नयाँ नेतृत्वको पर्खाईमा छ।

लेखक बर्दियालि थारु बिकास मंच काठमाडौंका केन्द्रीय अध्यक्ष हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *