भाषा र साहित्यको विकास नै थारु राष्ट्रिय साहित्य सम्मेलनको मूल उद्देश्य हो : सर्वहारी [अन्तर्वार्ता]

चाैथाे थारु राष्ट्रिय साहित्यिक सम्मेलनका अवसरमा लावा डग्गर त्रैमासिक पत्रिकाका प्रधान सम्पादक छविलाल काेपिलाले थारु लेखक संघका अध्यक्ष तथा चौथो थारु राष्ट्रिय साहित्यिक सम्मेलनका मूलसंयाेजक कृष्णराज सर्वहारीसँग गरेको कुराकानी।

थारु लेखक संघको चैत २२ र २३ गते चौथो थारु राष्ट्रिय साहित्यिक मेला रुपन्देहीको उँचडिहवामा भइरहेको छ, के छ तयारी ?

चौथो थारु राष्ट्रिय साहित्यिक मेलाबाट नाम फेरेर थारु साहित्यिक सम्मेलन नामकरण गरेका छौं । थारु कल्याणकारिणी सभा, सैनामैना नगर समिति, रुपन्देहीले स्थानीय रुपमा सम्मेलन संयोजनको जिम्मा लिएको छ । थाकस नगर समितिका अध्यक्ष दुलबहादुर चौधरीले तयारी तीव्र रुपमा अघि बढेको बताउनु भएको छ । खुशीराम चौधरी अर्थ संयोजक हुनुहुन्छ । सम्मेलनको सफलताको लागि आर्थिक रकम संकलन गर्न जनकवि बमबहादुर थारु लगायत साहित्यकारहरुको टिम रुपन्देहीको गाउँ गाउँ होली खेलेका छन् । हालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानसँग ६५ हजार सहयोगको संझौता भएको छ । रुपन्देहीका स्थानीय गाउँपालिका, नगरपालिकासँग सहकार्य गर्ने प्रयास भइरहेको छ । नपुग आयोजकहरुले बेहोर्ने छन् । देशभरका थारु साहित्यकारहरुको स्वागत गर्न उँचडिहवा होमस्टे परिवार आतुर छ ।

मेलामा कुन कुन जिल्ला र कस्ता व्यक्तिहरुको सहभागिता रहने छ ?

नवलपरासीदेखि पश्चिम थरुहट जिल्लाका थारु साहित्यकारहरुको घनिभूत उपस्थिति रहनेछ । त्यो क्षेत्रमा एक प्रकारले थारुहरुको बोली मिल्छ । तर हाम्रो प्रयास थरुहट जिल्लाका सबै जिल्लाबाट प्रतिनिधित्व गराउने हो । विगतमा पनि सुनसरी, सिरहा, उदयपुर लगायत जिल्लाबाट सहभागिता भएको हो । थारु भाषा, साहित्यमा रुचि राख्ने गैरथारु साहित्यकार, अन्वेषक, विद्वतवर्गको उपस्थिति रहनेछ ।

अहिले यो चौथो श्रृंखलामा कुन कुन विषय केन्द्रीत रहने छन् ?

रुपन्देही क्षेत्रमा कार्यक्रम भएकाले बुद्ध र थारुको सम्बन्धबारे छलफल केन्द्रित रहेको छ । यसले थारु समुदाय कुन धर्मावलम्बी हुन् भन्नेबारे गहन छलफल भइ निचोड निस्किने आशा गरेका छौं । बुद्ध र थारुको सम्बन्धबारे हालै पीएचडी गर्नुभएका डा. गोपाल दहित र डा. शंकरलाल चौधरी यस सत्रका मुख्य वक्ता हुनेछन् । ‘रुपन्देही : विकास बहस’ अर्को सत्र छ । रुपन्देहीका स्थानीय गाउँपालिका, नगरपालिका प्रतिनिधिहरुसँग थारु केन्द्रित कार्यक्रमबारे छलफल हुनेछ । त्यस्तै, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा थारु साहित्यको अवस्था, मातृभाषामा लेखनमा आख्यान, डंगौरा थारु भाषामा क्रियाको अवस्था, गैरथारु अन्वेषकका नजरमा थारु समाज र संस्कृति लगायत विषयमा पनि प्यानल छलफल हुनेछ । बहुभाषिक कविता वाचन चौथो श्रृंखलाको अर्को विशेषता हो ।

यो मेलाको खास उद्देश्य के हो ?

‘थारु भाषामा लेखौं र लेखाऔं’ भन्ने यसको मूल नारा हो । लेखकले आफूले मात्रै लेखेर हुँदैन, लेख्ने समूह पनि बनाउनुपर्छ भन्ने यसको उद्देश्य हो । यही उद्देश्यअनुरुप थारु लेखक संघ २०७५ फागुन २७ गते कैलाली जिल्ला प्रशासन कार्यालयमा दर्ता पनि भएको छ । हालसम्म थारु लेखक संघ लुज फोरमको रुपमा थारु राष्ट्रिय साहित्य सम्मेलन गर्दै आएकोमा अब आधिकारिक रुपमा कार्यक्रम गर्न पाउने वातावरण बनेको छ । मातृभाषामा लेख्ने, लेखाउने अभियानसँगै थारु भाषामा प्राथमिक तहमा पढाइ हुनुपर्छ, थरुहट बहुल क्षेत्रमा स्थानीय निकायले कामकाजी भाषाको रुपमा थारु भाषा लागु गर्नुपर्छ भन्ने अभियानमा पनि छौं हामी । थारु भाषाको जगेर्ना, थारु साहित्यको विकास थारु राष्ट्रिय साहित्य सम्मेलन गर्नुको मूल उद्देश्य हो ।

काम गर्दा केही कमजोरीहरु हुन्छन् । स्वभाविक पनि होला तर प्रत्येक वर्ष झैं गत वर्ष पनि केही गुनासोहरु सुनियो । यसलाई कसरी संबोधन गर्नु हुन्छ ?

कस्तो गुनासो हो ? यो प्रश्न अमूर्त भयो । गत वर्ष समय अभावले डाकिएका कविहरुले रचना सुनाउने अवसर पाएनन् । यसपाली त्यसो हुँदैन । गत वर्ष प्यानल छलफलमा धेरै वक्ता हुँदा बहस राम्रो भएन । यसपाली बरु थोरै वक्ता राखेर गहन छलफल चलाउने योजना छ । हामी पनि सिक्दैछौं । त्यसैले भूलवश केही कमीकमजोरी भए उचित सुझाव चाहन्छौं ।

आगामी कार्यक्रम कस्तो हुने योजना बनाउनु भएको छ ?

आगामी २०७६ सालमा थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा हुनेछ । यसको संयोजनको जिम्मा साहित्यकार सागर कुश्मीले लिनु भएको छ । बाल साहित्यमा थारु साहित्य निकै कमजोर छ । त्यसैले आगामी कार्यक्रमको छलफल बाल साहित्यमा थारु साहित्यको अवस्थाबारे केन्द्रित रहने छ । कार्यक्रमको मिति तयमा समस्या देखिने हुँदा अब प्रत्येक वर्ष एउटै मितिमा कार्यक्रम गर्ने योजना बनाउँदै छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *