पहिले दासता, अहिले आत्मनिर्भर

सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । विवाहपछि पनि मुक्ति मिलेन । श्रीमान्सँग त्यहीँ गाउँमा कम्लरी बसिन् । सरकारले ०५७ सालमा कमैया मुक्ति घोषणा गर्‍यो । त्यसपछि जमिनदारको घर छोडिन् । लामो समय खानबस्न समस्या पर्‍यो । अहिले जग्गाधनी भएकी छन् ।

उनले २ वर्षअघि सहकार्य मुक्त कमैया समूहबाट २० हजार रुपैयाँ सहयोग पाइन् । त्यसबाट सुन्तला, केरा, बदाम, स्याउजस्ता फलफूल किनेर बेच्न थालिन् । दैनिक सरदर २ हजार रुपैयाँसम्म बचत हुने गरेको उनले बताइन् । समूहको ऋण चुक्ता गरिसकिन् । मासिक ५ सय रुपैयाँका दरले समूहमा पनि बचत गर्न थालिन् । अहिले ६ लाख पुगिसक्यो । त्यसबाट ऋण लगानी भएको छ । समूहकै सदस्यले ऋण लिएर विभिन्न काम गरिरहेका छन् ।

सन्तोलीले नजिकै एउटा घडेरीसमेत किनिसकिन् । ‘सधैं अर्काको जग्गामा काम गरियो । आफ्नो नाममा सम्पत्ति नहुँदा धेरै दु:ख पाइयो,’ उनले भनिन्, ‘आफ्नै कमाइले घडेरी किन्न पाउँदा साह्रै गर्व लागेको छ ।’ बजारमा सटर लिए भाडा तिर्न नसक्ने देखेर उनले घरदैलो व्यापार सुरु गरेकी हुन् । दिनहुँ बिहान खाना पकाएर छोराछोरीलाई विद्यालय पठाएपछि फलफूल बेच्न गाउँतिर निस्कन्छिन् । २ घण्टा डुल्दा सबै बिक्री हुन्छ ।

कम्लरी बस्दा काम गरे मात्र खान पाइन्थ्यो । वर्षमा दुई जोर कपडा मिल्थ्यो । बालबच्चा पढाउन, लेखाउन सम्भव थिएन । सन्तानलाई आफूजस्तै कमैया/कम्लरी बनाएर राख्नुपथ्र्यो । जमिनदारको घरभन्दा बाहिरको संसार थाहा थिएन । सरकारले कमैयाको लगत संकलन गरिरहेको, परिचयपत्र बनिरहेको उनीहरूले धेरैपछि मात्र थाहा पाए । सूचीमा नामै परेन । न परिचयपत्र पाए न सरकारबाट जग्गा ।

अन्त्यमा छुट कमैयाले एकजुट भएर आन्दोलन गरे । जिल्ला प्रशासनका नाममा रहेको घोराही उपमहानगरपालिका १६ सानी अम्बापुरस्थित जग्गामा एकसाथ १ सय २० परिवारले टहरा बनाए । गाउँ–गाउँमा काम खोज्दै हिँडे । मजदुरी गरेर जीविका चलाए । बस्न नसक्नेहरू छाडेर हिँडे । अहिले ५० परिवार मात्र छन् ।

सन्तोलीले टहरो फेरेर पक्की घर बनाइसकिन् । जेठा छोरा सुरज स्नातक पढेर भर्खरै एक संस्थामा जागिरे भएका छन् । छोरी सिर्जना र बुहारी सिर्जना १२ कक्षा पढ्छन् । कान्छो छोरा श्रवण ९ कक्षा पढिरहेका छन् । सबैको अध्ययन खर्च सन्तोली नै धानिरहेकी छन् । श्रीमान् चुरमान फर्निचरको काम गर्छन् । यसले पनि घर खर्चमा सहयोग पुगेको छ । ‘जति दु:ख भोग्नु थियो, भोगियो । अब सजिला दिन आएका छन्,’ उनले भनिन्, ‘व्यवसाय गरेर राम्रैसँग बाँच्न सकिन्छ । अब बस्न–खान कुनै दु:ख छैन ।’

सोही बस्तीमा बस्छ, जंगबहादुर चौधरीको परिवार । सिसहनियामा जन्मेका उनी ८ वर्षको उमेरदेखि कमैया बसेका हुन् । ‘आठ वर्ष भेडा चराएँ, सात वर्ष गाईगोरु अनि दुई वर्ष खेतीपाती गरें,’ उनले गिन्ती गरे ‘ओहो, जुनी त कमैया बसेरै बितेछ ।’ मुक्तिपछि उनको पनि जीवन धान्ने उपाय थिएन । लामो समय घर अनि फर्निचर बनाउने काममा मजदुरी गरे । ज्यान कमजोर हुँदै गएपछि ४ हजार रुपैयाँबाट किराना पसल थापे । अहिले पसलबाट दैनिक १ हजार ५ सय रुपैयाँ आम्दानी हुने बताउँछन् । त्यही कमाइबाट ५ लाख खर्चेर नयाँ घर बनाएका छन् । छोरा बेचन १० कक्षा पढ्छन् । छोरीको ९ कक्षा पढेर विवाह भयो । श्रीमती सुशीला अझै मजदुरी गर्छिन् ।

राप्ती गाउँपालिका–६ बगरापुरकी रामपती चौधरीले सुँगुर, बंगुर पाल्न थालेको धेरै वर्ष भयो । दुई वर्षयता व्यावसायिक बंगुरपालक किसान भएकी छन् । सुरुमा पाँचवटा बंगुर पालिन् । तीबाट १० पाठा उत्पादन गरेर बिक्री गरिसकिन् । एउटा पाठो ४ हजारका दरले बिक्री गर्दा ४० हजार रुपैयाँ कमाइ भयो । अहिले ४२ पाठाको माग छ । उनलाई पुर्‍याउनै धौ–धौ भइरहेको छ । कपिलवस्तुको चन्द्रौटाबाट समेत ग्राहक पाठा लिन आउने गरेको उनले बताइन् । ‘बंगुरबाट राम्रो आम्दानी हुँदोरहेछ । पहिले चाडपर्वमा मासु खानलाई पाल्थ्यौं,’ उनले भनिन्, ‘अहिले व्यावसायिक रूपमा पालेका छौं । माग धेरै छ । चाहेजति उत्पादन गर्न सकिएको छैन ।’

रामपतीका अनुसार एउटा बंगुर वर्षमा तीन पटकसम्म ब्याउँछ । ७ देखि १५ वटासम्म पाठापाठी पाउँछ । एउटा पाठो ३५ दिनमा बिक्री गर्न मिल्छ । ‘एउटा बंगुरले एकपटकमा १५ पाठा पाए वर्षमा ४५ वटा हुन्छन् । पाठा मात्रै बिक्री गरे पनि १ लाख ८० हजार कमाइ हुन्छ,’ उनले भनिन्, ‘माउ बंगुर धेरै भए एकै वर्षमा लाखौं कमाइ हुन्छ ।’ जमिनदारको घरमा रातदिन काम गरे पनि खान, लाउनबाहेक केही मिल्थेन । अहिले बगरापुरस्थित सरकारी जग्गामा ८६ घर मुक्त कमैया बसेका छन् । एक घरले एक कट्ठा जग्गा बाँडेर बसोबास बनाएका छन् । त्यही जग्गामा बंगुरपालन व्यवसाय गरेर जीविका चलाइरहेको उनले बताइन् ।

पहिलेको दासी जीवन र अहिलेको स्वावलम्बी जीवनमा धेरै फरक रहेको उनको अनुभव छ । ‘पहिले अधीनमा बस्नुपथ्र्यो । भनेका बेला खान पाइँदैनथ्यो । चाहनाअनुसार केही गर्न पाइँदैनथ्यो,’ उनले भनिन्, ‘कमैया मुक्ति भएपछि केही समय कता बस्ने, के खाने भन्ने समस्या भयो । बिस्तारै आफ्नो बस्ने ठाउँ भएपछि स्वतन्त्रपूर्वक काम गरिखान सजिलो भयो ।’
०००
२०६२ साउन २० गते छोरा अभेश जन्मिए । घरमा खुसियाली छायो । तर, केही दिनमै बुबा लल्टुप्रसाद बिते । विपत्ती चौधरी एक्ली भइन् । छोराछोरीको स्याहारसुसार, पठनपाठन, खानपिन सबै एक्लो काँधमा ।

उनीहरू लमहीको सिसहनियास्थित पिपरी गाउँमा कमैया बस्थे । सरकारले मुक्त घोषणा गरेपछि त्यहाँबाट निस्किए । अब बासकै समस्या पर्‍यो । चौधरी परिवार राप्ती–२ बराखुटीस्थित करम्दी सामुदायिक वनछेउ टहरा बनाएर बस्यो । मजदुरी गरेर जीविका चलाइरहेका बेला लल्टुप्रसाद बिरामी परे । श्रीमान् गुमाउँदाको पीडा भुल्न नपाउँदै विपत्तीको जीवनमा अर्को विपत्ति आइलाग्यो । बसिरहेको ठाउँबाट हट्न दबाब दिन थाले । अन्यत्र कतै जान आफ्नो जग्गा थिएन । बल्लतल्ल बनाएको बास छोड्नैपर्ने भएपछि उनले आफ्नै हक अधिकार लाग्ने जग्गा किन्ने निधो गरिन् । डेढ लाख ऋण लिएर दुई वर्षअघि एक कट्ठा जग्गा किनिन् ।

ऋण तिर्न केही न केही उद्यम गर्नै पथ्र्यो । सिलाइकटाइ तालिम लिएर व्यवसाय चलाउने योजना बनाइन् । सहयोगी संस्थाबाट सिलाउने मेसिन पाइन् । कपडा सिलाएर दैनिक ५ सयभन्दा बढी आम्दानी हुन थाल्यो । सिजनमा अझ बढी । अहिले सबै ऋण चुक्ता गरिसकिन् । नयाँ जग्गामा घर बनाएकी छन् । एक छोरी स्मिता १२ कक्षा र अर्की सुस्मिता फार्मेसी पढिरहेका छन् । छोरा ८ कक्षा पढदैछन् । सबै खर्च विपत्ती आफैंले धानिरहेकी छन् । ‘पहिले पहिले त धेरै दु:ख भयो । आम्दानीको केही बाटो थिएन । हातमा सीप थिएन,’ उनले भनिन्, ‘अहिले मलाई घरबार चलाउन समस्या छैन । सबै आफ्नै कमाइले चलाइरहेकी छु ।’

उद्यम गर्न थालेपछि मुक्त कमैयाको जीवनमा धेरै परिवर्तन आएको राप्ती गाउँपालिका–२ का वडाध्यक्ष जगतबहादुर थापाले बताए । ‘पहिलेभन्दा उनीहरू धेरै फरक भएका छन् । व्यवसाय गर्छन् । आम्दानी गर्छन्,’ उनले भने, ‘नेतृत्व विकास भएको छ । आफ्नो अधिकारबारे बोल्न सक्छन् ।’ वडा कार्यालयले पनि उनीहरूको अवस्था नियमित अवलोकन र अनुगमन गर्ने गरेको उनले बताए ।
बराखुटीकै टेकबहादुर रावत पनि जवानीसम्म कमैया बसे । मुक्तिपछि बराखुटीस्थित सामुदायिक वनको जग्गामा बसेर व्यावसायिक बाख्रापालन र खेतीपाती सुरु गरे । जीविका चलाउन सजिलो भयो । राम्रो घर बनाए । अहिले स्कुटर चढ्छन् । ‘सधैं दु:खी मात्र भएर भएन । आफैं मेहनत गरेर सुखी हुन सकिन्छ,’ उनले भने, ‘पहिले दास भएर बस्नुपथ्र्यो । काम गर्ने र खाने मात्रै थाहा थियो । अहिले बाहिरी संसार बुझियो । गरिखाने धेरै उपाय रहेछन् ।’
जिल्लामा ४ हजार ८ सय ११ मुक्त कमैया रहेको मुक्त कमैया समाजका अध्यक्ष हरिशचन्द्र चौधरीले बताए । उनका अनुसार १ हजार ४ सय २६ जनाले मात्रै परिचयपत्र पाएका छन् । ‘परिचयपत्र पाएकामध्ये पनि ७ सय ५ जनाले मात्रै जग्गाधनी पुर्जा पाएका छन् । १७ जनाले पुर्जा पाए पनि जग्गा भेटाएका छैनन्,’ उनले भने, ‘८० जनाको जग्गा खोलामा परेकाले सट्टा भर्ना गर्ने काम भइरहेको छ ।’

मुक्त भएकामध्ये धेरैले विभिन्न उद्यम गरेर व्यवस्थित जीवन बिताइरहेको मुक्त कमैयाको क्षेत्रमा क्रियाशील सहयोग समाजका कार्यक्रम संयोजक श्रीराम चौधरीले बताए । ‘कमैया मुक्ति हुनेबित्तिकै बसोबास र खानपिनको समस्या भयो । बिस्तारै व्यवसायमा लागेपछि उनीहरूको जीवन बदलिएको छ,’ उनले भने, ‘मेहनत गर्नेहरू जग्गाधनी भइसके । वर्षौं काम गर्दा पनि एक टुक्रा जग्गा नभएकाहरू अहिले आफ्नै जग्गामा घर बनाएर बसिरहेका छन् ।’
दुर्गालाल केसी/दाङ, कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *