यसकारण थारुहरु ‘माघ’ मनाउँछन्, माघी होइन

इन्दु थारु

माघ लहैली
सुरिक सिकार खैली रे हा
सखिय हो
माघक पिली गुरीगुरी जार ।

माघ पर्वमा थारु समुदाय यो गीतले गुञ्जयमान हुन्छ । यो गीत थारु फिल्म कमैयाको हो । सखिय हो, माघक पिली गुरीगुरी जार भन्ने शब्द परम्परादेखि चल्दै आएको थारु लोक भाका हो । थारुहरु नेपालमा कहिलेदेखि बसोबास गरे भन्ने कुरा कसैलाई थाहा नभएको कुरा लेखक डोरमणी विष्टले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । थारुहरुको आफ्नो कुनै लिखित इतिहास छैन । थारुहरुले मनाउने चाडपर्वका बारेमा पनि लिखत पाइँदैन ।

त्यसकारण थारुहरुले मनाउने विभिन्न पर्वका सवालमा पूर्खाहरुले सुनाउँदै आएका किवदंतीमा हामी विश्वास गर्छौ । पूर्खाहरु भन्छन्, ‘हमरे माघ लहइठी, माघ खइठी, माघ मनइठी ।’ अर्थात हामी माघ(मा) नुहाउँछौ, माघ (मा) खान्छौ, माघ मनाउँछौ । माथि उल्लेखित गीतले पनि यही कुरा बोल्छ । हामी माघमा गुरीगुरी जार पिउँछौं ।

अहिले बहसको सतहमा आएको विषय हो थारुहरुले माघ मनाउँछन् कि माघी । यो बहस गर्नुपर्ने विषय नै होइन । पश्चिम तराईका थारुले मनाउने माघ नै हो । पूर्वका थारुले माघे संक्रान्ति मनाउँछन् । तिलको लड्डु खाने हुनाले तिला संक्रान्ति पनि भन्छन् । पश्चिम थारु गाउँमा माघी लहाई, माघी खाई, माघी मनाई उच्चारण हुँदैन । हैन भने गीतले पनि भन्ने थियो
माघी लहैली
सुरिक सिकार खैली रे हा
सखिय हो
माघीक पिली गुरीगुरी जार ।

पहिले माघ प्रत्येक थारु घर र प्रत्येक थारु बस्तीमा मनाइन्थ्यो । त्यसबेला माघ परम्परागत तरिकाले मनाइन्थ्यो । पुसको अन्तिम दिन गाउँभरिकालाई पुग्ने जिटा मार्ने (सुंगुर मर्ने), रातभर थारु पुरुषहरु जम्मा भएर डफ बजाउँदै धमार (गीत) गाउने, भोलिपल्ट माघ १ गते सबेरै नजिकको नदीमा गएर नुहाउने, नुहाउँदा डुबुल्की लगाउनैपर्ने, घर आएर ढकियामा राखेको चामल, नुन छुने र घरको सबैभन्दा पाको व्यक्तिलाई ढोग गर्दै आशिर्वाद लिने, गोतियार र छिमेक सबैको घरमा गई सेवाढोग गर्ने र ढिक्री लगायतका परिकार खाने, मघौटा नाच नाच्ने । माघ २ गते खिच्रहुवा मनाइन्छ । यसदिन बजार खेले (बजारमा किनमेल गर्न) जाने दिन हो । बजार खेल्नका लागि नजिकमा लाग्ने माघ मेला वा नजिकको बजार जाने गरिन्थ्यो । ‘बजार खेले जैना कलक माघ पठैना हो । अर्थात बजार खेल्न जानु भनेको माघलाई पठाउनु, बिदाई गर्नु हो ।

यसरी थारुहरुले मुख्यरुपमा ३ दिन माघ पर्व मनाउने गर्छन् । तर पूरा माघ महिना नै थारुहरुका लागि विशेष रहन्छ ।
थारुहरुले माघलाई नयाँ वर्षको रुपमा मनाउँछन् । नयाँ वर्ष भएरै थारु गाउँमा भलमन्सा रबरघर, चिरकिया, गुरुवा आदि चुन्ने काम माघ महिनामै गरिन्छ । गाउँको वर्षभरिको योजना बनाउने काम हुन्छ । त्यसैले थारुहरुले माघ महिनाभरि माघ मनाउँछन् पनि भनिन्छ । अझ जार (जांड) खान रुचाउनेहरु त खानपिउन भएकै लागि पनि ‘थारुन्के माघ महिनाभर चलट‘ अर्थात थारुको माघ पर्व माघ महिनाभरि चल्छ भन्छन् ।

धेरैलाई लाग्न सक्छ, माघ त महिना हो । माघ महिनामा मनाउने पर्वचाहिँ माघी हो । तर त्यस्तो होइन । पश्चिमका थारुहरुले माघ मनाउँदै गर्दा पूर्वका थारु र अन्य समुदायले तिला र माघे वा मकर संक्रान्ति मनाउने गर्छन् । एकातिर थारुको माघ अर्कोतिर अन्यको माघे वा मकर संक्रान्ति हो भने माघी कसको हो ? यसो बुझ्दै जादाँ त माघी भन्ने कसैको होइन । माघी शब्द प्रयोगमा आएको पनि धेरै भएको छैन । यो बिल्कुल नयाँ शब्द हो । अझ यस्तो भन्न सकिन्छ, माघी थारुहरुको माघको नेपाली रुपान्तरण हो । तर माघी शब्द यस्तो राष्ट्रिय शब्द भैसक्यो कि थारुहरुले माघी होइन माघ मनाउँछौं भन्दा अराष्ट्रिय तत्व घोषणा हुन बेर छैन ।

माघे संक्रान्ति उच्चारण गर्न लामो हुने भएकाले पनि पछि सर्टकटमा माघी भनिएको हुन सक्छ । एक नेपाली गीत हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा ले पनि माघी शब्द स्थापित गरायो । माघ महिनामा थारु गाउँबस्ती यो गानाले गुञ्जायमान हुन्छ । यसको प्रभावले पनि थारुको माघ, माघीमा रुपान्तरित हुन गएको हो ।

पहिले थारुहरुको गाउँघरमा मात्र माघ पर्व सिमित थियो । त्यसबेला थारुहरुको माघ पर्वभन्दा माघे संक्रान्तिले मिडियामा बढी स्थान पाउँथ्यो । पहिलोपटक वि स २०५९ सालमा काठमाडौंको नेपाल टुरिज्म बोर्डमा थारु कल्याणकारिणी सभा र थारु विद्यार्थी समाजको संयुक्त आयोजनामा संस्थागतरुपमा माघी कार्यक्रम सम्पन्न गरियो । त्यसपछि प्रत्येक वर्ष काठमाडौंमा, दोस्रो वर्ष बानेश्वरको सहकारी भवन, तेस्रो वर्ष राष्ट्रिय सभा गृह, चौथो वर्ष प्रज्ञा भवन त्यसपछि २०७२ मा रंगशालाबाहेक अन्य सबै वर्ष टुडिखेलमा माघी महोत्सव आयोजना गरियो । संस्थागतरुपमा आयोजना गरिने माघको कार्यक्रममा प्रधानमन्त्री, सभामुखलगायतका उच्च ओहदाका व्यक्तित्वले सम्बोधन गर्ने भएपछि सञ्चारमाध्यमको चासो बढ्दै गयो । काठमाडौंको कार्यक्रमले जिल्ला स्तरमा पनि माघको कार्यक्रम गर्ने हौसला थपियो । माघी पर्व लेख्ने र भन्नेहरुको जमात बढ्दै गयो । त्यसैको प्रभावमा अहिले जहाँजहाँ माघको कार्यक्रम गरिन्छ, माघी महोत्सव वा माघी मेला लेखेको पाइन्छ । माघी लेख्दैमा र भन्दैमा धेरै केही बिग्रिहाल्ने पनि होइन । नेपाली भाषा सधैं डोमिनेन्ट र राष्ट्रिय भाषा रहेकाले थारु शब्दको नेपालीकरण गर्दा राष्ट्रिय भइन्छ भन्ने मानसिकताले सीमान्तकृतहरुले आफ्नो मौलिक पर्वको नेपालीकरण स्विकारेका होलान् । प्रदेश ५ मा भने ‘प्रादेशिक माघ महोत्सव २०७५ लेखियो र मनाइयो ।

आफ्नो भाष संस्कृति र पहिचानको संरक्षण र सम्बद्र्धन गर्न वकालत गरिरहेको तप्काले अहिले माघ र माघीबारे बहस चलाउँदै छन् । माघ वा माघे संक्रान्ति मनाउने समाजमा माघी कहाँबाट भित्रियो, सोचनीय विषय छ । थारुहरुले प्रयोग गर्ने मैलिक शब्द नेपालीकरण गरेको यो पहिलो पटक होइन । थारुहरुको मौलिक शब्दका गाउँका नामहरु प्रिवर्तन गरिने पुरानै परिपाटी छ । जस्तो थारु गाउँका नाम घोरीघोरा घोडाघोडी हुनु, पिर्ठीपुर पृथ्वीपुर हुनु, रानामुरा रानामुडा हुनु जस्ता थुप्रै उदाहरण छन् । त्यस्तै थारुहरुको बरघरलाई बडघर भन्नु र लेख्नु अर्को उदाहरण हो । त्यसकै निरन्तरता हो माघलाई माघी बनाइनु । थारुका ठेट र मौलिक शब्दहरु प्रिवर्तित हुँदै जानु थारु भाषामाथिको प्रहार हो । हेर्दा सामान्य लाग्छ, माघलाई माघी भन्यो, बरघरलाई बडघर भन्यो । तर यी शब्द केवल शब्द मात्र होइनन् । यी शब्द भनेका थारुका पहिचानसँग जोडिएका विषय हुन् । यी शब्दसंग थारुको इतिहास जोडिएको छ । थारुमात्रै किन सबै भाषाका आफ्नै मौलिक र ठेट शब्द र त्यसको उच्चारण हुन्छ, सबैको आफ्नै महत्व, आफ्नै पहिचान र इतिहास हुन्छ । कसैको पनि पहिचान र इतिहास मेटाउन भन्दा त्यसको सम्मान र संरक्षण गर्न जरुरी हुन्छ ।

२०६८ को जनगणना अनुसार क्षेत्री, बाहुन, मगर पछिको चौथो ठूलो जनसंख्या थारुको रहेको छ । थारुको जनसंख्या कुल जनसंख्याको ६.६ हुन आउँछ । नेपालमा बोलिने १२३ भाषामा प्रमुख रुपमा बोलिने भाषाको सूूचीमा पनि थारु भाषा चौथो नम्बरमा छ, जुन ५.८ प्रतिशत हुन आउँछ । जनसंख्याको तेस्रो नम्बरमा रहेको मगर जातिहरुको भाषाको सूचीमा आठौंमा देखिन्छन् जुन ३ प्रतिशतमात्र हुन आउँछ । अनेकतामा एकता नै हाम्रो देशको विशेषता हो । मैथिली, भोजपुरी, थारु, तामाङ, नेवार, मगर, डोटेलीलगायत यहाँका १२३ भाषीहरु आफ्नो भाषा बिर्सेर नेपालीमात्रै बोल्नथाले के नेपाल सुन्दर रहिरहन्छ । नेपाल सुन्दर हुनुमा यहाँको प्राकृतिक देन त एउटा पक्ष हो नै, साथै यहाँ बसोबास गर्ने सबै जातजाति, तिनको भाषा संस्कृति, भेषभुषालाई पनि बेवास्ता गर्नुहुँदैन ।

माघको रौनकता थारुहरुमा छाएको छ । तर जबदेखि आफ्नो राजनीतिक साँस्कृतिक अधिकारबारे थारुहरु चेतनशिल भए, निराशासहितको रौनकता छाउन थाल्यो । नेपालको जनसंख्याको ठूलो हिस्सा ओगटेका थारुहरुको मुख्य पर्व माघमा सरकारसँग २ दिनको बिदा माग गर्न थालेको धेरै भयो । थारुका माग सुनुवाई गर्नु त कहाँ हो कहाँ, उल्टै माघको बिदा पनि कटौती गर्ने काम भयो । आदिबासी जनजातिहरुले बिदा पुनस्र्थापनाको लागि दबाब दिएपछि पुनः माघको बिदा दिने निर्णय सरकारले ग¥यो ।

प्रदेश ५ मा १५.१८ प्रतिशत थारु छन् । त्यहाको प्रदेश सरकारले माघ पर्वको लागि २ दिनको बिदा घोषणा ग¥यो । थारुहरु खुसी भए । सुदूरपश्चिम प्रदेशमा १७.२१ प्रतिशत थारु छन् । २ दिनको बिदा माग गर्दापनि प्रदेश सरकारले माघ १ गतेमात्रै १ दिनको बिदा घोषणा ग¥यो । धेरैको बुझाई छ, यो बिदा माघको लागि होइन, माघे संक्रान्तिका लागि हो । अन्यले माघे संक्रान्ति नमनाएको भए थारुहरुको माघको लागि यो एक दिन पनि बिदा पाइँदैनथ्यो कि । कमसेकम थारु बाहुल्य भएका क्षेत्रमा माघ जस्तो थारुहरुको महत्वपूर्ण पर्वमा २ दिनको बिदा दिनपर्छ भन्ने थारु अगुवाहरुको बुझाई छ । अहिले पनि थारुहरुले पुस अन्तिममा जिटा मार्ने र माघ १ गते धुमधामका साथ माघ मनाउँछन् ।

माघको एकातिर रौनक, अर्कोतिर आक्रोश छ । थारु भाषाप्रतिको प्रहार र माघको बिदालाई लिएर थारुहरुमा निराशा र आक्रोश छ । यही पीडा र आक्रोशका बीचमा थारु गाउँमा डफ बजेको छ, धमार गाइएको छ, मादल ठोकिएको छ, मघौटाका नचुनियाहरु फनफनी घुमेका छन् । अनि लाग्छ पीडाका बीचमा पनि रमाउन सक्ने समुदाय थारु हो ।

कारागारमा माघ

गाउँ, स्थानीय तह, प्रदेश र केन्द्र राजधानी काठमाडौं माघको उत्साहमा छ । त्यतिमात्र होइन, धनगढीको कारागार पनि माघले छाएको छ । माघले कारागारलाई छोएको यो पहिलो पटक होइन । धनगढीको कारागारमा रहेका थारुहरु विगत २ वर्षदेखि माघको कार्यक्रम गरेर माघ मनाउँदै आएका छन् । टीकापुर घटनाका मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका २७ मध्ये २४ जना बन्दी धनगढी कारागारमा रहेका छन् । यस वर्ष पनि माघको कार्यक्रम गर्ने तयारी रहेको बन्दी रामप्रसाद चौधरी बताउँछन् । यो तेस्रो वर्ष हो कारागारमा थारु परम्पराअनुसार माघ मनाउन थालिएको । पहिलो वर्षदेखि नै रामप्रसाद चौधरी माघ कार्यक्रमको संयोजकको जिम्मेवारी निभाउँदै आएका छन् । जेलबन्दी बिहानै उठेर नुहाउँछन् र सबैभन्दा पाको व्यक्ति थारु कल्याणकारिणी सभा कैलाली अध्यक्ष लाहुराम चौधरीबाट आशिर्वाद लिन्छन् । सबै जेलबन्दी एकआपसमा सेवाढोग र उकुवारभेट गर्छन् । सुंगुरको मासुसहित अन्य परिकारको व्यवस्था गरिएको हुन्छ । डफ बजाउँदै धमार गाउँदै जेलबन्दीहरु माघ मनाउँछन् । आफू जहाँ भए पनि आफ्नो पहिचान झल्किने संस्कृतिको संरक्षण गर्ने जेलबन्दीहरु बताउँछन् । यसपूर्व कारागारमा सामुहिकरुपमा माघ मनाइँदैनथ्यो । टीकापुर घटनाका बन्दीहरुले माघ मनाउन सुरु गरेर त्यहाँका अन्य समुदायका बन्दीहरुलाई पनि परम्परागत थारु माघको स्वाद दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *