कर्णाली प्रदेशमा थारुहरुको ‘स्वायत्त वडा’को माग

इन्दु थारु।
नेपालको जनगणना २०६८ को तथ्यांकले भन्छ– सुर्खेतमा थारुहरुको जनसंख्या ६७९० छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत उपत्यकामा मात्र थारुहरुको संगठित बसोबास छ । सुर्खेत जिल्लाको पनि वीरेन्द्रनगर नगरपालिकाको तीन वडा २, ९ र १० थारु बाहुल्य क्षेत्र हुन् । थारुहरुको पुरानो बस्तीका लागि सुर्खेतको साबिकको गाविस लाटीकोइली र पातलगंगा प्रख्यात छ । लाटीकोइलीमा २२ र पातलगंगामा १३ थारु गाउँ गरी दुवै गाविसमा थारुहरुको ३५ गाउँ थियो । नयाँ संरचनामा जाँदा लाटीकोइलीका २२ गाउँ दुई वडामा विभाजित भए । त्यसैगरी पातलगंगाका १३ गाउँ पनि दुई वडामा विभाजित भए । दुई गाविसका ३५ गाउँ चार वडामा विभाजित गरिएका छन् । जसका कारण स्थानीय तहमा थारुहरुको प्रतिनिधित्व अर्थपूर्ण देखिँदैन ।

वीरेन्द्रनगरका तीन वडा थारु स्वायत्तः वडा घोषणा गर्नुपर्ने त्यहाँका थारुहरुको माग छ । थारु कल्याणकारिणी सभाले संगठितरुपमा माग उठाएको हो । तर सुनुवाई भने भएको छैन । वडा २ मा वडा अध्यक्षको टिकट नेपाली कांग्रेसले लालबहादुर चौधरीलाई दिएको थियो । उनी पराजित भए । वडा ९ र १० मा कुनै पनि राजनीतिक दलले थारुलाई वडा अध्यक्षको टिकट दिन जरुरी ठानेनन् । वडा ९ मा तीन ठूला दल नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तीनै पार्टीले थारुलाई वडा सदस्यको टिकट दिए । कांग्रेसबाट श्याम चौधरी, एमालेबाट कृष्ण बहादुर थारु र माओवादीबाट मोतीलाल चौधरीले वडा सदस्यको टिकट पाएका थिए । तीनै पार्टीका थारुहरु आफैँबीच प्रतिस्पर्धा गर्दा कोही पनि विजयी हुन सकेनन् । आखिर गैर थारुले वडा सदस्य जिते । उक्त वडामा नेपाली कंग्रेसले अध्यक्ष र तीन सदस्य जित्यो भने नेकपा एमालेबाट एकजनाले जिते, जो गैरथारु हुन् । समानुपातिक समावेशीता सुनिश्चितताको आवाज उठिरहेका बेला थारु बाहूल्य क्षेत्रमा एकजना पनि थारु निर्वाचित हुन नसक्नु दुःखद छ ।

वडा १० मा वडा महिला सदस्य एमालेबाट सुनिता चौधरीले जितिन् । वडा २ मा थारुले वडा अध्यक्ष जित्न नसके पनि वडा महिला सदस्य एमालेबाट सरिता चौधरीले जितिन् । थारुहरुको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि थारु बाहूल्य तीन वडा थारु स्वायत्तः वडा घोषणा गर्नुपर्ने थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभाको माग छ । कर्णाली प्रदेश सभामा एकजना पनि थारुको उपस्थिति छैन, न प्रतिनिधि सभामा उपस्थिति छ । २०७४ को स्थानीय तहको चुनावमा कर्णाली प्रदेशमा २ जना थारु महिलाले वडा महिला सदस्यको पदमा चुनाव जितेर सुर्खेतमा थारुहरुको प्रतिनिधित्व शून्य हुनबाट जोगाए ।

राजनीतिक प्रतिनिधित्वको सबालमा कर्णाली प्रदेशका थारुहरुको सहभागिता शून्यजस्तै भए पनि लोप हुने अवस्थामा रहेका सामाजिक, साँस्कृतिक पहिचानका लागि सुर्खेतका थारुहरु भने अग्रसर देखिन्छन् । सुर्खेतमा एउटा थारु संग्रहालय बनाउनका लागि उनीहरु कस्सिएका छन् । थारु कल्याणकारिणी सभाले थारु संग्रहालय निर्माणका लागि प्रदेश सरकारमा प्रस्तावना पेस गरेको थियो । कर्णाली प्रदेश सरकारले उक्त प्रस्तावना बुझाउन ढिलाइ भएको बतायो । अन्य कुनै योजनाबाट तानतुन गरेर सहयोग गर्ने बतायो । ‘थारुको पहुँच नपुगेर थारुका योजना परेनन् । अन्यको मठ, मन्दिरका योजना पर्छन् । तर थारुका पर्दैनन्,’ सभाका अध्यक्ष बेचुलाल चौधरी भन्छन्, ‘योजना परेन भन्दा पनि पारिदिएनन् भन्ने हाम्रो बुझाइ हो ।’

वीरेन्द्रनगर नगरपालिकाले दोस्रो आर्थिक वर्षमा संग्रहालयका लागि रु १ लाख बजेट छुट्याएको छ । निर्माणका लागि यो रकम केही पनि हैन । अन्य दुई वडाबाट संग्रहालयका लागि रु ५० हजार बजेट छुट्याइएको छ । थारु कल्याणकारिणी सभाले संग्रहालय निर्माणका लागि सहयोग जुटाउन तिहारमा देउसी भैलो खेल्ने निहुँ पनि बनायो । आफ्नै परम्परागत भेषभुषामा सजिएर देउसी भैलौबाट २ दिनमा ८ घर देउसी खेलेर थारु कल्याणकारिणी सभाले रु १ लाख ७ हजार सहयोग जुटायो । वीरेन्द्रनगर सुर्खेतको कालीमाटीमा अहिले थारु संग्रहालय निर्माण भइरहेको छ । उक्त संग्रहालय निर्माण हुने जग्गा थारु कल्याणकारिणी सभा सुर्खेतको नाममा छ ।

सुर्खेतमा थारु होमस्टे
सुर्खेतका थारु गाउँमा सामुदायिक थारु होमस्टे सञ्चालनको प्रयास भएको थियो । पातलगंगा गाउँमा थारु होमस्टे सञ्चालनका लागि नगरपालिकाले पहिलो वर्ष १ लाख २५ हजार रकम छुट्याएको थियो । त्यस्तै दोस्रो वर्ष कालीमाटीमा थारु होमस्टे सञ्चालनका लागि नगरपालिकाले १ लाख ५० हजार बजेट छुट्याइएको छ । दुवै गाउँमा होमस्टे सञ्चालनका लागि व्यवस्थापन समिति बनाइए तर होमस्टे अझै सञ्चालन हुन सकेको छैन । होमस्टे सञ्चालनबारे ज्ञान र त्यसबाट हुने फाइदाका बारेमा त्यहाँका थारुहरु अनभिज्ञ रहेकाले होमस्टे सञ्चालन हुन नसकेको बताइन्छ ।

सामुदायिक थारु होमस्टे सञ्चालन हुन नसकेपनि सुर्खेतको नयाँ गाउँमा निजी पहलमा थारु होमस्टे खोलिएको छ । व्यापारिक उद्देश्यले करिब ५० लाखको लगानीमा सुर्खेतको होमस्टे खोलिएको हो । होमस्टेमा थारु संस्कृतिको झलक देख्न सकिन्छ । त्यहाँ निर्मित थारु झल्को दिने घर, क्याबिन र हल निर्माण गरिएका छन् । होमस्टेको आकर्षण बढाउन स्थानीय स्रोत काठ, बाँस र माटोले मयुर, हात्ती, घोडा र फूल बनाइएका छन् । थारु परिकार ढिक्री, घोंघी, अन्दिको भात, अन्दिको झोर, बटैको सिकार, लोकल कुखुरा, लोकल माछाका परिकार खान पाइन्छ ।

पाहुनाहरुका लागि थारुहरुको परम्परागत क्याबिनहरु बनाइएका छन् । कुनै क्याबिनमा टेबल र कुर्सी राखिएका छन् भने कुनैमा गुन्र्दी र दरी ओछ्याइएका छन् । क्याबिनका नाम पनि थारु नामबाट राखिएका छन् । रत्ग्यान कोन्टी, दहितान् कोन्टी, कुशुम्यान कोन्टी, बुलबुल्यान कोन्टी, छोट्कान् कोन्टी, बरकान् कोन्टी, डेमनडौरान कोन्टी, सुर्खेतान कोन्टी, दिउखरान कोन्टी ओ पछलदंग्यान कोन्टी नाम दिइएका १० क्याबिन बनाइएका छन् । थारुका थर र ठाउँको नामबाट क्याबिनका नाम राख्नु यस होमस्टेको सबैभन्दा युनिक पक्ष हो । होमस्टेमा खानाको साथसाथै बस्नका लागि पनि व्यवस्था गरिएको छ । पाँच वटा अट्याच कोठा छन् । यस होमस्टेलाई थारुको साँस्कृतिक पक्षबाट चिनाउनुका साथै आधुनिक सुविधा दिन पनि प्रयत्न गरिएको छ । होमस्टेमा इन्टरनेटको व्यवस्था छ ।

होमस्टेको सञ्चालन २४ असोज २०७५ देखि भएको हो । उद्घाटन भने भइसकेको छैन । थारुहरुको नयाँ वर्षको रुपमा मनाइने माघीमा विधिवत रुपमा यसको उद्घाटन गर्ने योजना छ । सञ्चालक समितिका सदस्य बाँधुराम चौधरीका अनुसार पहिले गाउँमा सामुदायिक होमस्टे सञ्चालनका लागि प्रयत्न भएको थियो । तर गाउँलेहरुलाई कुरा बुझाउन सकिएन । पछि साथीहरुसँग मिलेर निजी तवरबाट होमस्टे खोलेको हो ।

होमस्टेको सुरुवातमै काठमाडौं, बाँके र कञ्चनपुरबाट पाहुना आएका छन् । रारा जाने टोली होमस्टेमा आएर बास बस्छन् । थारुका परम्परालाई झल्को दिने थुप्रै सामग्री भने राख्न बाँकी छ । होमस्टेमा थारु परम्परागत नाच प्रस्तुती हुन सकेको छैन । कलाकारहरु तयार हुने क्रममै छन् ।

२०६८ कै जनगणनाको तथ्यांक हेर्ने हो भने कर्णाली प्रदेशको जनसंख्या १५,७०,४१८ छ । यस अनुपातमा थारुको संख्या एकदमै न्युन ०.४३ प्रतिशतमात्र हुन आउँछ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित तीन वडामा सीमित थारुहरु आफ्नो राजनीतिक पहुँचको सुनिश्चितताका लागि कमसेकम स्वायत्तः वडा घोषणाको माग गरिरहेका छन् । त्यसो हुन नसके, थारुहरुले बुझेका छन् भोलिका चुनावमा थारुहको प्रतिनिधित्व बिल्कुल शून्य हुनेछ । त्यस्तै साँस्कृतिक अन्तरघुलनले पूरै लोप हुने अवस्थामा रहेको थारु संस्कृति संरक्षणका लागि संग्रहालय र होमस्टेका लािग प्रयासरत छन् । तर समग्र थारुहरुको वकालत गर्ने माउसंस्था थारु कल्याणकारिणी सभा भने पहिचान र अधिकारका यस्ता सबालमा चुकरिहेका छन् ।

लेखक डेमोक्रेसी रिसोर्स सेन्टर नेपालका सिनिरयर रिसर्चर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *